किशोर सिंह राठौरको निर्देशनमा बर्दियाका थारु नेता-कार्यकर्तामाथि कांग्रेसको कारबाही आतंक

बर्दियाको नेपाली कांग्रेसमा आबद्ध थारुहरुविरुद्ध स्पष्टीकरण र कारबाही अभियान चलाइएको छ। वडादेखि केन्द्रीय सदस्यसम्मका नेतालाई जिल्ला कार्यसमितिअन्तर्गतको अनुशासन समितिले स्पष्टीकरण र कारबाही अभियान थालेको छ।

जग्गाप्रसाद पाण्डे संयोजक, कृष्णप्रसाद जैसी र तारा अधिकारी सदस्य रहेको समितिले केन्द्रीय सदस्य डा गोपाल दहितलाई समेत स्पष्टीकरण सोधेको थारु नेताहरुले बताएका छन्। विधानविपरीत संयोजक पाण्डेले दहितलाई स्पष्टीकरण सोधेको बताए।

‘जिल्ला कार्यसमितिअन्तर्गतको समितिले केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार राख्दैन। अर्को कुरा पार्टीको हित विपरीत काम गर्नेलाई स्पष्टीकरण वा कारबाही सिफारिस गरिन्छ। तर यहाँ त राम्रो काम गर्ने र नियतले नै स्पष्टीकरण सोधिएको छ,’ बर्दियाका एक नेताले भने।

नेपाली कांग्रेसको विधानको दफा ३४ (४)को (ङ)अनुसार जिल्ला कार्यसमिति मातहतका निकाय वा जिल्लाभित्रको पार्टीको कुनै पनि सदस्यले पार्टीको आदर्श, उद्देश्य, नीति र, आचारसंहिताविरुद्ध कार्य वा विधान उल्लंघन गरे वा उजुरी परे स्पष्टीकरण सोध्ने वा छानबिन गर्ने उल्लेख छ।

सहमहामन्त्रीसमेत रहेका किशोरसिंह राठौरले संसदीय चुनावमा थारु नेताहरुलाई टिकेट नमिलोस् भन्ने अभिप्रायले डा. गोपाल दहितलगायत थारु नेताहरुमाथि कारबाही अभियान चलाएको ती नेताले थारुवानसँग भने।

‘मंसिरमा संसदीय चुनाव हुँदैछ। टिकेट आकांक्षीहरुमा थारु नेताहरु पहिलो नम्बरमा छन्। राठौरजीले कसरी हुन्छ थारु नेताहरुमाथि आचरण लगाएर टिकेट हत्याउने दाउँमा हुनुहुन्छ। थारुहरुले त्यो कदापि सहनेवाला छैन,’ जिल्ला कार्यसमितिका एक नेताले भने।

जिल्लामै सबैभन्दा धेरै थारु रहेको बर्दियामा कांग्रेसका पहाडी मूलका नेताहरुले थिचोमिथो पार्दै आएको ती नेताले बताए। ‘जिल्लामा थारुहरुको संख्या धेरै छ। त्यसैले पहिलो हक पनि थारुहरुको लाग्ने हो। तर थारुमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको छ,’ उनले भने।

डा. दहितलाई मात्रै होइन, उनी निकट नेता-कार्यकर्तालाई धमाधम स्पष्टीकरण सोध्ने काम भइरहेको छ। राजापुरका वडाअध्यक्षका आकांक्षी सीताराम चौधरीलाई पनि स्पष्टीकरण सोधिएको छ। आफूले टिकेट नपाउँदा समेत आफ्नो वडामा माओवादीलाई पराजित गरेका सीतारामको टोलीलाई स्पष्टीकरण सोधिएको छ।

‘२५ वर्ष माओवादीको कब्जामा रहेको वडालाई धेरै दुःख गरेर जितायौं। तर मेरै आफ्नो मान्छेहरु कारबाहीको सिफारिस गरेको थाहा पाउँदा राजनीतिप्रति बितृष्णा बढ्यो,’ उनले भनेका छन्। उनले जिल्ला संयोजक पाण्डेलाई प्रश्न गरे, ‘हारेको वडा जिताएको छु, तपाईँले आफ्नो वडा जिताउनु भाछ? पहिला आफ्नो वडा जिताएर आउनुस् अनि बल्ल अरुलाई स्पष्टीकरण सोध्ने हैसियत बन्छ।’

त्यतिमात्र होइन, बाँसगढी नगरपालिकामा उपमेयर उम्मेदवार बनेकी सोमती थारुलाई पनि कारबाही सिफारिस गरिएको छ। आफैँ उम्मेदवार रहेकी उनीमाथि पार्टीमा अन्तर्घात गरेको आरोप समितिले लगाएको छ। उनले २०४६ पछि आफ्नो वडालाई जिताएको बताइन्। तर आफ्नै वडा जिताउँदा पनि कारबाहीमा परेको थाहा पाउँदा अचम्ममा परेको बताइन्।

यसैबीच थरुहट अभियन्ता सुरेन्द्र चौधरीले बर्दियाका थारुहरुलाई किशोर सिंह रठोको दमन कहिलेसम्म सहने भन्दै प्रश्न गरेका छन्। ‘राठोर प्रवृत्ति बर्दियामामात्रै होइन, हरेक जिल्लामा थारुहरुसँग गर्ने ब्यवहार उस्तै हो। थारु हो त्यसैले आदेश मान्नुपर्छ। बोल्यो भने जान्ने भयो। गुलाम भएर बस्यो भने इमान्दार, तर्क गर्न खोज्यो भने थारु जान्ने भयो!,’ उनले भने।

थरुहत आन्दोलनसँग जोडिएकाकै कारण उनीहरुलाई कारबाही गरिएको उनको भनाइ छ। ‘सयौं वर्षदेखि थारुहरुको भूमि हड्पेर, दास बनाएर राखेको समुदायबाट जब्बर तरिकाले गोपाल दहित, सितराम चौधरी, सोमती थारुहरुजस्ता अगुवाहरुले आफ्नो मत-अभिमत जाहेर गरेको देखेपछि शासकीय मानसिकताले बिरामी भएकाहरु बहुलाउने नै भए। जसरी टिकापुरमा मधेसी, थारु, जनजातिहरुलाई एउटै मञ्चमा देखेर शासकहरुले मानसिक सन्तुलन गुमाएका थिए, त्यसरी नै किशोरसिंह राठौरजस्ताहरुले बर्दियामा पढेलेखेका थारु नेताहरु देखेर मानसिक सन्तुलन गुमाएर थारुहरुलाई कारबाही गरेका छन। हेक्का होस् बर्दियामा थारुहरुको जनसंख्या ५४ प्रतिशत छ,’ उनले भने।

उनले कांग्रेसीहरुलाई दम्भ नदेखाउनसमेत आग्रह गरे। ‘टीकापुर र राजापुर जोडिएको छ, होस् गर! नागरिक उन्मुक्ती ढकिया लिएर आउँदैछ। देउवासँग सम्बन्ध जोडेर राठौरहरुले दम्भ नदेखाए हुन्छ। बर्दियाका थारुहरु जागिसके। ढकिया विकल्पको रूपमा तयार छ। आउने संसदीय निर्वाचनमा धकियासँग प्रतिस्पर्धा गर्न किशोरसिंह राठौरजस्ता सोँचका नेताहरुलाई हाम्रो चुनौती छ,’ उनले भनेका छन्।




2 thoughts on “किशोर सिंह राठौरको निर्देशनमा बर्दियाका थारु नेता-कार्यकर्तामाथि कांग्रेसको कारबाही आतंक

  1. हो,सहि भन्नुभो सुरेन्द्र सर जि। सलाम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *