अनुभवी थारु उम्मेदवारलाई युवाको चुनौती

कारी महतो

चितवन : स्थानीय निर्वाचनमा खैरहनी नगरपालिकाको वडा नं. १० मा एमालेका तर्फबाट निकै अनुभवी मानिएका कारीराम चौधरीले दोस्रो कार्यकालका लागि वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। कारीराम चौधरीले २०७४ को निर्वाचनमा वडाअध्यक्ष पदमा विजयी हासिल गरी जनताको मनमस्तिष्कमा बसिसकेका छन्।

स्नातकसम्म अध्ययन गरेका कारीरामले २०५४ सालको गाविस चुनावमा गाविस उपाध्यक्ष पदमा पनि निर्वाचन जितेका थिए। २०५६ सालमा गाविस अध्यक्षले गाउँ छाडेर अन्यत्र गएपछि कारीरामले नै अध्यक्षको भूमिका निर्वाह गरेका थिए।

स्थानीय तहमा लगातार चुनाव जितेर काम गरिसकेका अनुभवी व्यक्तित्वलाई एक नयाँ नेतृत्वले वडाअध्यक्ष पदमा चुनौती दिएका छन्। युवामाझ निकै चर्चित व्यक्तित्व चन्द्रविक्रम चौधरीले नेपाली कांग्रेसको तर्फबाट वडा नं. १० को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

स्नातकसम्म अध्ययन गरेका चन्द्रविक्रम २०५२ सालदेखि थारू विद्यार्थी समाजमा निकै सक्रिय थिए। थारू स्पाोर्ट्सका जिल्ला अध्यक्ष भई खेलप्रेमी युवाहरू माझ निकै ख्याति कमाएका उनी एन्फाका सदस्यको रूपमा समेत काम गरिसकेका छन्। हालः थारू कल्याणकारिणी सभा चितवनका उपसभापति पदमा कार्यरत चन्द्रविक्रम खैरहनी नगरपालिका वडा नं. १० को वडाअध्यक्षको चुनाव जित्ने दाबी गरेका छन्।

तत्कालीन कठार गाविसमा उनका बुबा चुडामणि चौधरीको समेत योगदान रहेको कारणले पनि वडाअध्यक्षको चुनावमा उनी बलियो मानिन्छन्।

खैरहनी नगरपालिका स्थापना गर्दा कठार गाविसको वडा नं. १ देखि ९ वडालाई एकीकृत गरि वडा नं. १० बनाइएको थियो। २०७४ सालमा वडाको चुनाव जितेर थुप्रै लोकप्रिय काम गरेका कारीराम चौधरीले यसपटक पनि चुनाव जित्नेमा ढुक्क छन्।

त्यस वडामा माओवादी केन्द्रका तर्फबाट रामेश्वर चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट रिखीराम महतो, समाजवादीका तर्फबाट प्रेमबहादुर चुवान र राप्रपाको तर्फबाट राजकुमार थापाले उम्मेदवारी दिएका छन्।
स्रोतका अनुसार ६ जनाले उम्मेदवारी दिएकोमा माओवादीका रामेश्वर चौधरीले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *