थारु गीत ‘मन लागेन’ले पाएको ऐतिहासिक सफलता

गीत, संगीत, कला, साहित्यजस्ता विषय वस्तुको कुनै परिधि र सीमा हुँदैन। यी विषयवस्तुलाई जात, धर्म, राष्ट्रियताजस्ता तत्वहरुले छेक्दैन। हाम्रो मुलुकमा मात्र हेर्ने हो भने पनि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गीत संगीतहरुले बेला बेलामा बजार ओगटेको देखिन्छ। कतिपय गीतहरुको शब्दको अर्थ र भाव नबुझे पनि शब्द गुनगुनाउने परम्परा देखिन्छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो भन्नेमा दुई मत छैन। यही बहुलता नै मुलुकको सौन्दर्यको गहना हो भन्ने विषय पनि कसैको विमति रहँदैन। त्यसमा पनि कलाकर्मी भएको नाताले साँस्कृतिक विविधता हाम्रो मुलुकको सौन्दर्यता हो भन्ने मेरो दृढ बुझाइ छ।

गीत संगीतको चर्चाको सम्बन्धमा थारु गीत संगीतको चर्चा गर्नु मेरो प्रमुख दायित्व पनि रहेको छ। राष्ट्रिय थारु कलाकार मञ्चको संस्थापक अध्यक्षको हैसियतले थारु भषाका गीत संगीतहरुको चर्चा गर्नुमात्र नभएर संरक्षण र प्रवर्द्धन गर्नुसमेत मेरो दायित्व हो। हरेक जातजाति र धर्मका आ-आफ्नै संस्कृति र गीत संगीत रहेका छन्। यस्ता परम्परागत साहित्य, गीत, संगीतहरुको लामो र बेग्लै इतिहास रहेको छ।

थारु गीत,संगीत र कला क्षेत्रको पनि लामो र गर्भिलो इतिहास रहिआएको छ। पछिल्लो समयमा थारु गीत, संगीत व्यवस्थित हुँदै व्यवसायिकताको बाटोमा अगाडि बढिरहेको छ। कुनै समय भोजपुरी गीत संगीतको नेपालमा प्रभाव बढाउँदै गरेको अवस्थामा थारु संस्कृतिमा समेत प्रभाव देखिन थालेको थियो तर पछिल्लो समय थारु कलाकारहरुको मिहनेत र आम दर्शकहरुको मायाको प्रभावले भोजपुरी संगीतलाई नेपाली बजारबाट ओझेल पार्दै उक्त स्थान थारु संगीतले लिइरहेको प्रष्ट देख्न सकिन्छ।

थारु संगीतको विकास र व्यवसायिकताको सफलताको कोशेढुंगाको रुपमा स्थापित भएको गीतको नाम हो ‘मन लगेना तुहार विन’ आरकेसी डिजिटल स्टुडियोको च्यानलबाट युट्युबमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले करोड दर्शन, श्रोता प्राप्त गर्नु एउटा ऐतिहासिक विषय हो। नेपालमा थारु समुदायको जनसंख्या १७ लाख हाराहारी रहेको अवस्थामा उक्त जनसंख्या भन्दा धेरै ठूलो संख्यामा दर्शक, श्रोता प्राप्त गर्नुले गीत संगीतको कुनै सीमा नरहेको कुरालाई प्रष्ट पार्छ। आम दर्शकहरुको मायाले हामी थारु कलाकर्मीहरुलाई आगामी दिन थप उत्कृष्ट सिर्जना पस्किन उत्साहित गरेको छ।

एकाध सफलताहरुले मात्र थारु गीत संगीत स्थापित हुने वा भएको मान्ने अवस्था भने होइन। यो ऐतिहासिक सफलताले आगामी दिनहरुमा थप व्यवस्थित र समाज उपयोगी सिर्जनाहरु ल्याउन हौसला भने पक्कै प्रदान गरेको छ। यो सफलताको लागि रचनाकार सुवेस कठरिय, संगीतकार गणेश चौधरी, गायक गायिका आरके थारु र अन्नु चौधरी, मोडल नरेश चौधरी, मन्सा रावल, निर्देशक, सुरज देव कुशुम्या, छायाकन-सम्पादन, रामु चौधरीलगायत प्रत्यक्ष अप्रत्यक्षरुपमा संलग्न सम्पूर्ण मित्रहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।

गीत, संगीत भनेको भाषिक, जातीय र साँस्कृतिक पहिचानको समेत आधार भएको हुनाले जातीय पहिचानको सन्दर्भमा समेत ‘मन लागने तुहार विन’ गीतले महत्वपूर्ण योगदान गरेको छ। कलाकर्मीहरुको यस प्रकारको प्रयासलाई राज्यको उपल्लो निकायमा पहुँच बनाएका थारु समुदायका प्रतिनिधिहरुका साथै संस्कृति संरक्षणकर्ताहरुले समेत आ-आफ्नो ठाउँबाट आवस्यक भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। अन्त्यमा थारु गीत संगीतलाई माया गर्नुहुने सम्पूर्ण थार र गैर थारु श्रोता दर्शकहरुप्रति हृदयदेखि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत थप माया, ममता र हौसलाको अपेक्षा राख्दछु।

लेखक राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *