नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै लक्ष्मण-सुरेन्द्रको उद्घोष- संसदीय चुनावमा परिणाम ल्याउँछौं

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

त्यस्तै जनता समाजवादी पार्टीका बर्दिया अध्यक्षसमेत रहेका मोहनलाल चौधरी र केन्द्रीय परिषद् सदस्य रामकुमार चौधरी, जसपाकै महिला परिषद् केन्द्रीय सदस्य रञ्जिता चौधरी पनि पार्टी प्रवेश गरेका छन्। यसअघि जसपाका केन्द्रीय सदस्य तुलसी चौधरी पनि पार्टी प्रवेश गर्ने भनिए पनि घरायसी कामले आउन नसकेको बताइएको छ।

त्यस्तै थरुहट आन्दोलनमा होम्मिएका १४ जना, पूर्व माओवादी रहेका ३ जना, नेपाल लोकतान्त्रिक पार्टीका दुई जना, पूर्व फोरम लोकतान्त्रिक पार्टबाट १ जना र एमालेबाट १ जना पार्टी प्रवेश गरेका हुन्।

त्यस्तै मिसन अम्वेडकर नेपालका अध्यक्षसहित दुई जना, आधा दर्जन दलित अभियन्तासहित दर्जनौं स्वतन्त्र नागरिकहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका र खाता लगाएर पार्टी प्रवेश गराएका थिए।

संसदीय चुनावमा परिणाम ल्याएर देखाउँछौं : सुरेन्द्र चौधरी

पहिचानको आन्दोलनलाई नेतृत्व गर्ने रेशम चौधरी र थरुहट आन्दोलनको बिगुल फुक्ने लक्ष्मण चौधरीको काँध आज जोडिएको छ। हामी यो देशको नागरिक हौं, यो देशको भूमिपुत्र हौं। हामीले विभिन्न माध्यमबाट आफ्नो माग मुद्दाका विषयहरु उठाउँदै आएका छौं। संघर्षका कार्यक्रम गर्दैगर्दा यो देशका साशकहरुले गैरराजनीतिक, आतंकवादी र जातिवादीको ट्याग लगाउँदै आएका छन्।

यो देशका उत्पडित थारु मधेसी दलित, खस पहाडी, हिमाली आजको दिनसम्म सशक्तरुपले उभिएका छौं। जसरी हामीलाई जातिवादीको रुपमा उभ्याउँदै आए, त्यसविरुद्ध हामी अभियानको थालनी गर्दैछौं। कसरी तराई, पहाड, हिमालका नागरिकहरु पनि यो देशको नीति निर्माणमा उभिन सक्छ भन्ने संकल्प बोकेर नागरिक उन्मुक्ति पार्टीमा उभिएका छौं।

मैले यो देशको आन्दोलनलाई अभियन्ताको रुपमा हेर्दै आइरहेको छु। संयुक्त राष्ट्रसंघको विभिन्न निकायमा काम गर्दा मैले संसारमा भएका धेरे उथलपुथल देखेको छु। क्रान्तिका धेरै राजनीतिक वार्ताहरुमा पनि बसेको छु। तर यो देशको प्रशासकहरुले बिर्सेका छन् कि उत्पडित वर्गले पनि यो देशमा बाँच्ने अधिकार राख्छ।

त्यही उत्पीडित वर्गहरुको पार्टीको रुपमा नागरिक उन्मुक्ति पार्टीलाई उभ्याउने छौं। हामीलाई पहाडविरोधी वा मधेसविरोधी भनियो होला, तर हामी राष्ट्रिय निर्माण प्रक्रियाकै लागि यो सब गर्दै आएका छौं। यो देशलाई हामीले तीन खण्डमा बाँडेर हेरेका छौं। हिमाल, पहाड र तराई मधेस, यो भूगोललाई नजोडीकन विकास हुँदैन। त्यसअर्थ हाम्रो मान्यता के हो भने तराई भनेको खाद्यको भण्डार हो, पहाड भनेको नगद हो र हिमाल भनेको सम्पत्ति हो। यी तीन कुरालाई मिलाएर राष्ट्र निर्माणमा अगाडि बढ्ने अभिप्रायले नै नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो।

यो पार्टीमा थारु वा थरुहट राखिएको छैन। केन्द्रीय समितिको बनोट पनि समावेशी छ। रञ्जिता चौधरी काठमाडौंमा हुर्किएकी नेवारकी छोरी र थारुकी बुहारी हुन्। दामोदर पण्डित राष्ट्रिय प्रवक्ता र कोषाध्यक्ष कोमल ज्ञवाली हुनुहुन्छ। यो देशका साशकहरुले भनून्, उनीहरु जातिवादी हुन् कि हामीहरु?

उदाहरणका रुपमा रामलाल डंगौराजीलाई हेर्न सक्नुहुन्छ। उहाँ टीकापुरको मेयरमा बहुमतका साथ निर्वाचित हुनुभएको छ। टीकापुरमा ४२ प्रतिशतमात्रै थारुहरु छन्, ५८ प्रतिशत गैर थारुहरु छन्। त्यहीँका जनताले हो थारुको छोरालाई मेयर बनाएको। थारुको भोटले मात्रै जितेको होइन भन्ने सन्देश यो हो। नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा उदाहरण दिइसकेको छ। राष्ट्र निर्माण प्रक्रियामा यो पार्टी उभिनेछ।

रेशम चौधरीलगायत थारुहरु जेलमा हुनुहुन्छ। हामीले भनिरहेका छौं, दोषीलाई सजाय दिनुस् तर यहाँ निर्दोषहरुलाई सजाय दिइँदैछ। विगतमा तीन चार वटा सरकारी प्रतिवेदनहरु आए। त्यतिबेलै संसदीय समिति पनि बनेको थियो। त्यो समितिले संसदमा प्रतिवेदन बुझाएको छ। त्यो प्रतिवेदन बुझाएको वर्षौं भइसक्यो, योबीचमा कयौंपटक संसद बैठक बस्यो र स्थगित भयो। संसद सचिवालयमा रहेको त्यो प्रतिवेदनमाथि संसदमा छलफल गराइयोस् भन्ने हाम्रो माग हो। तर किन त्यसमाथि छलफल हुन सकिरहेको छैन? कसले रोकिरहेको छ छलफलका लागि? हामीलाई कारण चाहियो।

राष्ट्रिय मानव अधिकार आयोग र एमनेस्टी इन्टरनेशनलले पनि प्रतिवेदन तयार गरेको थियो, त्यसमा कुनै थारुहरु दोषी देखिएका थिएनन्। अनि छानबिन समिति केका लागि बनाइयो। कि भनिदिनुपर्‍यो थारु भएकै कारण पञ्चायतदेखि अहिलेसम्म दासको रुपमा बसेका थियौं, त्यसरी नै बस। स्पष्टरुपमा कसैले भनोस् अनि हामी पनि हिसाब किताब गरेर अगाडि बढ्छौं।

स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिका जितेर देखाइसकेका छौं। आउँदो संसदीय चुनावमा लक्ष्मण थारु, मलगायत सम्पूर्ण दलित, जनजाति, हिमाल पहाडका खसहरु मिलेर सम्मुनत समाजको निर्माणका लागि होमिन्छौं। संसदीय चुनावमा हामीले यो देशका शासकहरुलाई परिणाम ल्याएर देखाउनेछौं।

थारुहरु रेशम चौधरीको पार्टीमा गोलबद्ध होउँ : लक्ष्मण चौधरी

पार्टी प्रवेश कार्यक्रममा आउँदै गर्दा केही साथीहरुले भन्दैथिए- नजाउ, पुलिसले समात्छ। किन प्रकिन्छ भन्दा मुद्दा लागेको छ रे। सबैलाई थाहा हामीलाई जन्मकैदको फैसला छ। हामीले गल्ती नगरिकनै जन्मकैदको फैसला भोग्दैछौं। माननीय रेशम चौधरीसहित सात जना थारुहरु अहिले पनि जेलमा छन्। टीकापुर घटना के हो, किन बंग्याइन्छ वा न्याय दिँदैन? यावत कुरा छन्। पहिलो कुरा, नागरिक उन्मुक्ति पार्टी जो-जो साथीहरु मिलेर, च्यालेन्ज स्वीकारेर पार्टी खोल्नुभयो। उहाँहरुलाई धन्यवाद। स्थानीय तहमा एउटा परिणाम आएको छ। पार्टी स्थापना गरेका साथीहरुको साहस, योगदानकै कारण त्यो सफल हुन सकेको हो।

दोस्रो कुरा, टीकापुर घटना भन्ने वितिकै यो देशको साशकहरुले भन्ने गर्छ, थारुहरुले बच्चा मारे नि, पुलिस मारे नि। कहाँ छ प्रमाण? थारुले नै मारेको भन्ने प्रमाण कहाँ छ? हामीले प्रमाण लाल आयोगको प्रतिवेदनमा देख्छौं। देवीराम शर्माको प्रतिवेदनमा देख्छौं। पटक-पटक भएको निर्वाचन परिणाममा देख्छौं।

हामी पनि भन्दैछौं, टीकापुर घटनाका दोषीलाई कारबाही होस्। निर्दोषलाई जेलमा हालेर, माननीय रेशम चौधरीसँग न चक्कु थियो, न बञ्चरो थियो, न हतियार थियो न भाला थियो। सत्य यो हो कि हामी आन्दोलनकारी हो। हामीले १५ वर्ष आन्दोलनमै वितायौं। जेलमा भएका ७ जना पनि आन्दोलनकारी नै हो। आन्दोलन गर्नै नपाउने हो? न्याय माग्दै नपाउने हो? अधिकार माग्नै नपाउने हो?

हाम्रो एफएममा आगो लाग्छ, हाम्रो घरमा आगो लाग्छ, हाम्रो रिसोर्टमा चोरी हुन्छ। तर डाँका चोरी मुद्दा, आगजनी मुद्दा रेशम चौधरीले भोग्नुपर्ने? लक्ष्मण थारुले भोग्नुपर्ने? थारुले भोग्नुपर्ने? हामीले चाहेको तीनटा चिज हो, न्याय, समानता र अधिकार।

न्याय माग्दै जाँदाखेरी बिना शर्त नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका हौं। हामी पदीय जिम्मेवारीका लागि यहाँ आएका होइनौं। म विश्वभरिका थाहरुलाई आह्वान गर्न चाहन्छु, पहिचानका आन्दोलनहरुलाई बचाउनुस्। न्यायका लागि रेशम चौधरी र रञ्जिता चौधरीको वरिपरि लोलबद्ध हुन जरुरी छ। देशभरिका साथीहरुलाई पनि गोलबद्ध हुन आह्वान गर्दछु।

हामीलाई तर्साइन्छ। जेल हालेर, झुठा मुद्दा हालेर, हाम्रो घरमा आगजनी गरेर। यो देशमा थारुहरुले राजनीति गर्न नपाउने हो? निर्वाचित माननीय जेलमा बस्नुपर्ने अवस्था छ यहाँ। त्यसैले नागरिक उन्मुक्ति पार्टीका साथीहरुसँग हाम्रो घाँटी जोडिएको छ, हात र खुट्टा जोडिएको छ। हाम्रो भावना र विचार जोडिएको छ। रेशम आस्थामात्र होइन, विचार हो। सामूहिक संस्था हो, आदर्श हो। आफ्नो ठाउँबाट जे-जे गर्न सकिन्छ गरौं।

मंसिरको चुनावालाई मध्यनजर गर्दै हामी यही १७ गतेदेखि मेची-महाकाली अभियानमा सबै जिल्लामा संगठन विस्तार गर्दैछौं। आ-आफ्नो जिल्लामा तयारी अवस्थामा बस्न आग्रह गर्दछु। यही उद्देश्य बोकेर साधारण सदस्यको हैसियतमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको घोषणा गर्दछु।

यी हुन् पार्टी प्रवेश गर्नेहरु

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु, मोर्चाकै केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरी, मोर्चाको बर्दिया संयोजक एवं जनता समाजवादी पार्टीका बर्दिया अध्यक्ष मोहनलाल चौधरी, बर्दियाकै जसपाका केन्द्रीय परिषद सदस्य रामकुमार चौधरी, मोर्चाका केन्द्रीय सदस्य कैलालीकी इन्दु चौधरी, मिसन अम्वेडकर नेपालका केन्द्रीय अध्यक्ष मनोज लुहार, कैलालीका दलित अभिन्ता मनोज लुहार, रमेश लुहार, लोकबहादुर लुहार, सकुन्तला विक, भरत विक, मिसन अम्वेडकरका प्रेम विक, दलित अभियन्ता राजिव सार्की  रहेका छन्।

त्यस्तै दाङका पूर्वमाओवादी नेता सीताराम चौधरी, डिबी भण्डारी, दुर्गा अधिकारी रहेका छन्।

त्यस्तै मोर्चाकै केन्द्रीय सदस्य कपिलवस्तुका गणेश चौधरी, मोर्चाकै केन्द्रीय सदस्य दाङका प्रभा चौधरी, मोर्चामै केन्द्रीय सदस्य रुपन्देहीका वासुदेव चौधरी,  मोर्चाका नवलपरासी अध्यक्ष ओमप्रकाश चौधरी, थरुहट नेता दाङका रञ्जिता चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जगन्नाथ चौधरी, पार्वती चौधरी रहेका छन्।

त्यस्तै थरुहट नेता नवलपरासीका राधेश्याम चौधरी, चन्द्र चौधरी, बर्दियाका मुकेश चौधरी, चितवनका कृष्ण चौधरी, बाराका गणेश चौधरी, कञ्चनपुरका रामलाल राना थारु, कञ्चनपुरकै मोतीराम थारु, सिरहाका रामचन्द्र चौधरी, बाँकेका सावित्रका चौधरी, बाँकेकै गणेश चौधरी, बर्दियाका दीपक चौधरी, बर्दियाकै प्रमिला चौधरी, बर्दियाकै नेपालु थारु, सुर्खेतका अर्जुन चौधरी रहेका छन्।

त्यस्तै कैलालीका भलमन्सा धनिराम चौधरी, मोतीराम चौधरी, ठागुराम चौधरी, साजन चौधरी, जगत चौधरी, यम चौधरी, शिवलाल चौधरी रहेका छन्।

त्यस्तै पदम सापकोटा, पदम बुढा, दिनेश मथाले, दुर्गा क्षेत्री, सिमन बजागाईँ, सन्तोष धमला, अप्सरा श्रेष्ठ, सरोज दाहाल, हेमराज न्यौपाने, कमला बोगटी, जगत खतिवडा, दिपक कठायत, दिनेश कठायत, टंक खतिवडा, रामप्रसाद अधिकारी, रतन भण्डारी, खगेन्द्र बोहोरा र तीर्थ बहादुर बोहोरा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *