नेपालमा देखिएको ओमिक्रोन संक्रमितमा के-के छन् लक्षण?

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो । विशेषज्ञहरुले यो भेरियन्टलाई निकै घातक भनेका छन् । कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (म्युटेसन) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ । यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भइ प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमारका अनुसार नेपालमा ओमिक्रोन पुष्टि भएपछि निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आम नागरिकलाई ओमिक्रोनसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरू आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने सुझाएको छ। भाइरसबाट बच्न खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैले मापदण्डको पालना गरी खोप अभियानमा सहभागी हुनसमेत आग्रह गरेको छ।

यस्ता देखिन्छन् लक्षणहरु
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दक्षिण अफ्रिकाका चिकित्सकहरूको अनुभवअनुसार लक्षण त्यति कडा नभएको बताएका छन्। त्यहाँका संक्रमितको अनुभवको आधारमा अत्यधिक थकान, टाउको र जीउ दुख्ने जस्ता समस्या देखिएको भनिएको छ। संक्रमित धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नभएको, अचानक अक्सिजन कमी हुने समस्या पनि नदेखिएको उनले बताए। तर, डा. पुनले सावधानी भने अपनाउन आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *