काठमाडौंमा मंगलबार गुरही पर्व मनाइने

काठमाडौंमा बस्ने थारुहरुले मंगलबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारु संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए।

भब्यरुपमा पर्व मनाउनका लागि चम्पन साँस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीको संयोजकत्वमा समिति गठन गरिएको छ। जसको उपसंयोजकमा किरण चौधरी, गुरही कार्यक्रमबारे प्रकाश पार्नेमा शिव चौधरी, प्रचार प्रसारमा बर्दियाली थारु विकास मञ्चका दिनेश चौधरी, आर्थिक तथा कार्यक्रम व्यवस्थापनमा राष्ट्रिय थारु कलाकार मञ्च, स्वयंसेवक परिचालनमा अर्नव चौधरी र प्रताप पलपलिया, गुरही बनाउनेमा सुशीला चौधरी र ब्यानर निर्माणमा बलराम चौधरी रहेका छन्।

के हो गुरही (गुरिया) पर्व ?
गुरही (गुरीया) पर्व श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नाग पञ्चमीको दिनमा मनाइने गरिन्छ, जुन पर्वले भाई र बहिनीबिचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउँछ र अझ प्रगाढ बनाउन मद्दत गर्छ । भाई बहिनीबिचको माया प्रेमको प्रतिकको रुपमा मनाइने यो पर्वमा केटी÷महिलाले गुडिया (पुतला) अर्थात गुरिया फाल्ने गर्दछन् र केटा-पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुबै पक्ष रमाउँछन् । अर्थात भाई, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहोर्याउने वाचा गर्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरुप्रति माया दर्शाउने पर्व हो ।यसमा थारुहरुले अप्रत्यक्ष रुपमा नागको पनि सम्झना र पूजा गर्ने गर्दछन् । यो पर्ब नेपालका थारुहरु मात्रै होइन, भारतको उत्तर प्रदेशका नागरिकहरुले पनि मनाउने गर्दछन् । त्यसैले भन्न सकिन्छ कि यो पर्ब भारतिय हिन्दूहरुको संसर्गबाट थारुहरुले प्राप्त गरेको पनि हुन सक्छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *