विश्वकप खेल्ने नेपालको सपना तुहियो, युएईसँग पराजित

अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन असफल भएको छ। विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आइरहेको छ। नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ। र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ। युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले। भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *