५० वटा पालिका प्रमुखमा थारु आकांक्षीहरु, अघिल्लो निर्वाचनको रेकर्ड तोडिएला?

काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाख ३० गते सम्पन्न हुँदैछ। निर्वाचनका लागि ७२ घन्टे मौन अवधि आज राति १२ बजेपछि सुरु पनि हुँदैछ। आसन्न स्थानीय निर्वाचनमा थारु बाहुल्य रहेको पालिकामा कसले जित्ने भन्ने आम चासोको विषय बनेको छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा ३३ वटा पालिकामा प्रमुख/अध्यक्ष पदमा थारु उम्मेदवार विजयी भएका थिए। त्यस्तै ४५ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा थारु समुदायका महिला विजेता बनेकी थिइन्।

अघिल्लो निर्वाचनको आँकडा यसपटक पनि यथावत रहन्छ वा रहँदैन भन्ने कुरा नै थरुहट क्षेत्रमा विशेष चर्चाको विषय बनेको छ।

यसपटक स्थानीय तह निर्वाचनमा पूर्व मोरङदेखि पश्चिम कञ्चनपुरसम्म कम्तिमा ५० पालिकामा थारु उम्मेदवारहरु प्रमुख पदका आकांक्षी रहेका छन्। तीमध्ये आधा भन्दा बढी पालिकामा त थारु उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ।

यस हिसाबले पनि यसपटक ३० देखि ३५ पालिकामा थारु उम्मेदवारले प्रमुख पदमा विजयी हुने सम्भावना रहेको छ। तर गठबन्धनका कारण कार्यकर्ताहरुमा चरम असन्तुष्टि रहेकाले त्यो आँकडा २०-२५ मा झर्ने सम्भावना पनि उतिकै रहेको छ।

यसपटक उपप्रमुख/उपाध्यक्ष पदको आँकडा भने यथावत रहने आँकलन गर्न सकिन्छ। यसपटक पनि ६० बढी पालिकामा थारु महिलाहरु उपप्रमुख/उपाध्यक्षका उम्मेदवार रहेका छन्। त्यसलाई विश्लेषण गर्ने हो भने ४५ को आँकडा यथावत राख्ने सम्भावना रहेको छ। तर माथि भनेजस्तै कार्यकर्ताहरुबीच भएको नैरश्यताका कारण त्यो संख्या घटेर २५-३० मा पनि आउन सक्छ।

आसन्न स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुरको लालझाडी र बेलौरी, कैलालीको घोडाघोडी, भजनी, जानकी, कैलारी, जोशीपुर टीकापुरमा थारु उम्मेदवारको बलियो पकड रहेको बताइन्छ।

त्यस्तै लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाको राजापुर, बारबर्दिया र गेरुवा, बाँकेको राप्ती सोनारी र डुडुवा, दाङको लमही, घोराही र राप्ती, कपिलवस्तुको महारजगन्ज, रुपन्देहीको मायादेवी, सियारी र सुद्धोधन र नवलपरासी पश्चिमको प्रतापपुर र सरावलमा थारु उम्मेदवारहरु प्रमुख आकांक्षी रहेका छन्।

त्यस्तै बागमती प्रदेशअन्तर्गत चितवनको खैरहनी र माडीमा थारु आकांक्षीहरुको सम्भावना बलियो रहेको बताइन्छ।

त्यस्तै मधेस प्रदेशअन्तर्गत पर्साको जिरा भवानीपुर, पटेर्वा सुगौली, बाराको जितपुर सिमरा, करैयामाई, बारागढी, कोल्हबी, रौतहटको गुजरा, सर्लाहीको ईश्वरपुर, बरहथवा, रामनगर र चक्रघट्टा, सिरहाको लहान र सखुवा नन्कारकटी र सप्तरीको शम्भुनाथ, खडग, सुरुङ्गा र अग्निसाइर कृष्णासवरणमा थारु आकांक्षीहरु प्रमुख प्रतिस्पर्धी रहेको बताइन्छ।

त्यस्तै प्रदेश १ अन्तर्गत सुनसरीको दुहबी, रामधुनी, गढी र बर्जु र मोरङको बुढीगंगा, ग्रामथान, धनपालथान र कटहरीमा थारु उम्मेदवारहरु प्रमुख आकांक्षी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *