वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएको छ। उनी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए। चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।

एमाले तुलसीपुर अध्यक्ष माधव वलीले चौधरीको उपचारका क्रममा मृत्यु भएको सेतोपाटीलाई बताए। वडा नम्बर १७ बघौसीका ५३ वर्षीय चौधरी बिरामी भएपछि चार दिनअघि काठमाडौं लगिएको थियो।

उनको कलेजोमा समस्या रहेको भन्ने बुझिएको वलीले जानकारी दिए। चुनाव प्रचारप्रसारका क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो। वलीका अनुसार चौधरी ०७४ को चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए। चौधरीको शव दाङ ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ।

निर्वाचन अधिकृत राजेश्वर अर्यालले उक्कत वडामा निर्वाचन स्थगित हुने बताए। एमालेबाट उम्मेदवारको मृत्यु भएको भन्नेबारे उक्त पार्टीले आधिकारीक जानकारी हालसम्म नपठाएको भए पनि आफूहरुसम्म त्यो सूचना भने आइसकेको उनले बताए। ‘हामीले निर्वाचन आयोगमा सूचना पुगाइसकेका छौं,’ अर्यालले भने, ‘त्यो वडाको निर्वाचन स्थगित हुने भयो। त्यो बाहेक पालिकै निर्वाचन स्थगित गर र एकै पटक गरौंला पनि आयोगले भन्ने सक्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *