प्रेस काउन्सिलले बनायो थारु भाषामा पत्रकार आचारसंहिता

प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ। प्रेस काउन्सिल नेपालले दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा आचारसंहिता बनाएको बताए। यसअघि काउन्सिलले नेपाली, मैथली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ।

त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागू गर्न चुनौती देखिएको बताए। थारुमा लेखपढमा अभ्यास नहुँदा पनि प्रयोगमा आउन नसकेको उनको भनाइ थियो।

उनले उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्रदेखि ऐच्छिकरूपमा पठनपाठनमा ल्याउने तयारी रहेको बताए। पत्रकारिता क्षेत्र समाजको ऐना भएको भन्दै उनले यसको मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताए।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृति हस्तान्तरण हुँदै जानुपर्ने भए पनि लोप हुँदै जान थालेको देखिएको बताए। बाह्य संस्कृतिको अनुसरण गर्नुले पनि भाषा र संस्कृतिमा चुनौती थपिएको उनको भनाइ छ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले थारु भाषा लोप हुँदै जान थालेको बताए। बाह्य संस्कृतिको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको भन्दै उहाँनले भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको ठूलो भूमिका हुने बताए।

काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले पत्रकार आचारसंहिताको कार्यपत्र प्रस्तुत गर्दै पत्रकार र सञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित सामग्रीको सम्प्रेषण गर्नुपर्ने बताए।

थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. कृष्णराज सर्वाहारीले थारु भाषाको सञ्चार माध्यमहरू खुम्चिदै गएको बताए। २ सय बढी थारु पत्रकारहरू रहेपनि सञ्चार माध्यम सामूहिकतामा जान नसक्दा चुनौती थपिएको उनको भनाइ छ।

पत्रकार लक्की चौधरीले थारु भाषाको पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गरे। काउन्सिलले थारु भाषासहित डोटेली र भोजपुरीमा समेत आचारसंहिता बनाएकाले छिट्टै सार्वजनिक गरिने जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *