थारुलाई नै किन हुन्छ सिकलसेल ?

शंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट्

बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।

‘रमेश थालेसिमियाको वाहक भएको थाहा भयो। सुनिता स्वस्थ थिइन्। मैले विवाह गर्न मिल्छ भनेर पठाएँ’, सिकलसेल/थालेसिमिया विज्ञ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे भन्छन्। डा. पाण्डेका अनुसार राजापुरका अरू दुई जोडी पनि रगत परीक्षण गरी विवाह गर्न मिल्ने भनेपछि ढुक्क भएर गए। यीमध्ये कसैमा पनि सिकलसेल/थालेसिमिया देखिएन।

बर्दियाकै बारबर्दियाका २५ वर्षका धनीराम थारू र २३ वर्षकी बासमती दहित (नाम परिवर्तन) को विवाह परिवारले पक्का गरे। उनीहरूले पनि जेठ तेस्रो साता भेरीमा रगत परीक्षण गराए। बासमती थालेसिमियाको वाहक थिइन्। धनीराम स्वस्थ थिए। उनीहरू पनि विवाह गर्न मिल्ने भन्दै खुसी हुँदै घर फर्के। बारबर्दियाको अर्को जोडी पनि रगत परीक्षण गराई ढुक्क भएर गएको थियो।

डा. पाण्डेका अनुसार थारू समुदायका युवायुवती ६ महिनायता विवाह गर्नकै लागि जोडी बाँधेर सिकलसेल/थालेसिमिया परीक्षण गर्न अस्पताल आउने गरेको बताउँछन्। बारबर्दियाले नगरपालिकाका सबै थारू (२० हजार जना) को सिकलसेल/थालेसिमिया परीक्षण गर्दा ११.३ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको छ। ५ प्रतिशतमा बिटा थालेसिमिया फेला परेको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले कोहलपुरमा १० हजार जनाको परीक्षण गर्दा १५ प्रतिशतमा सिकलसेल पाइएको छ। राप्तीसोनारीमा ५ सय जनाको परीक्षण गरेको प्रारम्भिक रिपोर्टमा १८ प्रतिशतमा यही रोग देखिएको छ।

विश्व स्वास्थ्य संगठनले कुल जनसंख्याको एक प्रतिशतमा रोग पाइए जनस्वास्थ्य समस्या हुने मापदण्ड बनाएको छ। बाँके र बर्दियाका यी बस्तीमा परीक्षणको १० प्रतिशतभन्दा माथि भएकाले यी जिल्लाका थारू समुदायमा सिकलसेल/थालेसिमिया जनस्वास्थ्य समस्याकै रूपमा रहेको डा. पाण्डे बताउँछन्। थारूबाहेक बीसी, योगी, रैदास, अधिकारीलगायत थरका व्यक्तिमा पनि यी रोग भेटिएको छ। तराईमा औलो लाग्ने ठाउँमा बसेका आदिवासी यी रोगको सिकार भएका छन्।

सिकलसेल/थालेसिमिया रगतको रातो रक्तकोषमा हुने जैविक वंशाणुगत रोग हुन्। सामान्य अवस्थामा रातो रक्तकोषिका गोलो र चिल्लो हुन्छ। सिकलसेल भए राता रक्तकोष हँसिया आकारमा परिणत भई १५ देखि २० दिनसम्म रक्त सञ्चारमा रहन्छन्। जसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ। बनेको रक्तकोषको आयु पनि छोटो हुन्छ। रगत ढिलो बन्दा शरीरमा रगतको कमी हुन जान्छ।

सिकलसेल भइसकेपछि शरीरका विभिन्न महत्वपूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्छ। एकपटक शरीरमा यो प्रणाली विकास भए एकदेखि ५० वर्षसम्म पनि जुनसुकै समयमा रोगको लक्षण देखा पर्न सक्छ। थालेसिमिया रोगको अवस्था पनि उस्तै हो। नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका थारूमा सिकलसेल रोग रहेको अनुसन्धानले देखाएको छ। दाङ पूर्वका थारूहरूमा थालेसिमिया रोगको समस्या बढी छ।

तराईका आदिवासी थारूलाई पहिले औलो लागेन। थारू समुदायमा औलो रोगको महामारीसँग जुध्न गोलाकार रक्तकणिका बनाउने जीनमा प्राकृतिक उत्परिवर्तन भई रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास भयो। र, जसबाट सिकलसेल बनेको भेरी अस्पताल नेपालगन्जका मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे बताउँछन्। त्यसपछि सिकलसेल थारूका एक पुस्ताबाट अर्को पुस्तामा सरेको उनी बताउँछन्। सिकलसेल/थालेसिमिया अरूजस्तो सरुवा रोग होइनन्। तर, बाबा र आमाको जिनबाट सन्तानमा सर्छ। रोगको समयमै पहिचान नगर्दा रोगी दम्पतीबाट जन्मिने बच्चा या त रोगी हुन्छन् या रोगको वाहक हुन्छन्। बाबा र आमा दुवैबाट सिकलसेलको जिन जन्मिने बच्चामा पनि सर्‍यो भने बच्चा पनि सिकलसेल/थालेसिमिया रोगी नै जन्मिन्छ। यही विस्तार रोक्न डा.पाण्डेले बिहे गराउने पुरोहितजस्तै सिकलसेल/थालेसिमियाको कुण्डली बनाएर वितरण गरिरहेका छन्।

विवाह गर्न नमिल्ने अवस्था
सिकलसेल/थालेसिमिया कुण्डलीअनुसार तीन किसिमको अवस्थामा विवाह गर्नु भनेको रोग विस्तार गर्नु हो। जस्तोः बुवा र आमा दुवै सिकलसेल/थालेसिमिया भएको छ भने जन्मिने सन्तान पनि रोगी नै हुन्छ। सिंगो परिवार नै रोगी हुन्छ। बाबालाई सिकलसेल/थालेसिमिया र आमा वाहक भए पनि जन्मिने सन्तान पनि ५० प्रतिशत बिरामी र ५० प्रतिशत वाहक जन्मिन्छन्। आमालाई सिकलसेल/थालेसिमिया र बाबा वाहक छन् भने जन्मिने सन्तान पनि ५० प्रतिशत बिरामी र ५० प्रतिशत वाहक जन्मिन्छन्।

बाबा र आमा दुवै सिकलसेल/थालेसिमियाको वाहक छन् भने जन्मिने सन्तान २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहक जन्मिने सम्भावना हुन्छ। यस्तो बेला विवाह गर्न आफैंले जोखिम मोल्नुपर्ने हुन्छ। डा.पाण्डे जोखिम मोलेर विवाह नगर्न सुझाव दिन्छन्।

विवाह गर्न मिल्ने अवस्था
बाबाआमा दुवैलाई सिकलसेल/थालेसिमिया छैन भने सन्तान पनि सामान्य नै जन्मिन्छन्। बाबा सामान्य र आमा सिकलसेल/थालेसिमियाको वाहक हो भने सन्तान पनि ५० प्रतिशत सामान्य र ५० प्रतिशत वाहक हुने सम्भावना हुन्छ। बाबा सिकलसेल/थालेसिमियाको वाहक छन् र आमा स्वस्थ भए पनि जन्मिने सन्तान पनि ५० प्रतिशत सामान्य र ५० प्रतिशत वाहक हुने सम्भावना हुन्छ।

बाबाको स्वास्थ्य अवस्था सामान्य छ तर आमालाई सिकलसेल/थालेसिमिया छ भने सन्तान सबै वाहक जन्मिने सम्भावना हुन्छ। आमाको स्वास्थ्य अवस्था सामान्य छ तर बाबालाई सिकलसेल/थालेसिमिया छ भने सन्तान सबै वाहक जन्मिने सम्भावना हुन्छ। यी माथिका ५ अवस्थामा विवाह गर्न मिल्छ।




Leave a Reply

Your email address will not be published.