राष्ट्रिय रेफ्री विष्णु चौधरीको परिवार नै भलिबलमा, दुई छोरी राष्ट्रिय टिममा, छोरा प्रदेश टिममा

नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले भलिबललाई निकै लोकप्रिय खेल मानिन्छ। नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो।

केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो। स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गरेका विष्णुप्रसाद चौधरीको खेल जीवन निकै रोचक छ। भलिबललाई नजिकबाट नियालेका कैलारी गाउँपालिका-७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रुपमा काम गरेको अनुभव छ। विद्यालय पढ्दै गर्दा खेल क्षेत्रमा लागेका विष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन।

उनले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण राष्ट्रिय रुपमा आफ्नौ छुट्टै पहिचान बनाउन सफल भए। विसं २०४२ देखि राष्ट्रिय भलिबल टिममा रहेका विष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर खेले। नेपाल विद्युत् प्राधिकरणमा जागिर हुँदा पनि उनले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन।

“मैले भलिबल खेललाई नजिकबाट नियालेको छु। खेलकुदभन्दा ठूलो कुरा मेरा लागि जीवनमा केही पनि हुन सकेन। जागिर पनि यस्तो पाएँ, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने”, उनले भने, “विद्युत् प्राधिकरणभित्रबाट पनि हामीले खेल्ने अवसर पाउने भएकाले मलाई अझै सहज भएको थियो। त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन।”

राष्ट्रिय भलिबल टिममा रहँदै विष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गरे । विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै छन्। त्यो पनि भलिबल मै। साफ च्याम्पेन्सिममा दुई पटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाए।

विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन्। नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै विष्णुको माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको विष्णुको भनाइ छ।

‘नेविका र मैले दुईपटकसँगै साफ चेम्पेन्सिपमा सहभागी भएका थियौं। म पुरुषबाट थिए भने छोरी महिला टिमबाट,’ उनले, ‘त्यो अवसर सम्भव कसैलाई पनि जुर्दैन होला। जुन मलाई जुर्‍यो।’

विष्णुका छोराले पनि प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाएका छन्। अहिले पनि उनका छोरा आरिष चौधरी प्रदेश टिममा सहभागी छन्।

विष्णुकी कान्छी छोरी बक्सिङमा राम्रो भए पनि परिवारका अन्य सदस्य भलिबल क्षेत्रमै भएका कारण उनले पनि बक्सिङ खेल छोडेर भलिबलमै केन्द्रित भएको विष्णुले बताए।

कान्छी छोरीले बक्सिङमा राष्ट्रियस्तरको प्रतियोगितामासम्म खेलेकी छिन्।

गाउँपालिकामा अहिले भलिबल प्रशिक्षण केन्द्र खोलेर युवालाई भलिबल सिकाउँदै आएका चौधरीले यो खेलका लागि आफ्नो क्षमताले भ्याएसम्म लागिरहने बताए।

आफ्नो खेलप्रतिको लगावले छोराछोरीलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै विष्णुले खेलाडीको भविष्य भने अझै सुनिश्चित् हुन नसकेको बताए।

“खेलाडी उत्पादन नभएको भने होइन। नेपालमा पनि थुप्रै खेलाडी उत्पादन भएका छन्”, उनले भने, “खेलाडीको संरक्षण भने हुनसकेको छैन। जसका कारण खेलाडीको सुनिश्चितता हुनसकेको छैन।”

स्थानीय सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको भन्दै विष्णुले खेलाडी उत्पादनको मुख्य आधार नै स्थानीय सरकार भएको बताए। उनले नेपालमा पुरुष भलिबल टिमभन्दा पनि महिला भलिबल टिमसँग बढी सम्भावना देखिएको बताए। पुरुष भलिबल टिमको प्रशिक्षणमा पनि निकै कमजोरी रहेको उनको भनाइ छ ।

“पुरुष भलिबल टिम पनि कमजोर छ भन्न मिल्दैन तर उनीहरुले प्रशिक्षण राम्रो पाइरहेको अवस्था छैन”, उनले भने, “वर्षभरि बन्द प्रशिक्षणमा राष्ट्रिय टिमलाई राख्न सक्नुपर्छ। प्रतियोगिता हुँदा मात्रै प्रशिक्षण बोलाएर खेलाडी खेलमा पोख्त हुनसक्दैन।”

अहिले विष्णु राष्ट्रिय रेफ्रीको भूमिकामा छन्। सुदूरपश्चिममा हुने अधिकांश भलिबल खेलमा उनले मुख्य रेफ्रीको भूमिकासमेत निर्वाह गर्दै आएका छन्।




Leave a Reply

Your email address will not be published.