प्रचण्ड यसपटक रेशम चौधरीबारे बोलेनन्, तर बागी उम्मेदवार लक्ष्मी थारुका लागि मागे भोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि प्रचण्डले भोट मागेका हुन् । कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भने, ‘यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब लाजुराम चौधरी र लक्ष्मी सत्गौवा थारुको टीमले पहिलो बनाउनेछन्, दुबैजनालाई जिताइ दिनुस् ।’

कैलालीमा सत्तागठबन्धनका बीच पालिका बाँडफाँड भए अनुसार कैलारी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस भाग परेका थियो । तर, निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले असन्तुष्ट हुँदै स्वतन्त्र उमेदवारी दिएकी थिइन् । कैलालीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच मात्रै गठबन्धन भएको छ । वैशाख १९ गते तीनै दलका नेताहरुले, प्रमुख र उपप्रमुखमा उमेदवारी दिएका आ-आफ्ना कार्यकर्ताहरुलाई कारबाही गरिएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

लक्ष्मी सत्गौवा थारुको नाम उक्त ९ जनाको लिस्टमा उल्लेख छ । माओवादीले निवर्तमान अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई उम्मेदवार बनाएको थियो । प्रचण्डले, अहिले पनि गठबन्धन क्लियर नभएको बताए।

‘गठबन्धन भन्दैमा झुक्ने काम गरिन्न, हामीले एक्लैले पनि चुनावमा जानुपर्छ, पार्टीका उमेदवार जस्तोसुकै अवस्थामा आएपनि हामीले जिताउनुपर्छ,’ प्रचण्डले भने । प्रचण्डले आफ्नै पार्टीका बागी उम्मेदवारलाई भोट मागे पनि रेशम चौधरीका बारेमा भने केही बोलेनन्।

दुई हप्ताअघि उनी कैलाली पुगेर सरकारसँग रेशम चौधरीको मुद्दाबारे ‘सिरियस’ कुरा गर्ने वाचा गरेका थिए। तर उनले सिरियस कुराबारे अहिलेसम्म केही सार्वजनिक गर्न सकेका छैनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *