चुनावी तालमेल गर्ने विषयमा रेशम चौधरी र रुक्मिणी चौधरीबीच छलफल

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबीच चुनावी तालमेल गर्ने तयारी भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुवै दलले तराईका धेरै जिल्लामा चुनावी मैदानमा उत्रिँदैछन्। दुवै दलले आवश्यक ठाउँमा तालमेलको तयारी गरेको स्रोत बताउँछ।

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट रेशम चौधरी र रुक्मिणी चौधरीबीच आइतबार दिल्लीबजारस्थित सदर जेलमा भेटवार्ता भएको स्रोत बताउँछ। दुवैबीच कुन कुन जिल्लामा तालमेल गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।

रेशम चौधरीको पार्टीले कैलाली र बर्दियाका जोडतोडले लागेको छ। कैलाली र बर्दियाका केही पालिका जित्ने लक्ष्यसहित चुनावी अभियान गरिरहेको उनका पार्टीका नेताहरुले बताएका छन्। थरुहटको पहिचान मानिएको ढकिया चुनाव चिन्ह लिएर उनको पार्टी चुनावमा उत्रिँदैछ।

यता रुक्मिणी चौधरी नेतृत्वको पार्टीले अधिकांश तराईका जिल्लामा उम्मेदवार उठाउने तयारी गरेका छन्। रौतहटदेखि पश्चिम तराईमा भोटरहरु रहेको दाबी उनको पार्टीको छ।

गाग्री चुनाव चिन्ह लिएर होम्‍मिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले प्रतिनिधिसभा चुनावमा कूल १४ हजार ४८६ मत ल्याएको थियो। त्यसअघि संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ कूल ४,६२२ मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ २१,१२८ मत प्राप्त गरेको थियो। पार्टी अध्यक्षसमेत रहेकी रुक्मिणी चौधरी पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *