फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगवती चौधरी, ४२ प्रतिशत लाभांश पारित

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।

पुस ३० गते सम्पन्न सभाले चौधरी सशित राजकुमारी तब्दार, आशुतोष शर्मा सापकोटा, केशव राज पौडेल, बलराम चौधरी र जगत जंग जिसीलाई सञ्चालकमा निर्वाचित गरेको थियो ।

सोही सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ४२ प्रतिशत लाभांश लाई समेत वितरणयोग्य बनाएको छ । कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६२ करोड ५५ लाख १९ हजार छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १५ गते सार्वजनिक विदाका कारण बजार बन्द भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस वर्षको लाभांश पाउनेछन् ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले बढाएर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिएको थियो । सञ्चालक निर्वाचन, लाभांश प्रस्ताव लगाएतका विशेष प्रस्तावसहित सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *