दुई दिन विदा हुने निर्णय खारेज, अब आइतबार विदा नहुने

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो। त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ। अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो। कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *