कैलालीमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नेको लहर, विभिन्न पार्टीका प्रदेश स्तरीय नेताले गरे प्रवेश

नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खुशीराम चौधरी (भिमसेन) रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। शनिबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा आयोजित सो पार्टीको कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन्।

थारू राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य तथा पार्टीका कैलाली क्षेत्र नं.३ प्रदेश ख का इन्चार्जसमेत रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका लगाई स्वागत गरेका हुन्।

पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै चौधरीले नेकपा माओवादी केन्द्रले बीच बाटोमा छोडेर धोका दिएको आरोप लगाए। उनले अबका दिनमा नागरिक उन्मुक्ति पार्टी नै आफ्नो जीवन हुने बताए।
त्यस्तै जनता समाजवादी पार्टीका प्रदेश सदस्य, सोही पार्टीको थारू संघका कैलाली जिल्ला अध्यक्ष भरत चौधरीसहित विभिन्न पार्टी परित्याग गरि ३ सय ८४ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले जानकारी दिए।

त्यस्तै शनिबार नै लम्कीचुहा नगरपालिका जेसिस भवनमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कम्तिमा साढे ४ सय नेता, कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको केन्द्रीय सदस्य एवं प्रदेश संगठन विभाग प्ररमुख अरुण कुमार चौधरीले जानकारी दिए।

उनले समाजमै प्रत्यक्ष प्रभाव पार्नसक्ने सय जना नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको बताए। उनका अनुसार नेपाली कांग्रेसबाट भक्त चलाउने, कांग्रेसकै बर्दगोरिया गाउँपालिकाका उपसभापति प्रमोद मल्ल, एमालेको लम्की चुहा नगरउपाध्यक्ष रामेश्वर चौधरी, माओवादीका प्रदेश स्तरीय नेता सन्तु चौधरी, लोकतान्त्रिक नेपालको लम्की चुहा वडा ७ का निवर्तमान अध्यक्ष हरिराम चौधरीलगायत छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा प्रदेश संगठन विभाग प्रमुख अरुण कुमार चौधरीको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *