सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा

थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन। चितवनको नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन्। उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन्।

उनको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पकाउने गरेका छन्। त्यसो त होटलमा अरु परिकार पनि पाक्ने गर्छ। ‘हाम्रो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्छ,’ महतोले भने, ‘चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवद्र्धक र पोषिलो हुन्छ। थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल छैनन्। थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गरेका छौँ।’

परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उनले बताए। थारु परिकार पाइन्छ भन्ने थाहा पाउनेहरु परपरबाट पनि आफ्नो होटलमा आउने गरेको महतोको भनाइ छ। त्यसो त यो समुदाय खानाकै कारण स्वस्थ र दीर्घजीवी हुने गर्छन्। स्नातकोत्तरसम्मको अध्ययन गरेका महतोले २२ वर्षको उमेरबाट होटल क्षेत्रमा काम थालेका हुन्। अहिले ३८ वर्ष हुँदै गर्दा आफू यो पेसामा सन्तुष्ट रहेको उनले बताए।

महतोले झण्डै नौ वर्ष जिल्लाको ठूलो होटल सेन्ट्रल पाममा काम गरे। झाडुपोचादेखि व्यवस्थापनसम्मको सबै कामको अनुभव सङ्गालेका उनले केही वर्ष नारायणगढमै साथीको एक होटलमा व्यवस्थापकको जिम्मेवारीसमेत सम्हाले। विसं २०७४ को असोज ६ गतेदेखि यो होटल सुरुआत गरेका हुन्। ऋण गरेर २० लाख हाराहारीको लगानीमा सुरु भएको ह्याप्पी होममा सुरुमा आठ कोठा थिए । अहिले बढाउँदै लगेर २० कोठा पुगेका छन् । लगानी एक करोडभन्दा बढी भइसकेको महतोको भनाइ छ।

बैंकमा ऋण भए पनि ग्राहकको सन्तुष्टिका कारण आफूलाई पनि सन्तुष्टि मिलेको उनी बताउँछन्। आफ्ना उमेरका धेरै साथी विदेशिएको भन्दै उनले स्वदेशमै आफ्नो जातिको भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै खानाको प्रवद्र्धनमा लाग्न पाउँदा रमाइलो लाग्ने गरेको बताए। ‘अहिले मेरो होटलमा १२ जनाले रोजगारी पनि पाएका छन्। म खुसी छु,’ उनले भने। अन्यत्र काम गर्दा आफूले गरेको मिहिनेतको प्रतिफल अहिले पाउन थालेको भन्दै उनले मिहिनेतका साथ काम ग¥यो भने स्वदेशमै धेरै गर्न सकिने विश्वास व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *