डोक्लाम क्षेत्रमा फेरि चिनियाँ प्रवेश गरेको भारतीय मिडियाको दाबी

पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमने–सामने भएको भुटानको डोक्लाम क्षेत्रमा चिनियाँ प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय सञ्चारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडिटिभीले स्याटलाइट इमेजसमेत सार्वजनिक गर्दै चीनले सीमा क्षेत्रमा एउटा गाउँ नै निर्माण गरेको दाबी गरेको छ । यसबारे चीनले भने औपचारिक प्रतिक्रिया दिएको छैन ।

‘चीनले डोक्लाम फेस–अफ साइटबाट नौ किलोमिटर टाढा अर्कोतिरबाट सडक निर्माण गतिविधि पुनः सुरु गरेको छ’ एनडिटिभीले समाचारमा उल्लेख गरेको छ । रणनीतिक रूपमा भारतका लागि महत्वपूर्ण मानिएको उक्त क्षेत्रमा भारतीय सैनिक तैनाथ छन् । गत वर्ष नोभेम्बरमा पनि यस्तो संरचना देखिएको र अहिले थपिएको दाबी गरिएको छ ।

स्याटलाइट तस्बिरसम्बन्धी काम गर्ने इन्टेल ल्याबका प्रमुख जिइओआइएनटी अनुसन्धानकर्ता डेमियन साइमनलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ, ‘चीन र भुटानबीच विवादित क्षेत्रमा चलिरहेको निर्माण र विकास गतिविधिको अकाट्य प्रमाण स्याटलाइट इमेजहरूले देखाउँदछन् । चीनले भविष्यमा सम्भावित युद्धको परिस्थितिमा उपकरण ल्याउन सक्ने गरी सडक निर्माणको काम भइरहेको साइमनको दाबी छ । उनले भनेका छन्, ‘सैन्य बलहरू तैनाथ गर्नका लागि संरचना तयार भएका हुन् भन्ने स्पष्ट देखिन्छ । भारतले आफ्नो तयारी गर्नु आवश्यक छ । ’

भुटान र चीनबीच चार दशकभन्दा बढी समयदेखि सीमा वार्ता भइरहेको छ तर अझै टुंगोमा पुगेको छैन । भुटानले आफ्नो एक इन्च भूभाग पनि चीनलाई नदिने स्पष्ट गर्दै आएको छ । भू–रणनीतिज्ञ ब्रह्मा चेलानीले भनेका छन्, ‘चीनले भुटानी क्षेत्रभित्र लगायतका सीमावर्ती गाँउहरूको सैनिकीकरण गर्ने कार्यले भारतीय सुरक्षामा प्रभाव पारेको छ । भारत भुटानको सुरक्षा ग्यारेन्टर भएकोले भुटानको क्षेत्रीय सार्वभौमिकता उल्लंघन गर्ने चिनियाँ निर्माण गतिविधि भुटान–भारत सम्बन्धलाई कमजोर पार्न र चीनको स्वार्थ पूरा गर्ने दबाबका रूपमा भएको हुनुपर्छ । ’ पूर्वी लद्दाख, अरुणाचललगायतका क्षेत्रमा दुई वर्षदेखि भारत र चीनबीच सीमा क्षेत्रमा तनाब बढेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *