कांग्रेस महाधिवेशन: विजय गच्छदारसँग कति शक्ति छ?

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबादेखि सुरु हुँदैछ। यो महाधिवेशन उपसभापति विजय कुमार गच्छदारका लागि जति विशेष छ, त्यति नै चुनौति पनि। यसकारण विशेष छ कि उनी नेपाली कांग्रेसमा फिर्ता भएपछि उनका लागि यो पहिलो महाधिवेशन हो।

पार्टीमा असन्तुष्टि जनाउँदै गच्छदारले मधेसी जनअधिकार फोरम हुँदै आफ्नै नेतृत्वको पार्टी फोरम लोकतान्त्रिक गठन गरेका थिए। प्रतिनिधिसभाको पहिलो चुनावअघि गच्छदारले लोकतान्त्रिक फोरमलाई कांग्रेसमा ‘मर्जर’ गरेका थिए।

४५ हजार क्रियासिल सदस्य रहेको फोरम लोकतान्त्रि कांग्रेसमा समाहित हुँदा जम्मा २५ हजार सदस्यहरुमात्र कांग्रेसको क्रियासिल सदस्य बन्न पाएका थिए। त्यसमध्ये विजय गच्छदार उपसभापति बन्दा अन्य ११ जना नेताहरु केन्द्रीय सदस्य बनेका थिए।

यो १४औं महाधिवेशनमा गच्छदारलाई यही शक्ति फर्काउन चुनौति छ। उनले यही महाधिवेशनबाट आफ्नो शक्तिसमेत प्रदर्शन गर्नु छ। संस्थापन निकट रहेका गच्छदारसँग कति छन् त शक्ति? उनी निकट नेताका अनुसार गच्छदार निकट करिब दुई सय महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका छन्। संस्थापन पक्षमा यो मतभार ‘बार्गेनिङ’ गर्न पुग्ने उनको भनाइ छ।

त्यही भएर पनि गच्छदारले उचित स्थान दिन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्। उचित स्थान भनेको उनका लागि उपसभापति हो। त्यतिमात्र होइन, उनले आफ्नो समूहका नेताहरुलाई स-सम्मान केन्द्रीय कमिटीमा ल्याउन चान्छन्।

‘उहाँ आफैँ उपसभापतिको उम्मेदवार हो। आफू निकट नेताहरुलाई पदाधिकारीसहित केन्द्रीय कमिटीमा ल्याउन उहाँले पहल गरिरहनुभएको छ,’ उनी निकट नेताले भने। गच्छउदारले उपसभापतिबाहेक आरक्षणतर्फको सहमहामन्त्रीमा तीन वटा ठाउँ आफूलाई दिन देउवासँग माग गरेका छन्। उनले थारु, मधेसी र मुस्लिम कोटा आफूलाई दिन माग गरेको उनी निकट नेताको भनाइ छ।

त्यस्तै केन्द्रीय सदस्यमा पनि गच्छदारले कम्तिमा ७-८ जना आफ्नो समूहबाट ल्याउन खोजेका छन्। हालका केन्द्रीय कमिटीमा रहेका उनी निकट सबै सदस्यहरु दोहोरिन चाहेको बताइएको छ। ‘कांग्रेसलाई यहाँसम्म ल्याउन गच्छदारको ठूलो भूमिका छ। भलै केही समय उहाँ पार्टीभन्दा बाहिर रहनुभयो। तर कांग्रेसलाई एक ठाउँमा ल्याउन उहाँको भूमिकालाई नजरअन्दान गर्नु हुन्न,’ ती नेताले भने।

फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्य बनेका योगेन्द्र चौधरीले पनि आफूहरु स-सम्मान केन्द्रीय कमिटीमा आउन चाहेको बताए। ‘१४औं महाधिवेशन हाम्रो लागि खास हो। हामी स-सम्मानन कमिटीमा आउन चाहन्छौं,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *