सुनसरीका थारु : इतिहास र वर्तमान

पृष्ठभूमी:

प्रदेशनं.१ अन्तरगत सुनसरी जिल्ला पर्दछ। पश्चिममा सप्तरी र उदयपुर, उतरमा धनकुटा, पूर्वमा मोरंग जिल्ला र दक्षिणमा भारतको बिहार राज्य संग सिमाना जोडिएको छ। प्राकृतिक रुपमा पश्चिममा कोशी नदी, उतरमा चुरे पहाडको घना जंगल, पूर्वमा बुढी नदीले घेरिएको भुभाग सुनसरी जिल्ला हो।

सुनसरी, बुढी, सेहरा, दतकिच्चा, धनउसना, टेङरा खोला सिचाईबाट सिंचित छ। कोशी नदीबाट चतरा देखि कृतिम रुपमा चतरा नहर बनाएर सिंचाइको सुविधा गराएको छ। बर्षा याममा यो जिल्लामा बाढी ग्रस्त जिल्ला हो। कोशीमा बाढी आउदा पूर्वी तटबन्ध भत्किने संभावना भएकोले जोखिम पूर्ण छ। थारु समुदाय कृषी पेसामा आबद्ध छन्।

विभिन्न पौराणिक र पुरातात्विक महत्व बोकेको धार्मिक स्थलहरुमा रामधुनी, बराहाक्षेत्र, बिष्णुपादुका, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, कचना महादेव मुख्य हुन। कोसीटप्पुमा अरना आरक्षण क्षेत्र हो भने बर्जुदह बिसाल सिमसार क्षेत्र हो। चुरे पहाड देखि तल सम्म घना चारकोसे जंगल छ। बिभिन्न प्रकारका जंगली जनावरहरु पाइन्छन्। साधारण शिक्षामा स्नातकोतर कलेज धरान, इटहरी र इनरुवामा छ भन्ने चिकित्सा शास्त्रको लागि बी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र इनजिनियरिङको लागि पुर्वान्चल इनजिनियरिङ्ग कलेज धरानमा छ।

सुनसरीको पुरानो शहर धरान हो भने इटहरी, झुमका, दुहवी, इनरुवा शहर बजारको रुपमा बिकसित हुंदै छन। पुर्वपशचिम राजमार्ग, कोशी राजमार्ग, चुरेभांवर मार्गले जोडिएको जिल्ला भएकोले यातायातको सुविधा छ। कृषी योग्य जमिन, कलकारखाना छन र घर, सडक निर्माणकार्य बढदै गएकोले ज्यालादारी कृषी मजदुर, दैनिक मजदुरीमा निर्भर छन्। जनगणना २०६८ बमोजिम सुनसरी जिल्लाको जनसंख्या ७,६३,४८७ छ। बि.सं. २०२८ सालमा सुनसरी जिल्लामा थारु जातिको बसोवास ४२ प्रतिसत थियो भने २०६८ को जनगणनामा ११.६ प्रतिसतमा झरेको छ।

थारु जाति र अन्य जातिको बसोबास:
थारु जातिको पुरानो बसोवास सुनसरीको श्रीपुर, हरिपुर, बसमतिया, बबिया, जिरगवा, दैंता, हकपरा, चोरघटिया, अमडुवा, बेलहा हो। बिबिध कारणले थारु समुदाय उतरी जंगल तिर बसोवास सर्दै गएको हो । अहिले सुनसरीको दक्षिण इलाकामा देवानगन्ज, बर्जु, भोक्राहा, कोशी, इनरुवा यादव, कोइरी र मुसलमानको बहुल्यता बसोबास छ भने बिचको भाग रामधुनी, दुहवी, इटहरी नगरपालिका, गढी र बर्जु गापामा थारु समुदायको र उतरमा धरान, बराहाक्षेत्र इटहरीमा बाहुन, क्षेत्री, राई, लिम्बु, तामाङ, नेवार समुदायको बसोबास छ। शहर बजारमा प्रमुख रुपमा साहु, हलुवाई, नेवार समुदायको ब्यापार ब्यबसाय छन।

इटहरी उपमहानगरपालिकामा रहेका थारु समुदायको जनजीवन :
इटहरी उपमहानगरपालिका साविक हांसपोसा, पकली, एकम्बा, खनार र इटहरी मिलाएर बनेको हो र संसदिय निर्वाचन क्षेत्र २ र ३ का केहि भाग यस उपमहानगरपालिका भित्र पर्दछन। यहां पुरानो साविका बासिन्दा थारु समुदाय हुन। सदियौं देखि बसोबास गरिरहेका थारु समुदायमा मोरङिया थारु, खडगपुरिया थारु भनिने खरेर(खडर), रौतार, मझियौर, हलदलिया, राजधामी, रजघरिया, खवास, मझियान, चौधरान इत्यादी बिभिन्न थाकका छन। कोशी पश्चिम सप्तरी, सिराहा, उदयपुरबाट सुनसरी पसेका थारुलाई सप्तरिया थारु भनिन्छ र रौतहट इलाकाबाट आइ बसोबास गरेकालाई रौतार थारु भनिन्छ। कठरिया थानका थारु समुदायलाई मोरंगिया थारु र खडगपुरबाट आएकालाई खडपुरिया (खरेर) थारु भन्दछन। इटहरी उपमहानगरपालिका भित्र यीनै थारु समुदायको बसोबास छन्।

इटहरीका थारु समुदायको मुख्य पेशा खेतीपाती कृषी नै हो । परंपरागत कृषी पेशा र मजदुरी गरेर जीवीका निर्वाह गरेका छन। थारु समुदायमा बिकाशको गतिसंगै आधुनिकरण पनि भित्रिएको छ। पहिला काठ, बांस, माटोको प्रयोग गरि खरले छाएको घर बनाएर बस्ने गरेकोमा अहिले कंक्रिट, इटा, सिमेन्ट र टिनको छानो भएको घर बनाउने गरेका छन। पहिला घरमै ढिकिमा धान कुटेर चामल, चिउरा तयार पार्ने गरेकोमा अहिले मिलले प्रतिस्तापन गरेको छ। ओखल, मुसरा, ढिकि, जांतो, ठेकरा, लरनाठी आदीको उपयोग नभएकोले लोप हुंदै गएको छ। खेतीपातीका लागि चाहिने सामान औजारहरु हल, गाडा, गोरु, गाइबस्तुलाई पावर टेलर, ट्रयाकटरले बिस्थापित गरिरहेको छ भने डेरीफर्मको दुधले गाईबस्तु पालनपोषण घटेको छ। थारु समुदायकाम ब्यक्तिहरुले पकलिमा रामजानकी ठकुरबाडी मठ, अमझोखीमा रामजानकी ठाकुरबाडी मठ, एकम्बामा मुढाकुटी मठ, इटहरिमा कविर मठहरु स्थापना गरेको हो। बिभिन्न तालतलैया, वनजंगलको संरक्षण पनि गरका थिए।

थारु समुदायको आर्थिक अवस्था दिनुदिन तल खसकिदै गएको छ। आधुनिकरण संगै हिडन नसकेको र अशिक्षा, सोझासाझा भएकाले परंपरागत जीवन पध्दतिमा परिवर्तन गर्न नसकेकोले जमिनदारहरु मजदुरमा परिणत भएका छन। अहिले केहीले कुखुरापालन, माछापालन, तरकारी खेती, च्याउखेती, साना ब्यापार ब्यबसायमा लागेका छन।

खानपानमा सामान्य नेपली खाना नै हो तर पनि मासु र रक्सीको सेवन अत्यधिक नै छ। कमाउने खाने सामान्य जिवन यापन गर्ने बिचार भएकोले बचत गर्ने सोंच र ब्यबहार कमि भएकोले गर्जो टार्न ऋण लिएर वा जग्गा बेचेर बिबाह वा समाजिक ब्यबहार चलाउने गरेका छन। चर्को ऋण ब्याज र जग्गा फिर्ता पासले धेरैका जग्गा चलाक बर्गले हडपेका छन। थारु समुदायको आर्थिक अवस्था जरजर भए पनि समाजिक ब्यबहारमा फजुल खर्च गरि पुर्खाकै मानसान कायम राखने, तडकभडक देखाउने गरका छन। स्वभावमा अहमपना, अकडपना र जिदि स्वभाव र बोले पछि नहटने र ठुलो ठन्ने गरेकाले चलाक बर्गले यहि कमजोरिलाई उपयोग गरेर फुर्काउने, उकासने, लडाउने, भिडाउने र फुट गराराउने र आफ्नो स्वार्थ पुरा गर्ने गरेका पनि छन।

इटहरीको बिकासमा थारु समुदायको महत्वपुर्ण भुमिका छ। इटहरी नगरपालिकाको भवन रहेको ठाउ र पोखरी मानपुर चौधरी र रामजी चौधरीले दान दिएको हो। उदोग बाणिज्य संघको कार्यालय भवन बनाउन टेकनारायण चौधरीले दान दिएको हो। टेलिकम नजिक आतवारे हटियाका लागि नगरपालिकालाई घर्म नाराण चौधरी, धनुषधारी चौधरीले दान दिएको हो र पछी सो जग्गा इटहरीनगरपालिकाले बिक्रि गरेको हो। इटहरी अस्पतालको लागि हेमनारायण चौधरीको परिवारजनले दान दिएका हुन। विभिन्न कविर मठहरु थारु समुदायले नै स्थापना गरेका हुन र अहिले कति मासि सके केही बांकि पनि छन। कविर मठमा कविर माध्यमिक स्कुल संचालनमा छ।

इटहरी उपमहानगरपालिका भित्र बसोबास गर्ने थारु समुदायको जनजिवन संघर्शपुर्ण र चुनौतिले भरिएको छ। आधुनिकरण संगै हातेमालो गर्दै अगाडी बढनु पररको छ भने आपना मौलिक पहिचान कायम राखन पनि उतिकै महत्व छ। थारु समुदायका परंपरागत रुपमा पुजाआजा गर्दै आएका ग्रामथानहरु अतिक्रमणको सिकारमा छन भने थारु समुदाय संरक्षण गर्न संघर्षरत छन। थारु गाउँ टोल, नदीनालाको नाम नेपालीकरण हुंदै लोप हुने अवस्थामा छ। हरगडाटोल, दरोगाटोल, घोघा नदी परिवर्तन गरि हलगडा, पशुपति, बुढीगंगा भएका छन्।

थारु महिलाले सेतो अचरा र खडकी र सेतो वरथी (साडी), चोलो लगाउने मौलिक पहिरन हो। पुरुषहरुले लङौटी, धोती, भोटो जामा, पगडी वा टोपी लगाउने मौलिक पहिरन हो। थारु महिलाले मौलिक पहिरणलाइ निरंतरता दिएको भए पनि नयां युवतीहरुमा आधुनिक पहिरनको प्रभाव बढेको छ। युवा थारु पुरुषहरुमा सर्ट पेन्टको चलन बढदो छ। धोती र कमिज समाजिक सांस्कृतिक ब्यबहारमा मात्रै लगाउने गरेको छ।

खनार :
खनार गाउको नामा करण बिजयपुरका राजा खङखडको नाम बाट रहन गएको हो। राजा खङखडको प्रशासनिक अडा मालगुजारी कार्यालय रहेकोले खङखड माल अड्डा को ठाउमा खङखड मल हुदै खङहार, खन्हार अपभ्रमस भएर लिखित रुपमा सरल खनार रहन गयो। स्थानिय थारु समुदायका बुढापाकाहरु अहिले पनि खङहार (खङार) नै उच्चारण गर्दछन। राजा खङखडका भानिज बृजभान गुरु गोरखनाथका चेला थिए र धेरै नै अदभुत शक्ति भएका मान्दथिए। यी नै बृजभानले कटकपुर (कर्नाटक) राजा कि छोरी हेमतीलाई मोरङ लयाएका कथा छ र राजा खङखडले भानिजको बिरतालाई कदर गरेर बिजयपुर राज्यका राजा बनाऐका थिए। केहि बर्ष पहिला सम्म खङखड दरवारको बग्नावशेष छदै थियो अहिले अतिक्रमणले लोप भएको छ। तथापी लोहासुर देवतालाई त्यहां स्थानियले पुजा आजा गर्दै आएको छ।

थारुको उत्पति र ऐतिहासिक थातथलो :
थारु जातिको उत्पतिबारेमा बिभिन्न बिव्दानहरु फरक मतहरु छन तर थारु जाति नेपालको प्राचिन आदिवासी हो भन्नेकुरामा दुई मत छैन। नेपालको तराई र भित्रि मधेशमा प्रथम बसोबास गर्ने थारु जाति भएकोले यीनीहरुलाई तराई र भित्रि मधेसको प्रथम नागरिकको दर्जा पाउने अधिकार पनि हो।

थारु जातिको उत्पतिबारे यस समुदायको आफनै किवदन्ति र बिस्वास छ। यहांका थारु आफुलाई कोचिला वंशका थारु मान्दछन। कोचिला वंश र थारु जात कसरी रहन गएको हो भन्ने बारेमा किवदन्ति यस प्रकारको छ। परमपिता शिव जी कि ध्यानमा लिन रहने कि चराचर जगतको हालखवर बुझन डुलिरहने गरेकाले घरमा एकलै बसेकी माता पार्वतीले कपडाले बनाएका मानिस आकारका कनिया पुतरी (थारु महिलाहरुले बच्चाहरु खेल्नका लागि कपडाले बनाएको महिला कनिया र पुरुष पुतरी मनुष्य आकारको खेलौना) संग खेलेर मनभुलाउने गर्दथिइन। यी कनिया पुरती खेलौना संग माता पार्वतिको बिशेष माया र लगाव भएकोले जहिले पनि कोंचा (थारु महलाले खडकी वा वरथी (साडी) बांधन बिशेष प्रकारले बनाऐको गांठो) मा राखने गरेकी थिइन। माता पार्वती मनमनै कल्पना गर्थिन यदी यी खेलौनाहरु जिवित मनुष्य भएको भए म बोलन पाउने थिंए र धेरै आनन्द आउने थियो। शिव जी ले पनि पार्वतिको मनको भाव बुझेको थियो। एक दिनको कुरा हो एकदिन घुमफिर गरेर शिवजी समय भन्दा अगाडी अचानक घर आईपुगेछन र हतारहतार खाना पस्कन भने। खेलमा मग्न पार्वतीले अप्रत्यासित रुपमा पतिदेव पुगेकोले हतनपत खेलौनाहरुलाई कोंचा राखिन र पतिदेव शिव जी लाई भात पस्किदा थालमा कनिया पुतरी खेलौनाहरु खसन गए। भगवान शिव जी ले माता पार्वतीको यी कनिया पुतरी प्रतिको माया र लगावको भावनालाई बुझेर यीनीहरुलाई अमृत खुवाएर जीवीत पार्न आज्ञा गरेकाले माता पार्वतीले पनि अमृत खुवाएर प्राण भरि दिएका हो। यसरी शिब जी को आशिर्वादले कोंचा बाट खसेकोले कोचिला बंश र थारीमा (थाललाई थारु भाषामा थारी भन्छ) खसेकाले थारु जात भए भन्ने किवदन्ति छ।

थारु जातिको थाकथलो, उत्पतिको बारेमा बिभिन्न बिव्दानहरुको मतमतान्तर छ। सेनराजाहरु भन्दा मोरङको सिमाना गंगा किनार सम्म थयो। सेनराजाहरुको शासनकालमा कोशी पुर्व टिष्टा सम्मको तराई क्षेत्र मोरङ नामले चिनिन्थयो। सुगौलिको सन्धि पछि नेपालको सिमाना पुर्व मेचि नदी कायम भए पछि कोसी र मेची नदीको तराइको भुभाग मोरङ भयो। २०१९ सालमा नेपाललाई ७५ जिल्लामा राजनितिक बिभाजन पछि बुढी खोला पुर्व मोरङ र रतुवा खोला पुर्व मेची सम्म झापा जिल्ला निर्माण भयो।

मोरङमा बसोवास गर्ने थारुलाई स्थान बिशेषले मोरङिया थारु भने पनि कोचिला वंशको बिभिन्न थाक, थरका बाहुल्यता छ। कोशी पश्चिम सप्तरी, उदयपुर, सिराहाका थारु समुदाय पनि बसोवास छ र उनिहरुलाई सप्तरिया थारु भन्दछन। मोरङिया थारु (१) कठरिया (२) मानगढिया (३) सरदिया (४) धपडिया यी ४ समुहमा समाजिक प्रशासन चलाएको पाए पनि एकै प्रकारको ब्यबहार थियो । मोरङिया थारु समुदाय मुल थलो महाभारत पर्वतको कांखको कोसी नदीको समथर भुभाग नै हो । सुनसरीमा सप्तरिया थारु बिभिन्न थाकहरुको बसोवास छ र मुल थलो सप्तरी मान्दछन। सुनसरीमा बसोबास गरेका थारु समुदायको थाक, थर तपसिल बमोजिम रहेको छ।

१.अकेला २.अगवानबखरिया ३.अमरिया ४.अरियारबरियार ५.ओरज्ञान(वोरग्यान) ६.कठैत, ७.कनफटा ८.कानगोय ९.कमलमाईझ १०.कुलाइखाँ ११.केवाइर १२.खवास १३.खडगपुरिया लेखी १४.खरैर १५.खाँ १६.खाँखमानकरणीमाईझ १७.पांचभैया १८.खोजवार १९.खोनमा २०.गछदार २१.गणेशमाइझ २२.गजराजी २३.गोजेवार २४.घोडफेका २५.चमरुबुधाइ, २६.चौधरी २७.चौधरानइसर २८.चौधरान २९.जसराज ३०.जागेभोकाइर ३१.जसमतफकिरखाँ ३२.जेवार ३३.टिकनभोकाइर ३४.तवदार ३५.तिरहुतिया ३६.थन्दार ३७.दलसिहधामी ३८.धोतराज ३९.दास ४०.देवान ४१.धामी ४२.पनहैर ४३.परिहत ४४.पेश्कार ४५.फटराफागु ४६.फनेत ४७.फौदार(फौजदार) ४८.बसबिटिया ४९.बिश्वास ५०.भगत ५१.भतगमिया ५२.भीमरैता ५३.भंडारी ५४.मछराबदल ५५.मडर ५६.माझी ५७.माइझ ५८.मझियौर ५९.मर्थीमझियान ६०.मिर्धा ६१.मृदाहा ६२.मौगियाहीआशा ६३.मंडर ६४.रजघरिया, ६५.राजधामी ६६.रामदेवधामी ६७.रौतार ६८.लगुर्वा ६९.लालमोहरिया ७०.लोहबरिया ७१.शरण ७२.सगतोडा ७३.सरदार ७४.सिंह ७५.सुथियार(सुतिहार) ७६.हजारी ७७.हलदलिया ७८.पटवारी

थारु समुदायको धार्मिक र अध्यात्मिक संसार :
थारु समुदायको जन्म देखि मृत्यु सम्म गरिने समाजिक संस्कार परम्परागत सनातनी हिन्दु संस्कारमा धारित छ। घरको कुल देवतामा पांचदेवी मुख्य हो र कुल अनुसार रुपनीभडारनी (लक्षमी), बघेसरी (दुर्गादेवी), काली (गहिल), बिषहरा (नाग), बामत (त्रिपुरदेवी), देवीहरु रहन्छ। आंगनमा डिहवारनी (बास्तुदेव), लक्ष्मी र बाहिर सिंहव्दार (सिदुवार)को मुल ढोका निर हनुमान ठाकुर, भैरव, आशादेवी रहन्छ र गोठमा या सिदुवारमा गैंया (गयामा पितृलाई तर्पण गरि फर्किदा संगै आएको पितृदेव), रहन्छ। गाउँ बाहिर ग्रामथानमा राजधामी बिछु धामी र धमियेन, हथीबन्दा (गणेश), बघेसरीदेवी (अष्टभुजी), भडारनी (लक्ष्मी), राजाजी धनपाल, रनपाल, तुमडी मुखिया (किरातेश्वर), हनुमान ठाकुर, अधोरीनाथ (गोरखनाथ) र डिहवारनी हुनछन। गाँउ बाहिर संसारीदेवी (गहिल, बामत, बघेसरी), मलङ (सदाशिव), छौंडादानो (काल भैरब) आदी पुजा गर्ने गरेको छ। भित्र घरमा कोन्टिया बैष्णव (बिष्णु लक्ष्मी) लाइ पान प्रसाद ( केराको पातमा चामल, केरा, लड्डु र दहि, च्युरा, चिनी, खिर सोहारी भाङभुजा)ले पुजा गरिन्छ। कुलपुजामा कुलधामीको निर्देशन बमोजिम वा परिवारको जानेका जेठोबाठोले पुजा गर्दछन ।

इश्वरवाद र पुनर्जीवनमा बिस्वास गर्दछन। जसले जस्तो गर्छ उसले त्यो भोगनु पर्छ भने बिश्वास राखद छ। यसले थारु समुदायलाई सत्य मार्ग, इमानदार, मेहनती र झुठो नबोलने, सादा जीवन बिताउन प्रेरणा दिन्छ भने दया, करुणा, त्याग, मित्रता, झगडा नगर्ने शान्तिका साथ बस्ने स्वभावले सोझा छन्।

जल, थल, रुख, घाम, पानी, मेघ(आकाश) लाई देव मानेर पुजा गर्दछन। देवी देवताका वाहन घोडा, हाथी, बाघ भएको हुनाले प्रतिकको रुपमा माटोको हाती, घोडा वा फुलको हाती घोडा चडाउने चलन छ। मनोकामना पुरा गर्न देवी देवता संग भाकल गर्ने, उपवास बस्ने गर्द छन।

बिशेष गरि बैष्णव रामनामी दास वा कविर पंथ अंगालेर बैष्णव बनी भक्तिभावमा अध्यात्मिक जिवन बिताउने पनि गरेका छन। सनातन धार्मिक सतसंग, भक्ति भजन, ध्यान संकिर्तन अध्यात्मिक रुपमा सतमार्गमा हिडन उत्प्रेरण गररका छन। यसका साथै सम्प्रदाय बमोजिम रामजानकी गुठी र कविर गुठी स्थापना पनि गरेर समाजलाई सहि मार्गमा डोर्याउने गरेको पाईन्छ।

धामी परंपरामा देवी कामरुप, देवी दुर्गा, देवी कालि, देवी लक्ष्मी, गरु गोरखनाथ, इश्वर महादेव, नारायण बिष्णु, नरसींह, बनसखणडी, नदी गंगा, जल, थल, आकाश, हनुमान, भैरब, किरातेशवर, आदीको स्तुती र बोध मन्त्रबाट साथै भाकल गरि अध्यात्मिक काम गरेका छन्।

सुनसरीका थारुको मुख्य चाँडपर्वहरु :
सुनसरीका थारु समुदाय बिभन्न चांडपर्वहरु मनाउने गरेका छन।
१. सिरुव पावन : यसलाई जुडीसितौल पर्व पनि बनिन्छ। कुलदेवताको सिरापाटमा पहिला जलफुल चढाए पछि ग्रामथानमा जलफुल चडाई मान्यजनको गोडामा र आफु भन्दा सानालाई टाउकोमा पानी छ्यापेर जुडीसिलोल भनेर आशिर्वाद दिने लिने गर्दछन। भान्जाहरुको गोडामा जल दिने चलन छ। बर्षको सुरुको दिन र पहिला घरको कुलदेवता स्तान सिरापाट र पञ्चहाईन, कचना महादेव उतर सिरा देखि मनाउने गरेकाले सिरुव पावन भनेको हो। बैसाख १ र २ गते सिरुव पावन मनाउद छ। पहिला १ गते राजा या मान्यजन, राजधामी थानमा, कुलदेवतालाई जलफुल चढाएर आशिर्वाद लिने चलन थियो र २ गते देखि आम रैतीले घर परिवारका मान्यजन संग आशिर्वाद गर्द थियो। १ गते पञ्चहाईन (पाचदेवी)लाई पुजा गरेर २ गते जाग्राम गरि कचना महादेवको पुजा भए पछि अन्य ग्रामथानमा पुजा गर्ने चलन अहिले पनि छ।

२. अखडिया पुजा : ग्रामथानमा खेतीपाती धान रोपनु अगाडी पुजा गरिन्छ। ग्रामतिमा बसेका सबैको सामुहिक पुजा हो। ग्राम थानमा थानपति राजधामीको महत्वपुर्ण रुपमा पुजा गरिन्छ। सुनसरीमा बिछु धामीलाइ राजधामी मान्दछन र उहाको अलौकिक शक्तिको कारण अहिले सम्म पनि जीवित छन भनेर पुजा गर्ने गरेको छ। वालीनाली राम्रो होस, बाघ, हाती, जंगली जनावरबाट सुरक्षा होस, रोगब्यधिबाट बचाओस, वाढी पानीबाट बचाओस र आशिर्वाद प्राप्त भइरहोस मनसायले पुजा गरिरहेका छन।

३. बिषहरा: नागपञ्चमीलाई थारु भाषामा बिषहरा वा लगपांचे भनिन्छ। सन्तानलाई नागबाट बचाउन नागलाई धानको लाभा र दुध चढाउने चलन छ। गाउले महिला र बच्चाकरु बिषहरा मागेर महादेव थानमा गएर दुधलाभा चढाई सके पछि प्रसाद खाने चलन छ।

४. कृष्णाष्टमी : थारु समुदायले कृष्णाष्टमीमा उपवास बस्ने र कृष्ण मन्दिरमा भजनकिर्तन गर्ने, भगवान कृष्ण लिलाको कथा भन्ने, झुला झुलाउने र पुजन गर्ने गरेको छ।

५. चौथी चान : यस दिन बिषेश गरि महिलाहरु बर्त बसछिन। गणेश चतुर्थीमा गणेसको बर्त बस्नाले बुध्दि, ज्ञान बढने र चिताएको पुगने भने बिसवास छ। निराहर बसी सुर्यास्तको बेला चार दिनको चन्द्रमालाई अर्ग दिएर बर्त समाप्त हुन्छ।

६. गुरु पुजा : गुरु पुर्णिमा आफना गुरुलाई शिष्यहरुले पुजा गर्ने उपहार दिने र आशिर्वाद लिने चलन छ। धामी गरुहरुलाई चेलाहरुले (शिष्य) बिषेश रुपमा पुजन गर्ने चलन थियो। अहिले धामी परंपरा पुस्तानान्तर हुन नसकेकाले यो संस्कार हटि सकेको अवस्थामा छ। थथापी कविर थान, रामजानकी ठाकुरबाडी थानमा भने गरु महन्थहरुबाट आशिर्वाद लिने गुरु पुजा गरने चलन यथावत छ।

७. जितिया: थारु समुदायले जितिया पावन मनाउछन।

८. दशैं: दशैंमा फुलपातीका दिन सिकारु धामीबाट फुलहथा पतिहर खेलने र सिकेका मन्त्र तन्त्रलाई गुरुको समक्ष प्रदर्शन गर्ने गरिन्छ। यो चलन पनि लोप हुन लागेको छ। नवमीको दिन देवीलाई बलि (भोग) दिने र घरको कुलदेवता सिरापाटमा, भितामा सिन्दुर को टिका र पिठोको घोल बनाई पञ्जा छाप लगाउने चलन छदैछ। दशमीमा मान्यजन, गरुबाट टिका लगाउने, देवी भगवती मन्दिरमा दर्शन गर्न जाने चलन छ।

९. कुंडपावन: कोजाग्रत पुर्निमाको दिन लक्ष्मीको पुजा आराधना गर्ने, धामी गुरुहरुले पतिहर खेलने, भक्तजनले लक्षमीको स्तुति गाउने र धानको ढस्को (कुंड) बनाएर कलस राखि पुजा गर्ने गरकाले कुंडपावन भनेको हो र कनिया बगियामा (चामलको पिठोको परिकार) थुप्रै सन्तान भएको बनाई चढाउने पुजा गरने र जिउदो मङोरा (मुङ्ग्री) माछ चढाउने पुजा गर्ने गर्द छन। यसले सन्तान हुने र धन सम्पति बाढने बिश्वास छ।

१०. तिहार: थारु समुदायले यसलाई सुकरात (सुखरात) भन्दछन। पांच दिन सम्म मनाउने गरेकाले यम पञ्चक पनि भनिन्छ। थारु समुदायले धनतेसर(त्रयोदशी), नरक चतुर्दशी, हांकिउँक्का( गरु चुमना), पखेव (गोबरदन पुजा), हुरह पुजा, जमजितिया गरि पांचदिन सम्म मनाउने गर्दछ।

११. समाचकेवा; भाई बहिनीको अमर स्नेह मायाको गाथाको रुपमा मनाउद छन।

१२. छटपर्व: छट पर्व थारु समुदायले मानदैनन् तर बढदो मिश्रित समाजका कारण छट पर्वको प्रभाव बढेको छ।

१३. ठुलो एकादसी: यस ठुलो एकादशीमा (हरिबोधनी) वर्तालुहरु निराहार बसी बरपिपल, बिष्णुका मन्दिरमा, सिवालयमा जल चढाउछन। रात भरी भजन किर्तन गरि गरि जाग्राम बस्द छन।

१४. अधनवा पुजा: ग्रामथानमा धानबाली काटनु भन्दा पहिला मंगसिरमा गर्दछन। यो पुजा गरि सके पछि मात्र धान काटने भित्राउने चलन थियो। अहिले बैसाख वा अषाढ मानै दुवै समयको पुजा गर्ने चलन चलेको छ।

१५. नेमान: यो एक प्रकारको कुल पुजा हो। यस दिन नयां अन्नबालीको परिकार बगिया, चिछौरी, सुहारी, भक्का पकाएर कुलदेवता र पितृहरुलाई चढाइ सके पछि मात्र ग्रहण खाने चलन छ। धामी गुरुबाट कुलपुजा वा घरपटि आफैले पुजा गरछन र भक्तियाबाट देवी देवता स्तुति गान गाउछन।

१६. बिबाह पञ्चमी: रामजानकी बिबाह पञचमीमा जनकपुर मेला जाने वा नजिकको रामजानकि मन्दिरमा गएर दर्शन गर्ने गर्दछन।

१७. माधी: यसलाई तिलासंकान्ति पनि भनछन्। यस दिन बिहान नदी वा कुपमा नुहाई मान्यजनको हातबाट तेल टाउकोमा लगाई दिएर तिलतिल बढनु भनेर आशिरवाद दिने चलन छ। घर ब्यबहारमा लेनदेनको हिसाब बारी गरि फरछौट गर्ने र नया हिसाब राखने चलन छ। धामी, बाहुन, नाई, दमाई, कामी, सार्की, तेली, डुमलाइ बार्षिक ज्याला दिने र तोकने चलन अझै पनि छ। अहिले बिस्तारै हटदै गएको छ। पहिला ग्रामति मिलेर मुल मानिस छान्ने र गाउको (गछ) गछदार, धामी छान्ने वा तोकने चलन छ तर अहिले परंपरागत रुपमा वंशजले चलाउने गरेको छ।यस दिन तिलको लडु, बगिया, मुरहीको लडु कुलदेवता र पितृलाई चढाउने चलन छ। छोरीलाई सनेस पठाउने गरिन्छ।

१८. बसन्त पञ्चमी: यस दिन परति खेत हलोले जोतने दिन हो। आजकै दिन देखि खेत जोतन सुरु गर्दछन भने कुन धानको बिउ आगामी सालमा बाली राम्रो हुन्छ भनेर करकलोको पातहरुमा एक इक मुठी धान राखेर सितमा छोडि दिने र जुन धान धेरै भिजेको हुन्छ त्यसको बिउ परालको नेठु (परालले बनाएको बिउ राखने भांडो) मा राखने चलन थियो। त्यसै गरि करकलोको बाह्रवटा पातलाई बैसाख महिना देखि लहरै परालले मुख बांधेर रात भरी सितमा राखद थियो र बिहान खोलर हेर्दा कुन महिनाको पातमा बढी पानी छ सोहि महिनामा पानी पर्ने अनुमान गर्ने गर्द थियो र बालिनाली सोहि अनुसार लगाउने गर्द थियो। आजको दिन मालपुवा, चिछौरी पकाउने र सरस्वतीमातालाई पुजा गर्ने चलन छ।
१९. होली: यस दिन रङ्ग, अबिर खेलने होली गाउने चलन छ।

२०. बहरजात्रा पुजा; गाउमा परेको दुख बिरामी र अन्य बिध्नबाधाहरु पुन: अगामी बर्ष नदोहरियोस भनेर पुरै ग्रामबासी गाउ बहिर बहरजात्रा पुजा गर्दछन। यहां संसारी देवी ल, मलङ (सदाशिव), अधोरको पुजा हुन्छ र एकान्त ठाउमा लगेर सेलाउने चलन छ। सेलाएर फर्किदा पल्टेर हर्नु हुंदैन यदि फर्केर हेरेमा रोग, दुखहरु पुन: फर्केर आउने छ भने मान्यता छ।

२१. रामनवमी: राम नवमी पर्वमा ध्यान भजन किर्तन गरेर मनाउने गर्दछन। भक्तजनले घरमा पनि रामनामको ध्यान भजन लगाउने चलन छ।

२२. प्रसादको रुपमा सेतो टिका : थारु समुदायले बिभिन्न चांडपर्वमा, पुजापाठमा र कुलदेवता, हनुमान ठाकुर, पितृलाई केराको पातमा चढाएको चामल, केरा, चिनी लड्डुको प्रसादलाई मुछेर प्रसादको रुपमा सेतो टिका लगाउने र ग्रहण गर्ने चलन छ।

सुनसरीका थारुको मुख्य कला, संस्कृति, परंपरा, मुल्य र मान्यता :
१. कलाथारु समुदायको कलामा नाट्यकला मा सोरठी बृजभान, धुमरानाच, जटाजाटीन, चोरखेली नाच मुख्य हुन। अहिले लोपोन्मुख छ। हस्तकलामा सिकिको ढाकी, बोकटी, धमा, डाली बनाउने हो। काष्ठकलामा काठको कलात्मक झ्याल, ढोका, सन्दुक, घर बनाउन सिपालु छन। पहिलाका महिलाहरुले लगाउने खडकी र अचरा आफै बनाउने गर्द थिइन अहिले लोप भइ सक्यो। भितामा माटोको चित्रकला मोख, चक्का, कोठी, चुलहो बनाउन सिपालु हुनछिन। गितमा चांचर, बिरहेन, पराति, बरमासा गाउने कला छन।

२. जन्म: थारु समुदायको जन्म देखि मृत्यु सम्मको समाजिक ब्यबहार नै संस्कृति हो। जन्मदा ६ दिनमा छटिहार गरि सुध्द हुनछन। सुत्केरी बस्ने कोठालाई सिरवी घर भन्दछन र ढोकामा माछा मार्ने जालको पर्दा, बयरको कांडा, हसिया र बोढन ( सिरु झारको कुच्चो) बाधि दिन्छ। बलेसीमा बेहङा (बांसबाट बनेको भारी बोकने) गाडेर जुता झन्डाएर राखेमा छोराको जन्म भएको र यदी यो चिन्ह छैन भने छोरी भएको थाहा हुन्छ। सुत्केरी कोठालाइ न्यानो पार्न मकल बालेर राखने चलन थियो। बाहिर बाट भित्र जाने बेलामा हात खुट्टा मकलमा सेकेर तातो पारेर मात्र भित्र जाने चलन थियो।

३. छुकत भात : सुत्केरी भएको एक बर्ष भित्र सुतक हटाउन ग्रामतिलाई भोज खुवाउने चलन छ। यो कर्म नगरेको सम्म समाजिक ब्यहार, पुजापाठ, बिबाह कर्ममा बहिलाले भाग लिन पाउदिनन् । समय, घटना, दिन, पर्व, महिना, रंग, रुप, दोष, गुण, स्वभाव, आनीबानी, बमोजिम बच्चाको नामाकरण गरिन्छ।

४. मुण्डन(चुडाकर्म): बेजोर उमेरमा (३,५,७,९ बर्षमा) मुण्डन (जन्म देखि पालेको कपाल) गर्ने चलन छ र भानिज कपाल काटी दिए पछि हजामले मुण्डन गर्दछन।

५. विवाह : मांगी विवाह, उढरी विवाह (भगाएर लाने), विधवा विवाह, गोलट विवाह, जवरजस्ती विवाह, घर ज्वाई राखने, कन्यौति विवाह थारु समुदायमा प्रचलित विवाह हुन। बाल विवाह, कन्यौति विवाह, भाउजु सकार्ने विवाह अब समाप्त भएको छ। विवाहका चरनमा घरदेख( देखासुनी), सहकट्टी, विवाह, कनिया लियान, समधी भेटघाट भए पछि विवाहको चरण पुरा हुन्छ। देखासुनि वा सहकटी पछि कुनै कारण बस विवाह नहुने भएमा सुखना पान फिर्ता भए गरेमा विवाह हुंदैन।

६. मृत्य संस्कार : थारु समुदायमा मृत्यु संस्कारमा माटोमा गाडने, जलाउने र जलप्रवाह गर्ने कुरा कुलाचार अनुसार गर्दछन। राजधामी, धामी कुलका मानिस मृत्यु भएमा गाडने चलन छ र धामीले शरिर मात्र त्यागेको हो र आत्मा जीवित छन। दुख बिरामको बेला स्मरण गरेमा दुक विराम निवारण हुन्छ भने बिश्वास छ। त्यस्तै कविर पन्थका थारु समुदायलाई समाधिस्थ तरिकाले गाडने चलन छ। परिवारबाट हलग भइ बैराग बनी महनथ बनेकालाइ जलप्रवाह गर्ने चलन छ। बैराग महनथले जिवित छदा आफना ज्ञान गुणले भलाई गरेको र मृत्यु पछि पनि जलचरको लागि मेरो शरिर आहार बनोस भन्ने मान्याताले जल प्रवाह गर्ने विश्वास छ। देह धारी शरिरले मानव जगत, चराचर, जलचर सवैको कल्याण भावले सेवा गर्नु पर्छ भन्ने मान्यता थारु समुदायले परंपरा देखि सिकदै आएका छन।

७. मुल्य र मान्यता : उतम सिलस्वभावमा बस्नु पर्छ। अरुलाई दुख दिए फुले पनि दुख पाईन्छ भन्ने मान्यता राख्द चन। सत्त्य, निष्ठा, इमानदारी पालन गर्छन। मेहनतमा कर्मफलमा आशा राखछन। मान्यजनलाई आदर र सानालाई स्नेह दिनछन। गरिब दुखि प्रति सेवा भाव राखद छन। झुठा, झगडा देखि परै बसछन्। मित्रता र समभाव राखद छन। यसरी थारु समुदायले अपनाएका मुल्य मान्यताहरुलाई जिवनमा ब्यबहारिक रुपमा पालन गर्छन । त्यसैले थारु समुदाय सिधा, सरल र छलकपट हिन इमानदार र मेहनतिको भनेर परिचय पाएका छन। गौरवशाली थारु समुदायलाई आफनो मुल्य र मान्यतालाई निरन्तरता दिन फलामको च्युरा चपाउनु जस्तै कठिन छ।




Leave a Reply

Your email address will not be published.