इतिहासमा पहिलोपटक थारु समुदायबाट एकैपटक ९ जना अधिकृतमा सिफारित

नेपालको लोक सेवा आयोगको इतिहासमा पहिलोपटक एकैपटक थारु समुदायबाट ९ जना शाखा अधिकृतमा सिफारिस हुन सफल भए। विज्ञापन नम्बर १६६९४-१६७०० र २०७६र७७ बाट छनोट भएका ४८५ शाखा अधिकृतमध्ये १० जना थारुहरु रहेका छन्।

जसमा बाँकेका मनोजकुमार चौधरी, सुनसरीका विष्णु चौधरी, बाराका प्रविण चौधरी, बाराकै तुलसी प्रसाद चौधरी, बर्दियाका भोजलाल थारु, बर्दयाकै धर्मबहादुर थारु, नवलपरासीका अर्जुन चौधरी, कैलालीका सरोज चौधरी र सिरहाका आशिष चौधरी रहेका छन।

एकैपटक यतिका धेरै संख्यामा थारु समुदायबाट शाखा अधिकृत सिफारिस हुनु निकै खुसीको कुरा हो। यद्यपि, यो संख्या जनसङ्ख्याको आधारमा हेर्ने हो भने अत्यन्त न्यून हो। २०६८ सालको जनसङ्ख्या तथ्याङ्कअनुसार नेपालमा थारु समुदायको जनसङ्ख्या करिब ६.६ प्रतिशत छ। तर, यहाँ खुला तथा आरक्षणबाट कूल २.०६ प्रतिशतमात्र थारु समुदायबाट सिफारिस भएको देखिन्छ। म एउटा कुरा पुनः दोहोर्याबउन चाहन्छु कि थारु समुदायबाट यतिका धेरै संख्यामा शाखा अधिकृत सिफारिस भएको यो नै सम्भवतः पहिलो पटक हो।

७.१२ प्रतिशत जनसङ्ख्या रहेक मगर समुदायबाट कूल २२ जना शाखा अधिकृतमा सिफारिस भए भने ५.१८ प्रतिसत जनसङ्ख्या रहेको तामाङ समुदायबाट कूल १५ जना शाखा अधिकृतमा सिफारिस भएका छन्। लोक सेवा के हो? यो कसरी तयारी गर्ने, यसका भ्रम र यथार्थ के हुन्? यसै विषयमा लोकसेवामा नाम निकाल्न सफल बाँकेका मनोज चौधरीले आफ्नो अनुभव थारुवानसँग बाँडेका छन्।

निजामती सेवामा मेरो यात्रा

निजामती सेवाको परिचय
नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकणमा ‘निजामती सेवाको पद’ भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पदबाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनुपर्छ भनी उल्लेख गरिएको छ। साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ। ती सेवाहरुअन्तर्गत १० वटा सेवाहरु रहेका छन्।

सामान्य भाषामा भन्नु पर्दा निजामती सेवा भन्नले कुनै पनि देशको एक प्रमुख सरकारी सेवा हो। जसअन्तर्गत विभिन्न सेवा समूहहरु पनि हुन सक्छन्। उदाहरणका लागि प्रशासन, परराष्ट्र, लेखापरीक्षण, न्याय आदि। निजामति सेवालाई स्थायी सरकार पनि भनिन्छ। राजनीतिक सरकार समय समयमा परिवर्तन भए पनि निजामती सेवा स्थायीरुपमा रहिरहने हुन्छ। यसको प्रमुख उद्देश्य राजनीतिकरुपमा गठन हुने सरकारलाई सहयोग गर्ने, सरकारको नीति तथा कार्यक्रमलाई कूशल्तापूर्वक कार्यनवयन गर्नु हो।

शैक्षिक योग्यता
मेरो शैक्षिक योग्यता स्तातकोत्तरसम्म रहेको छ। भौतिक विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन मैले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा पूरा गरे भने स्नातकोत्तरको अध्ययन पाटन संयुक्त क्यामपस ललितपुरबाट पूरा गरे। निजामती सेवाअन्तर्गतको शाखा अधिकृत पदमा उम्मेदवार हुन स्नातक तहसम्मको योग्यता भए पुग्छ। नायब सुब्बाको लागि प्रविणता प्रमाणपत्र वा प्लस टुसम्मको योग्यता चाहिन्छ भने खरिदार पदमा उम्मेदवार हुन एसएलसीसम्मको योग्यता भए पुग्छ।

निजामती सेवामा प्रवेश
मेरो निजामती सेवाको यात्रा २०७४ साल चैत ६ गतेबाट भएको हो। निजामती सेवाको पहिलो खुडकिलोको रुपमा सेवा प्रवेश गर्दा नेपाल प्रशासन सेवाको लेखा समूहअन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार वा सो सरहको सहलेखापाल पदबाट भएको हो। त्यतिबेला खुलाबाट २ नम्बरमा म सिफारिस भएको थिएँ र कोष तथा लेखा नियन्त्रक कार्यालय इलामबाट नियुक्ति प्राप्त गरी लोकसेवा आयोग मेची अञ्चल कार्यालय इलाममा मेरो पदस्थापन भएको थियो।

एक वर्ष इलाम बसाइपश्चात कर्मचारी समायोजन भयो र कर्मचारी समायोजनमा मेरो समायोजन लुम्बिनी प्रदेशमा भई बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जमा पदस्थापन भयो। कर्मचारी समायोजनको कारण २०७५ सालमा शाखा अधिकृतको विज्ञापन भएन। २०७६ सालमा करिब पाँच सयको संख्यामा अप्रविधिक अधिकृतहरुको विज्ञापन भयो र त्यसैको अन्तिम नतिजा २०७८ साल माघ १६ गते प्रकाशन भयो जसमा मलगायत तपशिल अनुसारको थारु समुदायबाट सिफारिस भइयो।

लोकसेवा आयोगको तयारी कसरी गर्ने?
लोकसेवा आयोग तयारी गर्ने खास कुनै निश्चित नियम छजस्तो मलाई लाग्दैन। नेपालको परीक्षा प्रणालीलाई हेर्ने हो भने सैद्धान्तिक पक्षलाई नै बढी प्रथमिकता दिएको पाइन्छ। यसको लागि निश्चित समय निकालेर ब्यवस्थितरुपमा नियमित अध्ययन गर्न सकेमा लोकसेवा आयोगमा नाम निकाल्न खासै गाह्रो छजस्तो मलाई लाग्दैन। यसको लागि धैर गर्नसक्ने क्षमता पनि आवश्यक हुन्छ। लोकसेवा आयोगको परीक्षा खासगरी कम्पिटिटिभ भएको कारण पासमात्र गरेर पुग्दैन।

अरुलाई जित्नैपर्ने हुन्छ। त्यसैले एकै पटकमा वा दुई तीन पटकसम्म पनि नाम ननिस्किन सक्छ तर धैर्य धारण गरी आफ्नो पढाईलाइ निरनतर्ता दिनु नितान्त आवश्यक हुन्छ। पढाईलाइ ब्यवस्थित गर्न तथा थप मोटिभेसनका लागि तयारी कक्षाहरु समेत लिन सकिन्छ। तर, तयारी कक्षामा पढेरमात्रै पुग्दैन। घरमा नियमित अध्ययन गर्नु नै नाम निकाल्ने सूत्र हो।

निजामती सेवाको अनुभव
निजामती सेवामा मेरो छोटो अनुभव रहेको छ। यो छोटो अनुभवलाई म सकारात्मक र नकारात्मक पक्षमा बर्गीकरण गरी उल्लेख गर्न मनासिव देख्छु।
सकारात्क अनुभव
– स्थायी सरकारको रुपमा रहने भएकाले समाजमा सम्मान प्राप्त हुने जागिर हो।
– एक दुई दिन विरामी हुँदा वा अन्य घरायसी काम पर्दासमेत सजिलै विदा पाउन सकिने।
– सरकारी कामको लागि बाहिर जाँदा दैनिक भ्रमण भत्ता तथा कार्यालय समयको अतिरिक्त काम गर्दा अतिरिक्त भत्ता तथा सेवा सुविधाहरु प्राप्त हुने।
– कार्यालयअनुसार बस्नको लागि क्वाटरसमेत पाउने तर सबै कार्यालयमा भने नपाइने।
– बढुवा हुनको लागि आन्तरिक तथा खुला प्रतिस्पर्धाको बाटो सधै खुला रहने।
– निश्चित समयमा बढुवासमेत हुने ब्यवस्था रहेको।
– सेवाबाट नै वैदेशिक अध्ययन तथा भ्रमणको सुविधा रहेको।
– विशेष अवस्थामा तलबी तथा बेतलबी विदाको सुविधा समेत पाइने।
– आवकास पश्चात पेन्सन पाइने ब्यवस्था रहेको।

नकारात्कम अनुभव
– निजामती सेवा चाकडी प्रथाको कारण सरुवा, बढुवा अनुमानयोग्य तथा ब्यावस्थित हुन नसकेको।
– सेवाभित्र भ्रष्टाचार तथा अनियमित्तो ब्याप्त रहेको।
– कर्मचारीको संख्या आवश्यक ठाँउमा कमी रहनु तथा सुगम ठाँउमा बढी कर्मचारी हुनु आदि।
– महँगीअनुसार तलब न्यून रहेको।
– निजामती सेवालाई कुन दिशामा लाने स्पष्ट मार्गचित्र नभएको।

लोकसेवा सम्बन्धमा भ्रम र याथार्थ
लोकसेवा आयोगको सम्बन्धमा धेरैको एउटा भ्रम रहेको पाइन्छ, त्यो के हो भने सोर्स फोर्सको कुरा। हुनतः देशको सबै क्षेत्रमा यस्तै अवस्था रहेका कारण यस्तो अनुमान लगाउनु स्वभाविक पनि होला। तर, मेरो अनुभवले त्यसो भन्दैन। मेरो एक वर्ष लोकसेवा आयोग इलाम कार्यालयको अनुभव तथा निजामती सेवाको शाखा अधिकृतसम्मको यात्राले के भन्छ भने लोकसेवामा आयोगमा समेत सोर्सफोर्स लाग्छ भन्ने कुरा भ्रममात्र हो। यदि कसैले राम्रोसँग तयारी गरेको छ र परीक्षा पनि राम्रो गरेको छ भने कसैसँग डराउनु पर्दैन। लोकसेवा आयोग निष्पक्ष हुन्छ भन्ने कुरामा ढुक्क हुँदा फरक पर्दैन।

अन्त्यमा
निजामती सेवाको तयारी गर्ने सोच बनाएर बसिरहनुभएका भाइ-बहिनीहरु तथा तयारी गरिरहनु-भएका सबै उम्मेद्वारहरुमा सफलताको शुभकामन छ। निजामती सेवामा हामी स्वागत गर्नको लागि सधैं आतुर नै छौं। आफ्नो तयारीलाई मजबुट बनाउनुहोस् र यस सम्बन्धमा अन्य कुनै जिज्ञासा रहेमा मलाई इमेलमार्फत् mnj.thru@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *