एमसीसी अनुमोदन भएपछि माओवादीका थारु नेताहरु भन्छन्- जे भयो गलत भयो

अमेरिकी सहायता परियोजना एमसीसी आइतबार संसदबाट अनुमोदन भइसकेको छ। तर थारु नेताहरुले अझै यसको विरोधमा गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सांसद दीपेश थारुले व्याख्यात्मक टिप्पणी घात भएको बताए। उनले यसको असर कलान्तरमा देख्न मिल्ने बताए।

‘ब्यख्यत्मक टिप्पणीले के हुन्छ मलाई थाहा छैन, तर जेभाछ गलत भएको छ। गलत कि सही कालान्तरमा हेर्न बाकी छ,’ उनले भनेका छन्। त्यस्तै माओ‌वादीकै नेता एवं कैलारी गाउँपालिकाका प्रमुख अंकित चौधरीले पार्टीको आठौं महाधिवेशनको उत्साह एमसीसी अनुमोदनसँगै सकिएको बताएका छन्। उनले महाधिवेशनमा के भएको थियो भन्दै नेताहरुलाई स्मरण गराएका छन्।

‘नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा उत्साह थियो र? समाजवाद निर्माण र एमसीसी खारेज? के भएको थियो होला! त्यो बेला? आज छिन्न भिन्न; यता उता!,’ उनले भनेका छन्।

यसअघि नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले एसमीसी अनुमोदन गरे नेपालको असंलग्न परराष्ट्र नीति कायम नरहने दाबी गरेका थिए।

‘एमसीसी पास गरे के हामी असंलग्न पराराष्ट्रका पक्षमा हुन सक्छौं र,’ एमसीसीमाथिको छलफलमा भाग लिँदै चौधरीले भने, ‘हामी पञ्चशिलको रक्षा नीति गर्न सक्छौं?’उनले परियोजना प्राप्तिका आधारहरुमा नेपाल फेल हुँदा पनि एमसीसी जवरजस्ती दिइएको दाबी गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *