सैनामैनामा थारू होमस्टे सञ्चालन

रुपन्देहीको सैनामैना नगरपालिकाऔ२ स्थित उचिडिहवामा थारू (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ। घरबासबाट थारू खानपिन, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्बर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

सो होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि रु १० लाख अनुदान दिएको छ । त्यस्तै कार्यक्रम गर्ने सभाहल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समितिबाट आर्थिक वर्ष २०७२-७३ मा रु चार लाख ७५ हजार, आव २०७३-७४ मा रु छ लाख ६५ हजार निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत आव ०७३-७४ मा रु १६ लाख ५७ हजार ५००, सैनामैना नगरपालिकाबाट आव ०७२-७३ मा रु एक लाख ९० हजार, ०७३-७४ मा रु सात लाख, ०७४-७५ रु पाँच लाख, ०७६-७७ मा रु ६ लाख र लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास परियोजनाबाट ०७७-७८ मा रु १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालनका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए।

त्यस्तै रु नौ लाख ४६ हजार ५२६ लागत सहभागितामा सो सभाहल निर्माण गरिएको उनले बताए। उनले भने, ‘होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिनेछ।’ दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ। एउटा कोठामा दुईवटा शय्या छन्। हालः होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ। थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताए।

‘समुदायको प्राचीन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्‍यो, थारू कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवद्र्धनसँग जोडेको छ,’ अध्यक्ष चौधरीले भने। बुटवलबाट १४ किलोमिटर पूर्वपश्चिम महेन्द्र राजमार्गको कालिकाचोक उत्तरमा सो होमस्टे रहेको छ। उचिडिहवा गाउँ थारू समुदायको पुरानो एवं ऐतिहासिक बस्ती भएको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *