जनजाति महासंघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न दलीय भीडन्त हुँदै

आदिवासी जनजाति महासंघको दसौं महाधिवेशन नवलपुरको कावासोतीमा जारी छ। बिहीबार बिहानैबाट बन्दसत्र सुरु भए पनि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुन सकेको छैन। दसौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि दलीयरुपमा भीडन्त भइरहेको बताइएको छ।

एक पदाधिकारीका अनुसार अध्यक्ष बन्न ६ जनाले लबिङ गरिरहेका छन्। जसमा ग्याल्जेन शेर्पा, चन्द्र विक्रम राई, किरण सुनुवार, गोविन्द छन्त्याल, नरेश ताम्राकार र बुद्ध घर्ती भुजेल रहेका छन्। यीमध्ये ग्याल्जेन शेर्पा र बुद्ध घर्ति भुजेलको सम्भावना बढी रहेको ती पदाधिकारीले बताए।

ग्याल्जेन कांग्रेस समर्थित हुन् भने बुद्ध एमाले समर्थित हुन्। दुबै आकांक्षीलाई जिताउन पार्टीले केन्द्रीय नेताहरुलाई नै परिचालन गरेका छन्। कांग्रेसले नेता इन्द्रबहादुर गुरुङ, दिलमान पाख्री र रेशम गुरुङलाई परिचालन गरेको छ। एमालेले भने जनजाति नेताहरु गोकुल घर्तिमगर, पासाङ शेर्पा र राजकुमार लेखीलाई परिचालन गरेको छ। दुवै पार्टीले विगत एक महिनादेखि महासंघको महाधिवेशन केन्द्रीत अभियानमा खटाएको थियो।

महासंघमा कांग्रेस र एमालेको तीव्र भीडन्त भइरहेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुलाई समेत मिलाएर लैजान निर्देशन दिएका छन्। ‘महासंघमा कांग्रेस एक्लै बलियो छ। तर पार्टीले सत्ता साझेदार अन्य दललाई पनि मिलाएर लैजान भनेको छ,’ कांग्रेसका एक जनजाति नेताले भने।

ती नेताका अनुसार स्वकीय सचिव भानु देउवामार्फत् प्रधानमन्त्रीले निरन्तर महाधिवेशनबारे जानकारी लिइरहेका छन्। यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पदाधिकारीसहित सदस्यहरुमा भागबण्डा गर्न कांग्रेसलाई आग्रह गरेको बताइएको छ।

दलीय भीडन्त भए पनि सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन हुने बताइएको छ। यसका लागि तीव्र छलफल भइरहेको ती पदाधिकारीले बताए। ‘सहमतिका लागि तीव्र प्रयास भइरहेका छन्। आज बेलुकासम्म नयाँ नेतृत्व सर्वसहमतिबाट चयन हुन्छ,’ ती पदाधिकारीले भने।

‘पहिचानसहितको सङ्घीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नवीन सामाजिक सहमतिको पक्षमा १०औँ महाधिवेशन’ नारा दिइएको महाधिवेशनमा स्वदेश, विदेशसहितबाट ४२० प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेका छन्।

महाधिवेशन तीन/तीन वर्षमा हुने प्रावधान भएको भए पनि अहिले पाँच वर्षको अन्तरालमा भएको हो। कोभिड महामारीका कारण महाधिवेशन विद्यानमा तोकिएको भन्दा दुई वर्षपछि भएको हो। महाधिवेशनमा नेपाल आदिवासी जनजातिको आन्दोलन र भावी कार्यदिशाको विषयमा छलफल गर्ने छ। यस्तै विद्यान संशोधनको समेत तयारी गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *