कांग्रेस महाधिवेन: थारु नेताहरुको नजर कोटामा, यी हुन् पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसको महाधिवेशनमा समावेशी सिद्धान्त अख्तियारी गरिएको छ। जसमा थारु समुदायलाई पनि कोटा छुट्याइएको छ। संविधानअनुसार थारु कोटाका लागि कम्तिमा ७ प्रतिशत कोटाको व्यवस्था गर्नुपर्ने भए पनि कांग्रेसले करिब ४ प्रतिशत कोटा निर्धारण गरेको छ। थारु कोटामार्फत् पदाधिकारीमा एक जना र केन्द्रीय सदस्यमा चार जना निर्वाचित हुनेछन्।

को को थारु नेताले उम्मेदवारी दिँदैछन्?
पूर्व उपप्रधानमन्त्री एवं पार्टी उपसभापति विजय कुमार गच्छदार उपसभापतिमा उम्मेदवारी दिने बताइएको छ। उनी आफैँले यसको घोषणा नगरे पनि उनी निकट नेताहरुले यसको पुष्टि गरेका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका नेतृ गीत चौधरीले सामाजिक सञ्जालबाट उपसभापतिका उम्मेदवार विजय गच्छदारलाई मत दिन आह्वान गरेकी छन्।

यता पदाधिकारीअन्तर्गत सहमहामन्त्री पदमा विभिन्न प्यानलबाट थारु नेताहरुले उम्मेदवारी दिने मनसाय बनाएका छन्। सहमहामन्त्रीका अब्बल उम्मेदवारी खानेपानी मन्त्री उमाकान्त चौधरीले उम्मेदवारी दिने बताइएको छ। उनले कृष्णप्रसाद सिटौला प्यानलबाट उम्मेदवारी दिनेछन्।

यता प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा गुटबाट कैलालीका रामजनम चौधरीले उम्मेदवारी दिने मनसाय बनाएका छन्। उनी विजय गच्छदार निकट पनि हुन्। देउवा र सिटौलाको गठबन्धन बन्दा सहमहामन्त्रीमा उमाकान्त चौधरी आउने सम्भावना बलियो रहेको थारु नेताहरु बताउँछन्।

केन्द्रीय सदस्यमा भने धेरै थारु नेताहरुको भीडन्त हुने देखिन्छ। अहिले कांग्रेसमा उमाकान्त चौधरी, रामजनम चौधरी, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, पार्वता डीसी चौधरी, सुमित्रा थरुनी र कल्पना चौधरी केन्द्रीय सदस्य रहेका छन्।

उमाकान्त र राजजनम पदाधिकारीका लागि भिडे अन्य सबै जना केन्द्रीय कमिटीमा दोहोरिनका लागि उम्मेदवारी दिने बताइएको छ।

त्यसबाहेक सांसदसमेत रहेका सुनसरीका पद्मनारायण चौधरी, सप्तरीका तेजुलाल चौधरी र डिल्ली चौधरी पनि केन्द्रीय सदस्यका आकांक्षी रहेका छन्। त्यस्तै रुपन्देहीका थारु नेता देवी चौधरी पनि केन्द्रीय कमिटीमा आउन लिबङ गरिरहेको बताइएको छ।

नेपाली कांग्रेसमा धेरै गुट-उपगुट रहेकाले थारु नेताहरु खुला वा भूगोलभन्दा पनि थारु कोटामार्फत् नै उम्मेदवारी दिने मनसाय बनाइएको बताइएको छ। खुला वा भूगोलतर्फ थारु नेताको उम्मेदवारी नपर्ने हो भने १४औं केन्द्रीय कमिटीमा ५ जना थारु नेताबाहेक अरु निर्वाचित हुने छैनन्। त्यसकारण पनि थारु नेताहरुबीच तीव्र छलफलको आवश्यकता रहेको कार्यकर्ताहरु बताउँछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *