थारु बाहुल्य रहेको कैलारी गाउँपालिका उत्कृष्ट पालिकामा समावेश

कैलालीको कैलारी गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको छ। थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरेर कार्य सम्पादन मूल्याङ्कनमा नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र स्थान प्राप्त गर्न सफल भएको हो।

प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार ७८.६९ अंक पाएर डडेल्धुराको अजयमेरु गाउँपालिका नेपालमै पहिलो स्थानमा छ। कैलालीमा रहेको १३ वटा स्थानीय तहमध्ये कैलारीले यहाँको स्थानीय तहलाई कार्य सम्पादनमा उछिनेको छ। कैलारी गाउँपालिका कैलालीमा पहिलो स्थानमा रहेको छ।

गाउँपालिकाले यो स्थान प्राप्त गर्नुमा सबैको उत्तिकै देन रहेको प्रवक्ता कमलप्रसाद चौधरीले बताए। उनले सबैले एकताबद्ध भएर काम गर्दा कार्य सम्पादनमा उत्कृष्ट भएको उल्लेख गरे। ‘हाम्रो दायित्व हो, त्यसैले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भनेर हामी जनप्रतिनिधि र हाम्रो गाउँपालिका हो, हामीले गर्नुपर्छ भनेर लगनशीलताका साथ राष्ट्र सेवक कर्मचारी, उपभोक्ता समिति सबैले काम गरेका कारण यो उपलब्धी हासिल भएको हो,’ उनले भने ।

‘जनप्रतिनिधि एकातिर, कर्मचारी अर्कोतिर भएर काम गरेको भए यो उपलब्धी प्राप्त हुने थिएन ।’ उनले आगामी दिनमा कैलारी गाउँपालिकाले मुलुकमै उत्कृष्ट हुने गरी अझ कडा मिहिनेत साथ काम गर्न आवश्यक रहेको औंल्याए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *