होलीमा आगोको सगुन, रोग निको हुने थारु समुदायमा विश्वास

पश्चिम तराईका थारू समुदाय (रानाथारू बाहेक) ले होलीमा नयाँ आगो बाल्ने चलन छ । गाउँको देउथानमा बालिएको आगो सबैका घरमा ल्याएर बाल्ने परम्परा रहेको छ । होलीको अघिल्लो साँझ सबैले आफ्ना घरका चुलाको पुरानो आगो निभाउने र नयाँ आगो बाल्ने चलन रहेको टीकापुर–१ का दिलबहादुर चौधरीले बताए । ‘नयाँ आगो सगुनका रूपमा लिने गरिन्छ । आगो शक्तिका रूपमा लिइन्छ,’ उनले भने, ‘यसले वर्षभरि घर परिवारमा राम्रो हुन्छ भन्ने थारू समुदायमा विश्वास छ ।’

देउथानबाट ल्याएको नयाँ आगो बालेर सबै घरपरिवार बसेर ताप्ने पनि थारु समुदायमा चलन छ । यो नयाँ ल्याएको आगो तापे जीउ दुख्ने लगायतका विभिन्न रोग निको हुने विश्वास रहेको थारु अगुवाहरू बताउँछन् । थारुका अनुसार नयाँ आगोका लागि यो दिन गन्यारी नामक काठबाट आगो निकाल्ने र गाउँको देउथान नजिकै सिमलको हाँगाको बुटा बनाएर गाडिन्छ र त्यसैमा आगो लगाइन्छ । त्यही आगोबाट गाउँका सबैले गोबरको गुइठा सल्काएर घर घरमा आगो लाने गर्दछन् । घर लगेको आगो चुल्हा सल्काउने र आँगनमा बालेर ताप्ने गर्दछन् ।

देउथानमा पूजा गर्नुभन्दा पहिले तेलमा चामलको पिठोको रोटी गाउँको बडघर (बस्तीको प्रमुख व्यक्ति) को घरमा पकाएर पुजा गर्ने र त्यो रोटी आगो लिन जम्मा भएका सबैलाई खान दिने गरिएको जानकी गाउँपालिका–६ का भोजबहादुर चौधरीले बताए । उनले भने, ‘यो दिन प्रत्येक घरमा आफ्ना कुल देउताका अगाडि पनि दीप प्रज्वलन गर्ने पनि चलन छ ।’ यति गरिसकेपछि भोलिपल्ट बिहानबाट थारू समुदायमा होली सुरु हुन्छ । अघिल्लो दिन बालिएको आगो होलीको दिन गाउँको सबै घरबाट एक–एक जना महिला लोटामा पानी बोकेर आगो निभाउन जान्छन् ।

आगो निभाउन आएका महिलालाई पुरुषहरूले रंग हिलो माटोले होली खेल्ने चलन रहेको छ । होली निभाउन आएका महिला पनि सबै साथीसंगी मिलेर एक अर्काको घरघरमा गई होली मनाउने चलन रहेको थारूहरू बताउँछन् । -कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *