गुगलले एयरटेलमा १ अर्ब डलर लगानी गर्ने

गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति दिन साझेदारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुगलले भारतको दोस्रो सबैभन्दा ठूलो मोबाइल अपरेटरमा १ अर्बसम्म लगानी गर्नेछ । विशाल जनसंख्याको भारतीय टेलिकम बजारमा आफ्नो उपस्थिति बलियो बनाउन खोजिएको गुगल र एयरटेलले दाबी गरेका छन् ।

अर्बपति सुनील मित्तलको भारती एयरटेलमा तत्काल ७० करोड अमेरिकी डलरको सेयर गुगलले खरिद गर्नेछ । यो कदम सन् २०२०मा सुरु गरिएको ‘गुगल फर इन्डिया डिजिटाइजेसन कोष’ को एक हिस्सा हो । गुगलको लगानीले भारतका साना व्यवसायीहरूलाई डिजिटल उपकरणहरू अपनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

भारतले महामारीको बीचमा डिजिटल शिक्षा, भुक्तानी र ई–वाणिज्यलाई प्रबर्धन गर्दै आएको छ । आगामी पाँच वर्षहरूमा ‘पारस्परिक रूपमा सहमत’ व्यावसायिक परियोजनाहरूमा थप ३० करोड डलर लगानी गरिने गुगलले जनाएको छ ।

‘हामी कनेक्टिभिटी विस्तार गर्न र अधिक भारतीयहरूको लागि इन्टरनेटमा समान पहुँच सुनिश्चित गर्न साझा दृष्टिकोणमा साझेदारी गर्न पाउँदा गर्व गर्छौं’ गुगल पेरेन्ट अल्फाबेटका प्रमुख कार्यकारी सुन्दर पिचाईले विज्ञप्तिमा भनेका छन् ।

यी कम्पनीहरूले फाइभजी र अन्य मापदण्डका लागि संयुक्त रूपमा सफ्टवेयर विकास गर्ने योजना बनाएको पनि जनाएका छन् । सन् २०२० मा ४.५ अर्ब डलरको लगानीपछि एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स जियोमा गुगलसँग ७.७ प्रतिशत हिस्सेदारी छ ।

जियोले सन् २०१६ मा सस्तो इन्टरनेट र निःशुल्क कलको सुविधा उपलब्ध गराएर मूल्य युद्ध सुरु गरेको आरोप लाग्दै आएको छ । जियोले एयरटेल र ब्रिटिस टेलिकम कम्पनी भोडाफोनको स्थानीय इकाइसँग प्रतिस्पर्धा गर्दै आएको छ ।

एयरटेल दक्षिण एसिया र अफ्रिकाका १७ देशहरूमा ४८ करोडभन्दा बढी ग्राहकहरूसँग जोडिएको छ । यसैगरी, गुगलमा १० करोडभन्दा बढी भारतीय प्रयोगकर्ताहरूको पहुँच छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *