काठमाडौंका थारुहरुले भदौ ३ गते अष्टिम्की पर्व मनाउने

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमका लागि मूल आयोजक समिति बनाइएको छ। यसपटक थारू कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ।

अष्टिम्की कार्यक्रम भदौ ३ गते भृकुटीमण्डपस्थित पर्यटल बोर्डको सभाहलमा आयोजना हुनेछ। कार्यक्रममा अष्टिम्की पर्वको इतिहास र महत्वबारे जानकारी दिइनेछ।

यसरी मनाइन्छ अष्टिम्की
यो पर्वको आगमनको क्रममा तयारी सुरु गरिन्छ । चित्र बनाउने भित्ता सेतो माटोले लिपिन्छ । त्यसैगरी मिठा मिठा परिकारको पनि जोहो गरिएको हुन्छ । जस्तै, केराहरु पकाउन, दही जमाउन, बारीको काक्रा, अम्बा (अमरुट), आदि फलहरु सोही दिनका लागि बचाएर राखिन्छ । ब्रतालुहरु महिला, युवतीहरुका लागि अनिवार्य नयाँ कपडा किनेर सिलाएर ठिक्क बनाएका हुन्छन् । गर गहना पनि व्यवस्था गरेका हुन्छन् ।

अष्टिम्की पर्व खास गरेर महिलाले मनाउने पर्व हो । तर आजभोलि केही युवाहरु पनि यो ब्रत बस्न थालेको पाइन्छ । यो पर्व भाद्र महिनाको अष्टमीका दिनमा गाउँको बरघ¥या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना गरिन्छ । यो पर्व कपिलवस्तु, रुपन्देहीदेखि पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतम धुमधामाका साथ मनाइन्छ । सप्तमीको रातमा भाले नबास्दै राति माछा, अन्य तरकारी पकाइ दर खाने चलन हुन्छ । जसलाई थारू भाषामा ‘डट्कन खैना’ पनि भनिन्छ । त्यसपछि अष्टमीको दिनभरि ब्रतालुहरु निराहार ब्रत बस्छन् । बिहानैदेखि अष्टिम्कीको चित्र बनाउने कार्यमा लागेका हुन्छन् । चित्र बनाउनेहरु पनि निराहार हुन्छन् । चित्र बनाउने ठाउँमा ब्रत नबसेको मानिस जान वर्जित हुन्छ ।

साँझपख ब्रत बसेका महिला दिदीबहिनीहरु नुवाइ धुवाई गरी शृङ्गारपटार गरगहना पहिरेर थालीमा चामल घुन्यासरको फूल, बलिरहेको बत्ती, एक जोर कागती वा निम्बु, रातो सिन्दुर, धुप आदि लिएर आफ्नो कुल देउताको थानमा दियो जलाई प्रत्येक ब्रतालुहरु घर घरबाट निस्किएर अष्टिम्की चित्र बनाएको महाटाँवाको घरमा जम्मा हुन्छन् । थालीमा ल्याइएको फूल, चामल, कागती त्यही पूजा गर्ने कोठामा लामबद्ध राखी घरमुलीबाट पूजापाठ सुरु भई पालैपालो सबैले भित्ते चित्रमा बनाइएको चित्रमा टीका लगाइ पूजा गर्दछन् । पूजा भइसके पछि युवा केटाहरु महिलाले ल्याएका निबु कागतीका भेट्नु काटेर भेट्नु मात्र राखी निबु, कागती लिएर जान्छन् । यो कार्य प्राय केटाहरु आफूले मन पराएका केटीले राखेको युवतीको निबु, वा कागतीको भेट्नो काट्ने प्रचलन छ । त्यही भएर केटाहरु त्यतिबेला तछाडमछाड गरेको दृश्य रमाइलो र हेर्न लायक हुन्छ । यसपछि ब्रतालुहरु आआफ्नो घर गइ विभिन्न थरिका फलफूलहरु परिकार एक भाग अलग्याइ अलि अलि सबै फलफुलको भाग चिमोटी अग्नीमा हवन गरी धुप जलाई पुजापाठ गरेर पानीले पर्छेर फलफुल खाइवरी गरी पुन महाटाँवाको घर गइ रातभरि कृष्णलीला गीत गाउने, नाच्ने गर्दछन् । अष्टिम्की गीत गाउनुभन्दा पहिले चारै दिशाका देवता एवम् देवी दुर्गालाई स्मरण गरेर मात्र गीतको सुरुवात गर्नुपर्दछ ।




Leave a Reply

Your email address will not be published.