भलिबलकी स्पाइकर सरस्वती चौधरीलाई के भएको हो?

राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीले यतिबेल मेनिस्कस र आर्टिकुलर कार्टिलेज मर्मत गराइरहेकी छन्। बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेको उनलाई अर्थोप्लास्ट रिहाब सेन्टरमा रिहाब सुरु भएको हो।

यसअघि उनको बायाँ घुँडाको शल्यक्रिया भएको थियो। सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उनको घुँडाको शल्यक्रिया भएको हो। सर्जिकल अर्थोपेडिक विभागका डा. शैलेन्द्र श्रेष्ठ, डा. प्रविण नेपाल, डा. उमेश कार्की, डा. नेत्र कार्की, डा. समिर केसी तथा एनसथेसिया विभाग डा.सुरेन्द्रमान श्रेष्ठ , डा. पुन्डु श्रेष्ठ, डा. शोभा डंगोलको चिकित्सक टोलीले उनको घुँडाको शल्यक्रियामा सामेल थिए।

दुर्बिनबाट उनको घुँडाको शल्यक्रिया गर्न झण्डै एक घन्टा लागेको थियो। डाक्टरहरुका अनुसार पुरानो चोट भएकाले २-३ महिना टेक्न मिल्दैन। कोर्टमै फर्कन भने ६ देखि ९ महिना लाग्ने उनीहरुको भनाइ छ।

बंगलादेशबाट फर्केपछि उनले पुष २६ देखि माघ १ गते सम्म पोखरामा भएको टाइगर कप भलिबलमा भाग लिएकी थिइन्। एपीएफलाई टाइगर कपमा पहिलो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन्।

सरस्वती राष्ट्रिय टोली र एपिएफकी महत्त्वपूर्ण खेलाडी मध्येकी एक हुन्। महिला टोलीले प्राप्त गरेको पछिल्ला सबै सफलतामा सरस्वती टोलीको सदस्य रहँदै आएकी छिन्। १२औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दा र दुई वर्षअघि स्वदेशमा भएको १३औं सागमा रजत पदक जित्दा उनी टोलीको सदस्य थिइन्। त्यस्तै दुई वर्षअघि र गत महिना नेपालले सेन्ट्रल जोन जित्दा पनि सरस्वती त्यसको सदस्य थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *