भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले भवन उद्घाटन गरेका हुन् । यो वर्ष नेपालमा ७५ वटा परियोजनाहरू सम्पन्न गर्ने लक्ष्यमध्येको यो एक रहेको भारतीय राजदूतावासले जनाएको छ ।

उदघाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थिति थियो । दूतावासका अनुसार यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

भारत सरकारको आर्थिक सहयोगमा भारत-नेपाल विकास सहकार्यअन्तर्गत ४ करोड २२ लाख ६० हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण भएका हुन् । विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

हालसम्म भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहर अघि बढाइसकेको जनाएको छ । २०६० सालपछि नेपालमा ४६७ वटा परियोजनाहरू सम्पन्न भइसकेको दूतावासको भनाइ छ । तीमध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् । भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार दिइसकेको छ ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ,’ भारतीय दूतावासले भनेको छ, ‘भारत-नेपाल विकास सहकार्यअन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरूलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *