कैलारीमा जग्गाको निस्सा वितरण सुरु, अध्यक्ष चौधरीद्वारा प्रमाणपत्र वितरण

कैलालीको कैलारी गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ। राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो। बुधबार वडा नम्बर ७ स्थित हौसलपुर र मोहनपुर गाउँका भूमिहीन, अव्यवस्थित बसोबासीलाई निस्सा दिइएको छ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। सो क्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए।

उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए। ‘यो जग्गाको लालपूर्जा होइन,’ निस्सा वितरण गर्दै उनले भने, ‘तपाईँहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईँहरुलाई दिएका हौं।’ जग्गाको नाप, नक्सा अब यही निस्साको आधारमा हुने अध्यक्ष चौधरीको भनाइ थियो। उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए।

त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताइन्। उनले जग्गाको लालपूर्जा पाउनका लागि १० वर्षदेखि भोगचलन गरेको हुनुपर्ने र वडा कार्यालयमा कर बुझाइएको हुनुपर्ने बताइन्।

उपाध्यक्ष सत्गौंवाले गाउँपालिकाको न्यायिक समितिमा बढी जसो ऐलानी पर्ती जग्गाको विवाद आउने गरेको उल्लेख गरिन्। ‘कित्ता काटको क्रममा साँध, सीमाको सवालमा मिलेर सबैले एक-अर्कालाई सहयोग गर्नु होला,’ उनले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *