२० लाखको प्रलोभनमा भएको थियो विजय चौधरीको हत्या

काठमाडौंका एक व्यापारीको हत्या आरोपमा नवलपरासीपश्चिममा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका- २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको थियो ।

हत्यामा रामग्राम नगरपालिका- ५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र निजकी ३५ वर्षीय श्रीमती हदिसुन नेसाको प्रमुख संलग्ना रहेको नवलपरासीपश्चिम प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रेमबहादुर शाहीले बताए ।

पक्राउ पर्ने अन्यमा रामग्राम नगरपालिका-२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौंका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई गत मंगलबार प्रहरीले भारतीय सीमावर्ती महेशपुर नाकाबाट पक्राउ गरिएको हो । देवान दम्पतीले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको खुलेको शाहीले बताए । घरजग्गा किनाइ दिने भन्दै तलत अलीले देवानको सम्पर्कमा व्यापारी चौधरीलाई पुर्‍याएका थिए ।

उनीहरूले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । हत्यापश्चात देवान दम्पतीले मोटरसाइकलमा राखेर मृतक चौधरीलाई जोकवार गाउँको बाटोमा लगेर फालेका थिए ।

२० लाखमध्ये १७ लाख ३३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमध्ये २ लाख रुपैयाँ पक्राउ परेका केवटको घरबाट छ भने १५ लाख ३३ हजार ५ सय रुपैयाँ परासी बजारकै एक मोबाइल पसलबाट बरामद गरिएको छ । केवटले नै मोबाइल पसलमा पैसा राख्न दिएको खुलेको छ । पक्राउ परेका केवट र पत्नी देवानका दिदी-भिनाजु रहेको प्रहरीले जनाएको छ । जग्गाको कारोबार गर्नका लागि रकम बोकेको बताए पनि अन्य अवैध कारोबार हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

देवानको घरबाट प्रहरीले चौधरीका गरगहना, ९ थान मोबाइल, त्यसमा प्रयोग हुने सीम कार्डहरू र कीर्ते सरकारी छापसमेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको डीएसपी शाहीले जानकारी दिए । अन्यसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *