कांग्रेस महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला, कसले के भने?

थारु कल्याणकारिणी सभाले शुक्रबार राति कांग्रेसको १४औं महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला आयोजना गर्‍यो। भेलामा ६० बढी प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा सहमहामन्त्री र केन्द्रीय सदस्यहरुका आंकाक्षीहरुसमेत सहभागी थिए।


सबैले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए। सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले कांग्रेसमा आफ्नो ठूलो योगदान रहेको र लामो समय जेलमा समेत बसेको भन्दै आफू सहमहामन्त्रीका लागि योग्य रहेको बताए। तर कुन समूहबाट आफ्नो उम्मेदवारी पर्ने उनले खुलाएनन्।


त्यस्तै रामजनम चौधरीले आफू शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री उठ्न लागेको बताए। उनले नेपाली कांग्रेसमा पुस्तान्तरण र थारु समुदायको माग मुद्दा सम्बोधनका लागि आफ्नो योगदान रहेको भन्दै उम्मेदवारी दिने घोषणा गरे।


त्यस्तै सांसद तेजुलाल चौधरीले आफू संस्थापन इतरबाट सहमहामन्त्रीको उम्मेदवारी दिने घोषणा गरे। उनले अहिलेसम्म देउवाले एउटा थारुलाई पनि नियुक्ति नदिएको र राज्य पुनर्संरचनामा पश्चिम तराईका थारु बस्तीहरुको किटाकाट गरेको आरोप लगाए। त्यही भएर देउवाबाट थारुहरु सचेत हुनुपर्ने उनको भनाइ थियो।


त्यस्तै केन्द्रीय सदस्यका उम्मेदवार डा. गोपाल दहितले थरुहट आन्दोलनमा सबैको बराबर योगदार रहेको भन्दै सहमहामन्त्रीमा सबै क्षमतावान रहेको बताए। उनले सहमहामन्त्री पद कोटामा मात्र रहेका नेताहरु कोटामार्फत् आउन चाहेको बताए। ‘सहमहामन्त्रीमा खुला सिट नै छैन। खुला सिट नभएपछि आउने त कोटाबाट नै हो,’ उनले भने। उनले आफू पनि केन्द्रीय सदस्यको उम्मेदवार भएको बताए। तर खुला हुने वा कोटा हुने त्यो अहिल्यै टुंगो नलागेको बताए।


त्यस्तै योगेन्द्र चौधरीले पनि केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताए। उनले राजनीतिमा सबैको आ-आफ्नो आस्था रहने र सबै जनाको मन राजनीतिकरुपले सक्षम हुने चाहना रहेकाले उम्मेदवारी पर्नु सामान्य कुरा रहेको बताए।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। बेलुकासम्म क-कसले कुन पदमा उम्मेदवारी दिए भन्ने कुरा थाहा भइ नै हाल्नेछ।

 

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *