विशेष अदालतको सदस्यमा न्यायाधीश खुसीप्रसाद थारुको नाम सिफारिस

न्याय परिषदले विशेष अदालतमा ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस गरेको छ। उच्च अदालत पाटन दरबन्दी भएका पौडेल उच्च अदालत पोखराको बागलुङ इजलासमा कार्यरत थिए।

त्यसैगरी पाँच जना सदस्यमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरमा कार्यरत यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङका शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका बलभद्र बास्तोला र उच्च अदालत पाटनका खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको परिषदले जनाएको छ ।

बैठकले राजश्व न्यायाधिकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटन दरबन्दी भई उच्च अदालत तुलसीपुर नेपालगंजमा कार्यरत न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्न सिफारिस गरेको छ ।

परिषदले उच्च अदालत सुर्खेतका २ जना न्यायाधीशको काज सरुवा गरेको छ। अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटनको हेटौंडा इजलास र नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा काज सरुवा गरिएको परिषदले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *