नेपाली फिल्ममा पहिलोपटक बन्यो थारु भाषाको प्रमोशन गीत

नेपाली फिल्म इतिहासमा पहिलोपटक थारु भाषाको गीतमार्फत् ‘प्रमोशन’ गरिएको छ। सुदर्शन थापा निर्देशित, पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई थारु गीतमार्फत् प्रमोशन गरिएको हो। चितवनको थारु गाउँमा सुटिङ गरिएको प्रमोशन गीतको प्रिमियर बुधबार सिटिसी मलमा आयोजना गरिएको थियो।

प्रिमियरमा फिल्म युनिटका सम्पूर्ण क्रू र थारु गीत बनाए नरेश जोगी, मधु चौधरी र गणेश चौधरी पनि सहभागी थिए। कार्यक्रममा निर्देशक थापाले नेपालका विभिन्न भाषामा प्रमोशन गीत बनाउने योजना रहेको बताए। तर कोभिड संक्रमणका कारण अहिले थारु र नेवारी भाषामा मात्र बनाउन सकेको बताए। उनले १३ गते नै फिल्म रिलिज हुने भएकाले बाँकी भाषाको कामलाई अहिले स्थगित गरिएको बताए।

अभिनेता पल शाहले थारु भाषा पनि पछिल्लो समय करोड बढी भ्युज पुग्न लागेको र यसको भेग नै ठूलो रहेकाले आफू पनि थारु म्युजिक भिडियोमा खेल्न थालेको बताए। पछिल्लो समय थारु म्युजिक भिडियोमा समेत जमेका पल शाहले सुटिङका दौरान सबैलाई आफूलाई पल थारु भन्ने गरेको बताए। ‘थारु भाषाको ठूलो भेग रहेछ। त्यही भएर म पनि यो सँस्कृतिसँग आकर्षित भएको छु। पछिल्लो समय म पनि थारु सांगीतिक क्षेत्रको हिस्सा बनेको छु। त्यही भएर होला सबैले मलाई पल थारु भनेर सम्बोधन गर्छन्,’ उनले कार्यक्रममा भने।

अभिनेत्री पूजा शर्माले प्रमोशन गीत धेरै राम्रो बनेको बताइन्। उनले झन्डै दुई वर्षपछि फिल्म रिलिज हुन लागेको भन्दै भावुक बनेकी थिइन्। उनले चितवनमा थारु सँस्कृतिमा भिजेर गरिएको सुटिङको स्मरण गरेकी थिइन्।

त्यस्तै गायक तथा कम्पोजर नरेश जोगीले नेपाली फिल्ममा नयाँ चीज प्रयोग भएको बताए। उनले नेपाली फिल्मलाई थारु कलाकारहरुले पनि उतिकै माया गर्ने गरेको र हाम्रो तर्फबाट नेपाली फिल्मलाई प्रमोशन गीतमार्फत् सहयोग गरेको बताए। ‘यो भिडियोमा अभिनय गर्ने अधिकांश मोडलहरु थारु समुदायका चर्चित मोडलहरु हुन्। नेपाली फिल्मलाई सहयोग गर्ने हिसाबले सबैले निशुल्क काम गरिदिनुभएको छ। सम्झिनुस्, यो हाम्रो तर्फबाट नेपाली फिल्मलाई गिफ्ट हो,’ उनले भने। नरेश जोगी बोल्दै गर्दा फिल्म युनिटले जय थारु भन्दै हुटिङ गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *