सत्ता गठबन्धन भत्काउने माओवादीको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा कांग्रेससँग गठबन्धन सरकार बनाएर एमालेसँग एकता गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई सुइकोसमेत नदिई प्रचण्डले एमालेसँग एकता गरेर धोका दिएका थिए । अहिले तीनै तहको चुनाव आउँदै गर्दा देउवा प्रधानमन्त्री छन् । प्रचण्डले कांग्रेससँग गठबन्धन गरेका छन्।

भन्न त प्रचण्डले चुनावसम्मै गठबन्धन कायम हुनुपर्ने भनिरहेका छन् । तर अस्थिर तथा जता फाइदा त्यतै दौडिने स्वभावका प्रचण्डको भर छैन । फेरि धोका हुनसक्नेतर्फ कांग्रेसकै नेता सचेत छन्। यस्तो अवस्थामा प्रचण्डका एकजना विश्वासपात्रले भने गठबन्धन भत्किन सक्ने आशयको प्रतिक्रिया दिएका छन् । २०७४ को घटनाक्रम दोहोर्याउने गरी फेरि धोका दिने रणनीतिमा माओवादी अगाडि बढेको बुझ्न सकिन्छ । त्यसो त कांग्रेस एक्लै चुनाव लड्न चाहन्छ । तर गठबन्धन तोडेर प्रचण्डजस्तो विश्वासघात गरिहाल्ने पक्षमा कांग्रेस छैन ।

तर माओवादी भने पुरानै खेल दोहोर्याउने स्थितिमा पुगेको नेताहरुको अभिव्यक्तिले देखाएको छ । प्रचण्डनिकट वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले गठबन्धन सहायक भएको उल्लेख गरेका छन् । माओवादी गठबन्धनको भर पर्न नहुने उनको तर्क छ । माओवादी आफै अग्रसर हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘गठबन्धन सहायक पक्ष हो, सकेसम्म चुनावसम्म लैजानुपर्छ तर गठबन्धनकै भर पर्नु हुँदैन । हामी माओवादीले हाम्रै जमिनमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्छ ।’ प्रचण्डका निकट व्यक्तिको आशयले माओवादी नै गठबन्धनको भारी बोक्न नचाहेको पुष्टि हुन्छ । अर्थात भ्याएसम्म कांग्रेसलाई प्रयोग गर्ने र अनुकूल भएपछि फेरि धोका दिने रणनीति देखिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *