अन्तर्राष्ट्रिय थारु महासभा गठनमा विवाद, लुम्बिनीमा हुने भनिएको बैठक स्थगित

नेपालको लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय थारु महासभाको बैठक स्थगित भएको छ। गत ९ जेठमा भारतीय थारु कल्याण महासंघको स्वर्ण जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय महासभा गठन गरिएको थियो। गठनपश्चात् असार १८ गते लुम्बिनीमा बैठक आह्वान गरिएको थियो।

महासभाका अध्यक्ष दीपनारायण प्रसाद चौधरीले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्। बैठक स्थगित हुनुको मूल कारण खेती किसानी रहेको बताइएको छ। नेपालस्थित सदस्य श्रवण थारुले पनि मूल कारण खेती किसानी रहेको बताए। ‘खेतीपातीको लागि उपयुुक्त मौसम नेपाल भरतमा एउटै भएकाले सबै कृषि कर्ममा ब्यस्त हुनु स्वभाविक हो। तसर्थ दुबै मुलकका थारुहरुको आस्थाको पहिलो केन्द्र पनि कृषि हुने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित गरिएको हो,’ उनले फेसबुकमा लेखेका छन्।

बैठक स्थगित हुनुको कारण भने अर्कै रहेको बताइएको छ। थारु कल्याणकारिणी सभाले एकपक्षीय रुपमा अन्तर्राष्ट्रिय महासभा गठन गरेको आरोप लगाएको छ। थारुहरुको छाता संगठन हुँदाहुँदै राय विचार विनै महासभा गठन गरेपछि थाकस पदाधिकारीहरुले अध्यक्ष दीपनारायण प्रसाद चौधरीलाई आपत्ति जनाएका थिए।

‘हामीले उहाँहरुलाई व्यक्ति नहरेर संस्था हेर्न आग्रह गरेका हौं। हरनाटाँडमा आयोजित कार्यक्रममा थाकसका अध्यक्षलगायत अन्य पदाधिकारीहरु पनि पुग्नुभएको थियो। तर उनीहरुसँग छलफल नै नगरी एक्कासि महासभा गठन भएको सुनाइयो। त्यतिबेलै थाकसले आपत्ति जनाएको हो। अध्यक्ष दीपनारायण प्रसाद चौधरीलाई संस्था संस्था मिलेरमात्रै महासभा गठन हुने भन्दै व्यक्तिभन्दा संस्थालाई आबद्ध गराउन आग्रह गरिएको छ,’ थाकसका एक पदाधिकारीले भने।

सोही कारण बैठक स्थगित भएको थाकस पदाधिकारीले दाबी गरे। ‘उहाँहरुले यो कुरलाई सिरियसली लिनुभएको छ। थाकसको बैठकमा पनि यो एजेन्डाको रुपमा प्रस्तुत हुँदैछ। बैठकले के निर्णय गर्छ हामी त्यही अनुसार अगाडि बढ्छौं,’ ती पदाधिकारीले थारुवानसँग भने।

महासभाले अध्यक्षमा दीपनारायण प्रसाद चौधरी (हरनाटाँड, विहार), उपाध्यक्षमा रमेश चन्द्र राणा (खटिमा, उत्तराखण्ड), शारदा देवी (महराजगंज, उत्तराखण्ड), महामन्त्रीमा लक्ष्मण थारु (नेपाल), कोषाध्यक्षमा शैलेन्द्र गडवाल (विहार) रहेका छन्।

त्यस्तै मन्त्रीमा वृजमोहन चौधरी (नेपाल), प्रभा चौधरी (दाङ), प्रेमवती राना (नेपाल), श्रवण चौधरी (नेपाल), दानसिंह राणा (उत्तराखण्ड), अवधविहारी चौधरी (उत्तराखण्ड) रहेका छन। संरक्षकमा भने गोपालसिंह राणा (खटिमा उत्तराखण्ड), विजयबहादुर चौधरी (महाराजगंज उत्तराखण्ड), डा. शारदा प्रसाद (हरनाटाँड,विहार) र रामकुमार चौधरी (नेपाल) रहेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *