पालिका हाँक्ने दौडमा थारु महिला

आसन्न स्थानीय तह निर्वाचनमा तीन जना थारु महिला पालिका हाँक्न उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट सरस्वती चौधरीले जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नो दाबेदारी पेश गरेकी छन्। यसअघि उपमेयरसमेत रहेकी सरस्वती चौधरीले विकसित पालिका बनाउने प्रतिवद्धता जनाएकी छन्।

यसअघि पनि एमालेले जितेकाले आफ्नो जित सुनिश्चित रहेको उनले बताइन्। जितपुर सिमरामा थारु समुदायको मत निर्णायक मानिन्छ।

त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिकाबाट गीता चौधरीले प्रमुख पदमा दाबेदारी पेश गरेकी छन्। कांग्रेस गढ मानिएको पालिकामा उनलाई कांग्रेसले नै टिकट दिएको छ। त्यसकारण पनि पालिकामा आफ्नो जित सुनिश्चित रहेको उनले बताइन्। थारु बाहुल्य क्षेत्र रहेको सुरुङ्गा कांग्रेस गढ मानिन्छ। यसअघिको स्थानीय निर्वाचनमा पनि कांग्रेस विजयी भएको थियो। उनले सुरुङ्गाको विकासका लागि मुख्य ६ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेकी छन्।

पालिकाको मुख्य आधार कृषि भएकाले डीप बोरिङ, कुलो नहर खन्न र मर्मत संभार गर्न, उन्नत जातको बीउ विजनको व्यवस्था गर्न, मल खाधको व्यवस्था गर्न २५ प्रतिशतसम्म बजेट उपलब्ध गराउने योजना बनाएकी छन्।

त्यस्तै चितवनको माडी नगरपालिकामा तारा कुमारी काजी महतोले दाबेदारी पेश गरेकी छन्। यसअघि सोही नगरपालिकामा उपमेयर रहेकी उनले नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवारी दिएकी छन्।

उनी भन्छिन्, ‘पाँच वर्षसम्म मेरो पार्टीले मलाई उपमेयर दिँदै गर्दा म अत्यधिक मतले विजयी भएको हो। विजय हुँदै गर्दा पाँच वर्ष उपप्रमुखको भूमिकामा रहेर काम गरेँ। मैले काम गर्दै गर्दा मैले धेरै कुराहरु सिकेँ। माडीको समस्याहरु गहिरेर बुझ्न सफल भएँ। हिजो मैले उपप्रमुख हुँदै गर्दा र काम गर्दै गर्दा पनि मेरो भूमिका जति थियो त्यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्न सकेँ। मलाई आँट आयोकी म प्रमुख भएर पनि चलाउन सक्छु। त्यसैले मैले प्रमुखको उमेदवारी दिएको हो। मैले गर्न नसकेको कामहरुलाई पनि अब म पूरा गर्न चाहन्छु। धेरै दिदीबहिनीहरुको समस्या अन्य माडीका समस्याहरु छन्। त्यो समाधान गर्नको लागि हो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *