थारू समुदायमा छोराछोरीहरूको सामूहिक विवाह गरिदिने चलन

विमला चौधरी

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी नवलपुरकी सविता थारूसहित उनका अन्य तीन दिदी बहिनीको गत फागुन ४ मा एकै साथ विवाह गरे। चार दिदी बहिनी एकै किसिमको पोसाकमा बेहुली भएर सजिएका थिए। सविताले त्यसरी विवाह गर्दा खुसी लागेको बताइन्। तर विवाहको दिन एक अर्काको बेहुलालाई राम्ररी चिन्न समेत नपाएको उनले बताइन्।

एक अर्काको दुलाहा हेर्न पाएनौँ
विवाहको अघिल्लो दिन चारै दिदी बहिनीसँगै सामान किनमेल गर्न गएका थिए। उनीहरूले एउटै किसिमका सामग्री पनि किनेका थिए। सविता भन्छिन्, “‘विवाहमा एकै किसिमको पोसाक लगाउन पाउँदा खुसी नै थियौँ तर एक अर्काको दुलाहालाई हेर्न पाएनौँ दुःखको कुरा यही हो, एक अर्काको विवाहमा रमाउन पाइएन।” सविताको विवाहका क्रममा चार मध्ये दुई-दुईवटा जोडी एकसाथ बसेका थिए।

थारू समुदायभित्र छोरी सट्टापट्टा गर्ने अर्थात् छोरी दिएर बुहारी ल्याउने चलन समेत रहेकाले केही वर्ष पहिलेसम्म छोरा र छोरीको विवाह एकै साथ गर्नुपर्ने बाध्यता थियो। तर पछिल्लो समय त्यो चलन हटाईएपनि सामूहिक रूपमा विवाह गरिदिने प्रचलन रहिरहेको अभिभावकहरू बताउँछन्।

संविधानसभा सदस्य समेत रहेका सविताका बुवा पट्टु थारू भन्छन्, “पहिलेको जस्तो छोरी सट्टापट्टा गर्ने चलन त अहिले छैन तर धेरै छोराछोरीको एकैसाथ विवाह गर्ने प्रचलन छँदै छ।”

उनले भने, “हामी चार भाइ अहिलेपनि संयुक्त परिवारमा छौँ। मेरो, माइलो भाइ र साइँलो भाईको छोरी बिहे गर्ने उमेर भइसकेकाले तीनै दाजुभाइको चारवटा छोरीको एकैसाथ विवाह गरिदियौँ।” उमेर पुगेका अरू छोराछोरीको पनि सँगै विवाह गरिदिने योजना रहेको तर उनीहरूको इच्छा विपरीत जान नसकेको उनको भनाई छ।

उनले भने, “अरू छोराछोरी पनि छन्। म त लगभग सात, आठ जनाको विवाह गर्दिउँ भन्ने सोचेको थिएँ तर छोरा र अरू छोरीले विवाह गर्न मानेनन्। पछि गर्छौँ भने।”

पुरानै चलन
थारू समुदायमा यसरी सामूहिक विवाह गर्ने चलन नौलो होइन। संयुक्त परिवारमा बस्ने भएकाले थारू समुदायमा दुई देखि पाँच जोडीको संयुक्त विवाह गरिदिने गरेको अभिभावकहरू बताउँछन्।

यसरी सामूहिक रूपमा विवाह गर्दा भोज खर्चमा कमी आउनुका साथै छोरी एवं बुहारीहरूलाई दिने गरगहना तथा कपडाहरू बराबर दिन सहज हुने थारू समुदायका जानकारहरू बताउँछन्।

हाल ५४ जनाको संयुक्त परिवार सम्हालिरहेका बाँके राप्ती सोनारी गाउँपालिका खैरहनीका राजगुरु थारूले गत फागुनमा एकै साथ पाँच जना छोराछोरीको विवाह गरिदिएको बताए।

यसरी विवाह गर्दा खर्च कम लाग्ने राजगुरुको भनाई छ। “एकजनाको विवाह गर्दा उही पाहुना जुट्ने, उही खर्च त्यसैले पाँच जनाको एकै चोटि गर्दा फाइदा हुने देखियो।” तर जति धेरैको विवाहसँगै गर्‍यो एक साथ लगन जुराउन त्यति नै समस्या हुने गरेको पट्टु थारू बताउँछन्।

पट्टुले भने, “जहाँ हामीले छोरी दिएका छौं उनको घरमा पनि दुई तीन जनाको विवाह गर्ने अवस्था हुन्छ। उनले पनि आफ्नो दुई तीन तिर मिलाउनुपर्ने हुन्छ, मैले चार वटा छोरीको विवाह गर्दा चार तिरै मिलाउनुपर्ने हुन्छ, त्यसैले सबै तिर छलफल गरिसकेपछि मात्र बल्ल विवाहको टुङ्गो लाग्छ।”

विवाह भोजमा चाहिने खानाको परिकारका लागि चामल, बङ्गुर, खसी र कुखुरा घरमै उपलब्ध भए पनि गरगहना र लुगाफाटोमा लाग्ने नगद खर्च मात्र जोहो गर्नुपर्ने उनीहरू बताउँछन्।

परिवारका सदस्य सङ्ख्या धेरै हुने र विवाहमा सबैका नातागोतालाई निम्तो गर्दा करिब २ हजार देखि २५ सय सम्म मानिस आउने गरेको संयुक्त परिवारका घरमूली बताउँछन्। एकैसाथ धेरै पाहुनालाई स्वागत सत्कार गर्न एक दिन हम्मेहम्मे परेपनि यस्तो विवाहमा कम खर्च हुने गरेको संयुक्त विवाह गरिदिने अभिभावकहरूको अनुभव छ। -बीबीसीबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *