कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुट्यो भने के हुन्छ? यस्ता छन् देउवाको विकल्प

सत्ता गठबन्धन एमसीसीकै कारण फुटको संघारमा पुगेको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा सत्ता गठबन्धन दलबीच असमझदारी भएपछि गठबन्धन टुटको संघारमा पुगेको हो। भोलि (बिहीबार) बस्ने सत्ता गठबन्धनको बैठकले सो निर्क्योल गर्ने बताइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउँदै गर्दा गठबन्धनका नेताहरुबीच एमसीसी टेबल गर्ने विषयमा करिब करिब सहमति भएको थियो। चार दिनअघि बालुवाटारमा भएको प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच एमसीसीलाई अगाडि बढाउने सहमति भएको थियो।

सभामुख अग्नि सापकोटाको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकमा पनि एमसीसीकै विषयमा बढी चर्चा भएको थियो। बैठकमा सभामुख सापकोटाले पनि एमसीसी टेबल गर्न ‘ग्रिन सिग्नल’ दिएका थिए। तर बुधबार बसेको माओवादीको संसदीय दलको बैठकपछि एकाएक गठबन्धन फुटको संघारमा पुगेको छ।

माओवादी संसदीय दलको बैठकले बरु सरकार छाड्ने तर एमसीसीको समर्थन नगर्ने भनी निर्णय गरेको थियो। माओवादीको प्रमुख सचेत देव गुरुङले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले एमसीसी अगाडि बढायो भने गठबन्धन तोडियो भन्‍ने हुन्छ।’

माओवादीले आधिकारिक निर्णय गरेपछि माधव नेपाल र जनता समाजवादी पार्टीलाई पनि निर्णय लिन सहज भएको छ। सुरुमा एमसीसी टेबल गर्न सहमत भएका नेकपा एस र जसपासमेत अहिले विरोधमा उत्रिएका छन्। नेकपा एस र जसपाका नेताहरुले एमसीसीलाई परिमार्जन गर्नुपर्ने र नेपालको सार्वभौमसत्तामा आँच पुग्ने कुनै योजनामा पनि आफूहरुको साथ नरहने बताएका छन्।

सत्ता गठबन्धन नै विभाजित भएपछि एमसीसीमा नेपाली कांग्रेस एक्लो बनेको छ। प्रधानमन्त्री देउवाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग केही दिनअघि गरेको फोन वार्तामा जसरी पनि एमसीसी पास गर्ने आश्वासन दिएका थिए। सोही आधारमा उनी एमसीसी टेबल गर्न अधिकतम प्रयास पनि गरेका थिए। अन्तिम समयमा सत्ता साझेदार दलको असहमति र एमसीसीविरुद्ध बुधबार संसद भवन अगाडि युद्धमैदान बनेपछि प्रधानमन्त्री देउवा पनि एमसीसी टेबल गर्न पछि हटेको कांग्रेस नेताहरुले बताएका छन्। तर गठबन्धन टुटाएर भए पनि एमसीसीलाई अगाडि बढाउने रणनीतिमा नेपाली कांग्रेस रहेको छ। ‘सत्ता गठबन्धन दलले एमसीसीमा साथ नदिए कांग्रेस गठबन्धन जोगाइरहने पक्षमा छैन,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने। उनले एमसीसी पास हुने र त्यसका लागि गठबन्धन तोड्नुपरे पनि पक्रियामा लैजाने बताए।

कांग्रेस नैतिक संकटमा पर्नुको प्रमुख कारण हो, एमसीसीलाई पार्टीले आफ्नो नीतिमै समावेश गरेर अगाडि बढ्नु। कांग्रेस यसअघि केन्द्रीय कमिटी, केन्द्रीय कार्यसम्पादन समितिबाट समेत एमसीसीलाई अनुमोदन गरेको छ। त्यसैले पनि कांग्रेस एमसीसीमा असफल हुन नचाहेको हो।

बिहीबार बस्ने सत्ता गठबन्धनको बैठकमा माओवादी र नेकपा एस सरकारबाट बाहिरिने निर्णय गरे भने देउवा नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ। त्यस्तो संकट आउन नदिन देउवा सचिवालयले तीव्र गृहकार्य गरिरहेको छ। देउवा निकट एक नेताका अनुसार संकट टार्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर लबिङमा रहेका छन्। त्यसका लागि एमालेले पुरानै शर्तहरु दोहोर्‍याएको बताइएको छ।

भोलिका दिनमा कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति जुटिहाले एमसीसी पक्रियामा त जान्छ नै, एमालेले अघि सारेको शर्तमा देउवाले ‘बोल्ड निर्णय’ गर्ने कांग्रेस नेताहरुको बुझाइ छ।

प्रधानमन्त्री देउवासँग दुई विकल्प

संविधानविद् भीमार्जुन आचार्यले सत्ता गठबन्धन टुटेको खण्डमा प्रधानमन्त्री देउवासँग दुई विकल्प रहने बताए। सरकार अल्पमतमा परेपछि देउवाले तत्कालै संसदबाट विश्वासको मत लिनुपर्ने उनले बताए। ‘भोलिका दिनमा सत्ता गठबन्धन टुट्यो र सरकार अल्पमतमा पर्‍यो भने प्रधानमन्त्रीले तत्कालै संसदबाट विश्वासको मत लिनुपर्छ,’ आचार्यले भने, ‘त्यसबेला नेकपा एमालेको साथ पाए सरकार टिकिरहने भयो।’

उनले प्रधानमन्त्रीले विश्वासको मत लिन नसके संसद विघटन हुने र देश ‘अर्ली इलेक्सन’मा जाने संकेत गरे। ‘यो सरकार अन्तिम प्रयोग हो। प्रधानमन्त्री देउवा एक्लैले पनि सरकारमा बस्न मिल्दैन। देउवाले विश्वासको मत नपाए संसद स्वतः विघटन हुने र देश अर्ली इलेक्सनमा जाने हो,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *