द्रौपदी मुर्मू : एक आदिवासी महिलाको रोचक राजनीतिक यात्रा

भारतको १५औँ राष्ट्रपतिका रूपमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन् । सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन् । जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन् ।

झारखण्डकी पूर्वगभर्नर ६४ वर्षीया मुर्मू धेरै चिजहरूका लागि परिचित छिन्– अडान लिन सक्ने, आदिवासी अधिकारका लागि वकालत गर्ने, प्रशासनिक सिप र आध्यात्मिकता तथा विनम्रता ।

मुर्मूसँग काम गरेका र चिन्नेहरूले उनको बारेमा मायालुभावले कुरा गर्छन् । ‘कहिल्यै रबर–छाप गभर्नर नभएको’ र आदिवासी कल्याणका लागि सच्चा अधिवक्ताको रूपमा उनको वर्णन गर्छन् ।

“उनी हाम्रो गौरव हुन् । हामीले उनलाई राजनीतिज्ञ र गभर्नरको रूपमा काम गरेको देख्यौँ । उनी सधैँ धेरै सक्रिय छिन्,” झारखण्डका आदिवासी भाजपा सांसद सुनील सोरेनले भने ।

नगर पञ्चायतको काउन्सिलरदेखि राष्ट्रपतिसम्मको मुर्मूको यात्रा, १९९७ देखि २०२२ सम्मको २५ वर्षको अवधिमा हासिल गरिएको उपलब्धिले धेरैलाई छक्क पार्न सक्छ ।

“उनको यात्राले उनको राजनीति जीवनको बारेमा धेरै कुरा बोल्छ,” मुर्मूसँग काम गरेका भाजपाका पूर्व विधायक कनक वर्धन सिंह देवले भने, “हामीले उनलाई नम्र र उद्यमी आदिवासी नेताको रूपमा देख्यौँ । उनले सधैँ समाजको लागि काम गरिन् ।”

“तीन ठूला आदिवासी समुदायहरू मुर्मू, टुडु र हेम्ब्रमसँग पारिवारिक सम्बन्धको कारणले उनलाई आदिवासी मुद्दाहरूसँग अझ परिचित बनाएको थियो । उनले आदिवासीहरूको भलाइका लागि र उनीहरूको संस्कृति तथा भाषाको रक्षा गर्न साँच्चै कडा मेहनत गरेकी छन्,” उनले थपे ।

विवादरहित छविका कारण ओडिशा मूल निवासी मुर्मूले २००७ मा राज्य विधानसभाबाट सर्वश्रेष्ठ विधायकको लागि नीलकण्ठ पुरस्कार पाएकी थिइन् ।

उनी भ्रष्टाचारका आरोपबाट परै रहिन् र गभर्नरको रूपमा उनको कार्यकाल समाप्त भएपछि (२०२१) मा मयुरभञ्ज जिल्ला (ओडिशा) मा रहेको आफ्नो गाउँ उपरबेदा फर्किइन् । आदिवासी जनजातिको लागि काम जारी राख्न उनी बीजेपीमा पुनः सामेल भइन् ।

मुर्मूको राष्ट्रपतिको पदका लागि मनोनयन गर्दा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई अन्योलमा पारिएको बताइन्छ । उनको झारखण्ड मुक्ति मोर्चा (जेएमएम) जसले कांग्रेससँग मिलेर राज्यको नेतृत्व गर्दछ, विपक्षी समूहको हिस्सा हो । उनीहरूले यशवन्त सिन्हालाई राष्ट्रपतिको उमेदवारको रूपमा खडा गरेका थिए । यद्यपि, राज्यको जनसंख्याको एक चौथाइ भन्दा बढी संख्या अनुसूचित जनजाति (एसटी) समावेश छ र मुख्यमन्त्री सोरेन जो आफैँसँग आदिवासीको गहिरो सम्बन्ध छ । उनी आफैँ मुर्मूको नजिकको व्यक्तिको रूपमा चिनिन्छन् ।

राष्ट्रपतिको चुनावअघि जेएमएमका एक वरिष्ठ सदस्यले द प्रिन्टलाई भनेका थिए, “मुर्मू सधैँ हाम्रा लागि अभिभावकजस्तै हुनुहुन्छ । हामी एक बन्द समुदाय हौँ र एक अर्कालाई मद्दत गर्छौं ।”

अडानमा कायम
झारखण्डका गभर्नरको रूपमा मुर्मूले छोटानागपुर टेनेन्सी एक्ट, १९०८ र सन्थाल परगना टेनेन्सी एक्ट, १९४९ मा संशोधन गर्नको लागि विधानसभाद्वारा अनुमोदित बिललाई स्वीकृति दिन अस्वीकार गरेकी थिइन् ।

यो सन् २०१७ को कुरा हो, जब रघुबर दासको नेतृत्वमा भाजपा त्यहाँको सत्तामा थियो । प्रस्तावित संशोधनहरूले आदिवासीहरूलाई जग्गाको स्वामित्व परिवर्तन नहुने कुरा सुनिश्चित गर्दै उनीहरूको जग्गाको व्यावसायिक उपयोग गर्ने अधिकार दिन खोजिएको थियो ।

आरएसएसका एक वरिष्ठ कार्यकर्ताले भने, “मुर्मूले बिल फिर्ता मात्र गरिनन् । गभर्नरको रूपमा आफ्नो निर्णयमा अडिग रहिन् र सरकारसँग आदिवासीहरूको जीवनमा यसले ल्याउने परिवर्तनहरूको बारेमा स्पष्टीकरण समेत मागिन् ।”

त्यसपछि सो विधेयक कहिल्यै पारित भएन । उनी आरएसएस जस्तै आदिवासी जनजातिको पक्षमा इमानदार छिन् । “उनी आरएसएसको विचारधारामा विश्वास गर्छिन्,” एक कार्यकर्ताले बताए ।

मुर्मूलाई राजनीतिज्ञ र गभर्नरको रूपमा काम गरेको नजिकबाट नियालेका राजनीतिक विश्लेषक सन्दीप साहू भन्छन्, “उनी कलेजमा रहँदा कहिल्यै पनि एबीभीपी (आरएसएससँग सम्बद्ध विद्यार्थी संगठन)मा भाग लिइनन् । तर सन् १९९७ मा बीजेपीमा आवद्ध भएपछि यसका वरिष्ठ पदाधिकारीहरूसँग नजिक भइन् ।” मुर्मू कहिल्यै रबर–छाप गभर्नर थिइनन् र सधैँ आफ्नै विवेक शक्ति प्रयोग गरेको उनको भनाइ छ ।

तर कतिपयले सन् २०१७ मा एनडीएको राष्ट्रपतिको उमेदवारको रूपमा उनलाई नचुनेपछि बिलमा हस्ताक्षर नगर्ने निर्णय गरेको उनीमाथि आरोप लगाउँछन् । त्यतिबेला उनको नाम कथित रूपमा सम्भावितहरूको सूचीमा थियो तर राम नाथ कोविन्दलाई अन्ततः एनडीएले मनोनयन गरेको थियो ।

उक्त निर्णयले सन् २०१७ को मनोनयनबाट उनी बञ्चित भइन् । जुलाईमा बिलहरू पारित गर्न अस्वीकार गरेको एक महिना पछि एनडीएले राष्ट्रपतिको उमेदवारको नाम घोषणा गरेको थियो । “तर उनी अति महत्वाकांक्षी थिइनन् । यी नै गुणहरू हुन् जसले आरएसएसलाई विश्वास दिलायो कि उनको नाम यस वर्ष उमेदवारको रूपमा हुनुपर्छ,” आरएसएसका एक कार्यकर्ताले भने ।

बिल पास नगर्ने मुर्मूको निर्णयमा सांसद सुनील सोरेनले भन्छन्, “हामी आदिवासी समाजले उनको निर्णयलाई स्वागत गर्दछौँ । उनले जे गरे पनि आदिवासी समुदायको हितका लागि गरिन् । सधैँ समुदायको उत्थानका लागि काम गरिरहेकी छन् । हामी आशा गर्छौं कि उनले भारतको राष्ट्रपतिको रूपमा हाम्रो लागि अझ धेरै गर्नेछिन् ।”

राजनीतिदेखि अध्यात्मसम्म
मुर्मूले कलामा स्नातक गरेकी छन् भने रैरंगपुर ओडिशामा एक शिक्षकको रूपमा काम सुरु गरेकी थिइन् । त्यसपछि सहायक कर्मचारीको रूपमा राज्यको सिँचाइ विभागमा आवद्ध भइन् ।

उनको राजनीतिक करिअरको उडान भने सन् १९९७ बाट सुरु भयो । त्यसबेला उनी नागरिक चुनावमा उठिन् र रैरंगपुर नगर पञ्चायतमा काउन्सिलर भइन् । तीन वर्षपछि उनले रैरङपुरबाट विधानसभाको चुनाव लडेर जितिन् । उनी त्यहाँको सिटबाट दुई कार्यकाल विधायक बनिन् ।

सन् २००० र २००४ को बीचमा उनले ओडिशाको बीजेडी–भाजपा गठबन्धन सरकारमा मन्त्री बनिन् । २०१५ मा उनले झारखण्ड गभर्नरको रूपमा शपथ लिएकी थिइन् । छ वर्षसम्म राज्यको लागि सबैभन्दा लामो पदमा सेवा गरिन् । उनको कार्यकाल सन् २०२० मा समाप्त भएपनि कोभिड महामारीको कारणले अर्को वर्षको लागि विस्तार भयो ।

झारखण्ड राज्यको गठनपछि गभर्नरहरू परिवर्तन भइरहे । तर मुर्मूले भने सबैभन्दा लामो समयसम्म सेवा गरिन् । प्रशासनिक सिप र सरकार तथा राजभवनबीच सन्तुलन कायम गर्ने तरिका उनको लामो कार्यकालमा झल्किन्छ । उनले आफ्नो कार्यकालमा दुईवटा सरकार देखिन् ।

राजनीतिज्ञ र प्रशासकको रूपमा मुर्मूको उदय धेरै व्यक्तिगत वियोगबाट गुज्रेको छ । सन् २००९ मा उनले आफ्नो २५ वर्षीय जवान छोरो गुमाइन् । उनको छोरा एक रात साथीहरूसँग खाना खान गए र आफन्तको घरमा बसे । राति सुते र त्यसपछि कहिल्यै उठेनन् ।

उनको कान्छो छोराको पनि केही वर्षपछि दुर्घटनामा मृत्यु भयो । भनिन्छ, त्यसपछि शान्तिको लागि मुर्मू अध्यात्मतिर लागिन् । उनी ब्रह्म कुमारी आन्दोलनमा सामेल भइन् र त्यसको सक्रिय सदस्य बनिन् ।

एनडीएको राष्ट्रपतिको उमेदवार घोषणा भएपछि उनले आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएकी थिइन् ।

उनले भनेकी थिइन्, “म अचम्मित भएकी छु । साथै खुसी पनि छु । दुर्गम मयुरभञ्ज जिल्लाकी एक आदिवासी महिलाको रूपमा मैले शीर्ष पदका लागि उमेदवार बन्नेबारे सोचेको थिइनँ ।

उनले भनेकी थिइन्, “मैले यो अवसरको अपेक्षा गरेको थिइनँ । झारखण्डको गभर्नर बनेको ६ वर्षभन्दा बढी समयदेखि कुनै पनि राजनीतिक कार्यक्रममा गएको थिइन ।”




Leave a Reply

Your email address will not be published.