नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, युएईलाई जिते विश्वकप खेल्ने

क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ। युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो। दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ।

क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो। दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए। उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे। दीपेन्द्रले २७ रनको योगदान गरे। कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *