कांग्रेस बाँकेको सचिवमा सञ्जु चौधरीले दिइन उम्मेदवारी

नेपाली कांग्रेस बाँकेको १४औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्। नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीका अनुसार सभापतिमा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। बाँकी तीन जना भने संस्थापन समूहका उम्मेदवार हुन् ।

लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, तत्कालीन सभासद् बादशाह कुर्मी र पार्टी उपसभापति सुनिलनरसिंह राणा संस्थापन पक्षका हुन् । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यमा दुवै प्यानलमा विवाद देखिँदैन। उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदीपनरसिंह राणा र कृष्णा कार्कीले उम्मेदवारी दर्ता गरेका छन्।

सचिवमा सुधांशु कोइराला, टंकप्रसाद कार्की (आशिष), रवीन्द्र हमाल र सञ्जुकुमारी चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै सहसचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पूर्णकुमार सिंह ठकुरी (पुरन) र विनोद थारूले उम्मेदवारी दर्ता गरेका छन्।

१४ गते बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ। १९ गते मतदान हुने निर्वाचन मण्डलले जनाएको छ। यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *