अमेरिकीबासी थारुहरुसँग शान्ता चौधरीले भनिन्- जोकोही राजनीतिमा आउन सक्दैन, भएका थारु नेताको संरक्षण गरौं

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले राजनीतिमा लागेका थारुहरुलाई संरक्षण गर्नुपर्ने बताएकी छन्। अमेरिका भ्रमणमा रहेकी चौधरीले सिकागोल्यान्ड थारु सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जोकोही थारुहरु राजनीतिमा आउन नसक्ने भएकाले थारु नेताहरुको संरक्षण गर्नुपर्ने बताइन्।

‘राजनीति यस्तो चिज हो, चाहेर पनि हामी पुग्न सक्दैनौं। चाहेर पनि अगाडि बढ्न सक्दैनौं। चाहेर पनि माथि जान सक्दैनौं। जो पुगेका छन्, उनीहरुलाई संरक्षण गर्न हामी थारुहरु कन्जुस्याइँ गर्छौं,’ उनले भनिन्, ‘जुनसुकै पार्टीको भए पनि थारु नेतालाई सम्मान गर्नुपर्छ।’

उनले थारुहरु पनि प्रचण्ड, शेरबहादुर र केपी ओली बन्नसक्नुपर्ने बताइन्। ‘तर हाम्रै कारणले बन्न सकिरहेका छैनौं। किनकि एमाले आए कांग्रेसका थारुले बहिस्कार गर्ने, कांग्रेस आए एमालेले बहिस्कार गर्ने परिपाटी थारुहरुमा छ,’ उनले भनिन्।

उनले थारुहरु नेपालको सबैभन्दा सोझो जाति भएको बताइन्। थारुहरुको सोझोपन देखेर अरुले फाइदा उठाउने गरेको उनले बताइने। ‘हामी यति सोझा भयौं कि, जसले तराईको जमिन उर्वर बनाए। दलदल जमिनलाई खेतीयोग्य बनाए। जनावरसँग लडेर बस्नलायक बनाए। औंलोसँग लडेर आए। मानव जाति बस्न लायक बनाए, त्यही ठाउँमा थारुहरु सुकुम्बासी बनेका छन्, कमलरी बनेका छन्,’ उनले भनिन्।

उनले कसैले जाँर खुवाएर त कसैले मित लगाएर थारुहरुको जग्गा जमिन खोसेको बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *