चीनका उपप्रधानमन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी यी टेनिस खेलाडी ‘गाबय’ भएपछि…

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी)ले चिनियाँ टेनिस खेलाडी पेङ स्वाअएले भिडिओ कलमार्फत् आफू सुरक्षित रहेको बताएकी छन्। आइओसीले अध्यक्ष टमस बाखले पेङसँग तीस मिनेट भिडिओ कल गरेको जनाएको छ। ‘उनी सुरक्षित छिन्, त्यो नै हाम्रो मुख्य चासो थियो,’ विज्ञप्तिमा भनिएको छ।

आफूविरुद्ध एक वरिष्ठ मन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि ३५ वर्षीय पेङ करिब तीन साताअघिदेखि सार्वजनिक वृत्तबाट टाढा थिइन्। उनको अनुपस्थितिले व्यापकरुपमा चासोहरू उत्पन्न गराएको थियो।

अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडी र सरकारहरूले उनी सुरक्षित छिन् भन्ने प्रमाण उपलब्ध गराउन चीनलाई आह्वान गरेका थिए। ‘३० मिनेट लामो भिडिओ कलको सुरुमा पेङ स्वाअएले आइओसीको चासोका लागि धन्यवाद दिइन्,’ उक्त विज्ञप्तिमा उल्लेख छ।

‘उनले बेइजिङस्थित आफ्नो घरमा सुरक्षित र ठीक रहेको व्याख्या गरिन्, तर अहिलेको अवस्थामा गोपनीयताको सम्मान होस् भन्ने चाहेको पनि बताइन्,’ विज्ञप्तिमा भनिएको छ। आइओसीको विज्ञप्तिमा भिडिओ कल गर्दै गर्दाको तस्बिर पनि राखिएको छ जसमा उनी क्यामरामा हाँसिरहेको देखिन्छ।

टेनिसकी चर्चित खेलाडी सार्वजनिक वृत्तबाट हराएपछि चिनियाँ सरकारी सञ्चारमाध्यम उनी ठीक छन् भन्ने देखिने उनको तस्बिर र भिडिओहरू शृङ्खलाबद्धरुपमा देखाउन बाध्य भएको थियो।

रोयटर्स समाचार संस्थाले खेल आयोजकले पनि आफ्नो वीच्याटको पेजमा पेङको तस्बिरहरू प्रकाशति गरेको उल्लेख गर्दै समाचार छापेको थियो। तर वीमेन्स टेनिस एशोसियसनका प्रवक्ताले भने रोयटर्ससँग उक्त भिडिओ पेङ सुरक्षित छिन् भन्नका लागि पर्याप्त प्रमाण नभएको बताएका थिए।

टेनिस डलब तर्फकी पहिलो बरियताकी पूर्व खेलाडी पेङले नोभेम्बरको सुरुमा चीनको सामाजिक सञ्जाल वेबोमा आफूमाथि चीनका पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको भन्दै एउटा पोष्ट राखेकी थिइन्। उक्त पोष्टलाई केहीबेरमै वेबोबाट हटाइएको थियो। चीनका वरिष्ठ नेताामथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलोपटक हो। -बिबिसी




Leave a Reply

Your email address will not be published. Required fields are marked *