भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य भुपेन्द्र थेवे, भारतीय राजदूतावासका प्रथम सचिब रोहित मिश्रा, स्थानीय तहका प्रतिनिधि, शिक्षक र विद्यार्थी सहभागी थिए ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यसवर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्ये विद्यालय पनि एक रहेको भारतीय राजदूतावासले जनाएको छ । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको ३ करोड १० लाख रुपियाँ लागतमा दुई तले विद्यालय भवन निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको विद्यालयमा हाल १६ सय विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । भारत सरकारले ताप्लेजुङ्गका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ’ भारतीय राजदूतावासका प्रबक्ता नविन कुमारले भनेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *