जसपाले थारुको एजेण्डा छोड्यो : कृष्णकुमार चौधरी

नेकपा माओवादी केन्द्र परित्याग गरेको ६ वर्षपछि कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः पार्टीमा फिर्ता भएका छन्। पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका थाप्दै उनी पुनः माओवादीमा भित्रिएका हुन्।

पहिलो संविभानसभा सदस्यसमेत रहेका उनले माओवादीको सशस्त्र जनयुद्धमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विसं २०७३ मा माओवादी नेता बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनी नयाँ शक्तिमा आबद्ध भएका थिए। पछिल्लो समय उनी बाबुराम निकट भएर राजनीतिमा सक्रिय थिए। उनी जसपाको सुदूरपश्चिम प्रदेशका अध्यक्षसमेत थिए।

आसन्न स्थानीय तहको चुनावअघि उनी किन पार्टी छाडे? यसबारे जिज्ञासा राख्दा उनले मूल कारण पार्टी नेतृत्वकर्ता रहेको बताए।

पार्टी सरकारमा सहभागी भएको ९ महिना पुगिसक्दा समेत पहिचान पक्षधरको मुद्दामा गम्भीर नबनेको आरोप उनको छ। देश र जनताप्रति उत्तरदायी भएर जाने, उनीहरुका माग, मुद्दा सम्बोधन गर्ने कुरामा पार्टी एकदमै कमजोर देखिएको उनको ठहर छ।
पार्टीका नेताहरु खासगरी थारुको मुद्दामा बोल्नै नचाकेको उनले बताए। थारु आन्दोलनका माग मुद्दा र टीकापुर राजबन्दी रिहाइबारे कुनै पहल नभएको उनको आरोप छ।

‘पार्टीले थारु आन्दोलनका सम्बन्धनमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। टीकापुर राजबन्दी रिहाइका सम्बन्धमा एकपटक पनि पहल गरेको छैन। भन्ने बेला हामी पहिचान पक्षधर हौं भन्ने तर एक दुई महिनाको कुरा छाडौं, महिनौं बित्दासमेत कु्नै किसिमको पहल गरेको पाइएन,’ उनले भने।

देश र जनताप्रति उत्तरदायी भएर लाग्छु भन्ने नेताहरु कार्यकर्ताको भावनालाई आत्मसात नगरेको उनको अर्को आरोप छ। ‘नेतृत्वकर्ताहरु एक आपसमा लड्ने भिड्ने, कार्यकर्ताको भावनालाई आत्मसात नगर्ने, गुट-उपगुटमा रमाउने देखेपछि त्यहाँ बसेर देश र जनताको लागि केही गर्न सकिन्छ भन्ने लागेन,’ उनले भने।

यसकारण माओवादी रोजे
माओवादी पार्टीसँग आफ्नो विशेष सम्बन्ध रहेको उनले बताए। सशस्त्र जनयुद्धको सुरुआतदेखि नै केही नभनिकल देश र जनताको सेवा गर्न आन्दोलनमा होम्मिएको उनको भनाइ छ। त्यही भएर माओवादीसँग विशेष लगाव रहेको प्रस्ट्याए। ‘केही वर्ष म पार्टीभन्दा बाहिर बसे हुँला। तर त्यहाँ रहँदा पनि मैले पहिचान पक्षधरलाई छाडेको छैन। हामीले उठाएका एजेण्डा छाडेको छैन। र, अहिले पनि तिनै एजेण्डा स्थापित गर्न माओवादी आएको हुँ,’ उनले भने।

उनले माओवादीका धेरै सहयात्रीहरुलाई सम्झिए। ‘यो पार्टीले सहिद जन्माए। सहिद परिवारको संरक्षण गर्ने दायित्व हाम्रो छ। बेपत्ता र घाइते परिवारहरु छन्, उनीहरुको संरक्षण गर्ने कर्तव्य हाम्रो हो। समग्रमा यहाँ धेरै सहयात्रीहरु छन्,’ उनले भने।

उनले तुलनात्मकरुपमा माओवादी अन्य पार्टीभन्दा क्रान्तिकारी भएको र एजेण्डामा चल्ने गरेकोसमेत बताए। उनको आगमनसँगै आगामी संसदीय चुनावमा कैलालीबाट उम्मेदवार बन्ने चर्चा माओवादीमा चलेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *