नयाँ पार्टी खोल्ने रेशम चौधरीकी श्रीमतीको उद्‍घोष, यस्तो छ राजनीतिक प्रतिवेदन

रन्जिता श्रेष्ठ चौधरी
आदरणीय बुद्धिजीबी वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरु ।
२०७२ भाद्र ७ गते टीकापुरमा घटित राजनीतिक घटना थारु विद्रोह बारेमा सबैलाई सर्वविदितै छ । सर्वप्रथमतः टीकापुर घटनामा सहिद हुने बालकसहित वीर प्रहरीहरुलाई श्रदाञ्जली अर्पण गर्न चाहन्छु । साथै सहिद परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन्, यही कामना गर्न चाहन्छु ।

मुलुकमा जारी हुन गइरहेको नयाँ संविधानमा आफ्ना हक अधिकार अक्षरस लेखियोस्, चाहना हुनु सबै नागरिकको नैसर्गिक अधिकार हो । गणतन्त्र पश्चात जारी हुने संविधानमा सीमांकन, राज्यबाट उत्पीडनमा परेका जनजाति, थारु, दलित, मुस्लिम, अल्पसंख्यकलगायत सम्पूर्णको समावेशी अधिकारको सुनिश्चितता, संविधानमा अपनत्वबोध, जनसंख्याका आधारमा राज्य प्रतिनिधि, पहिचानका आधारमा नामांकन, सबैलाई गास, बास, कपासको अनिवार्य बन्दोबस्त, कमैया, सुकुम्बासी, गरिबीमा पिल्सिएकालाई बसोबाससहितको रोजगार, ‘हाम्रो गाउँ हाम्रा प्रतिनिधि, हाम्रो अधिकार’लगायतका विभिन्न माग राखेर देशमा अन्यले पनि आफ्ना माग मुद्दासहित गरिरहेको आन्दोलनको भीडमा हाम्रो एक अंश पनि लामबद्ध थियो । राज्यले आफ्ना दल, नातेदार निकटका समूह, स्वार्थ मिलेका झुण्डको माग त पूरा ग¥यो तर हजारौं वर्षदेखि उत्पीडनमा पर्दै आएका थारु, मधेसी, दलित, जनजातिका मागका पोकाहरुलाई रद्दीको टोकरीमा फाल्ने काममात्रै गरेन, अधिकारका लागि सडकमा उत्रिएको भीडमाथि दमन, ज्यादति ग¥यो । कफ्र्यु लागेको बखत राज्यको चारै सुरक्षा अंग परिचालित अवस्थामा समेत ८२ जना थारुहरुको घरमा छानीछानी आगो लगाइयो । मेरो श्रीमान माननीय रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम, फूलबारी रिसोर्ट, घर, गाडीसहित हाम्रो सम्पूर्ण जायजेथामा आगोमात्रै लगाइएन, हप्तौंसम्म लुटपाटसमेत गरिरह्यो । राज्यले कस्तो किसिमको प्रतिशोध साध्दै थियो या कस्तो प्रपञ्चको जाल बुन्दै थियो त् यो राज्य सञ्चालकलाई थाहा होला तर चारै निकाय सुरक्षाकर्मी सञ्चालित अवस्थामा थारुहरुमाथि जुन ज्यादति र दम भयो त्यो अत्यन्तै भयावह, डरलाग्दो र एकादेशको खुंखार डाँकुको कथाजस्तै लाग्छ । ७०-८० दसकका बाजे बज्यैले भन्छन्- हम्रे मार खैली (हामीले पिटाइ खायौं), बा-आमाले भन्छन्- हम्रे फे पिट्वा पैली (हामीले पनि पिटाइ खायौं) । दिदी बहिनीले भन्छन्- हाम्रो अस्मिता लुटियो । स-साना नानीहरुले भन्छन्- हामी महिनौं स्कुल जान सकेनौं । म भन्छु- मेरो लोग्ने विनाकारण चार वर्षदेखि जेलमा छ । मेरो श्रीमानलाई झुठा मुद्दा लगाउने सरकार आफैँ भन्छ- तिम्रो श्रीमान घटना हुँदा बर्दियामा हुनुहुन्थ्यो । आन्दोलनमा उपस्थित जनताले भन्छन्- रेशम चौधरी घटनास्थलमा थिएनन् । स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन प्रमुख, बुद्धिजीबी, जागरिक समाज स्वर्य आश्चर्यचकित थिए घटनास्थलमा अनुपस्थित रेशम चौधरीलाई मुद्दा लगाउँदा । मा. रेशम चौधरी टीकापुर घटनाको योजनाकार भए २९औं दिनमा मात्रै किन उहाँमाथि मुद्दा लगाइयो ? कसको र कुन शक्तिको दबाबमा उहाँलाई मुख्य योजनाकार बनाइयो ? मा. रेशम चौधरीमाथि मुद्दा चलाउनुपूर्व कस्ता कस्ता प्रपञ्च रचिए ? हामी सबै जानकार छौं । भोलि इतिहासले एक एक क्षणको अवस्था उजागर गर्ने नै छ ।

कार्यक्रमको भिडियो हेर्नुस्

टीकापुरका स्थानीय सबै जनता रेशम चौधरीको चाल चरित्र, आनी बानी, स्वभावका बारेमा जानकार छन् । कमैया, बाढीपीडितलाई राहत बाँड्ने, बिग्रे भत्केका बाटा, पुलपुलेसाको मर्मत गर्ने, गरिब बालबालिकाको शैक्षिक बन्दोबस्तीमा अहोरात्र खटिने, सामाजिक सेवामा जीवन नै अर्पण गर्ज रुचाउने, राज्यबाटै राष्ट्रिय प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्ककार प्राप्त गर्ने, बहुमुखी प्रतिभावान, कलाकार, खेलकुद, पत्रकारितामा जीवन व्यतित गरिरहेको मेरो श्रीमानलाई टीकापुर घटनाको दोषी किन बनाउन खोजिदैछ ? त्यो राज्यलाई थाहा होला । रेशम चौधरी के हो भन्ने यथार्थ संसदीय निर्वाचन २०७४ मा अपार मत दिएर टीकापुरका जनताले निर्दोष सावित गरिदिएका छन् ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
प्रमुख दलका नेता, बुद्धिजीबी, नागरिक समाजका अगुवा, पत्रकार सबैलाई सर्वविदितै छ, सविधानमै लिखित छ– लोकतन्त्रमा जनता जनार्दन हुन् । जनता राज्यका मालिक हुन् । सर्वेसर्वा हुन् । जनअधिकार समर्पण विना लोकतन्त्र फल्न फूल्न सक्दैन । तेर के ? टीकापुरको जनमत संविधानको वृत्तभन्दा बाहिर पर्छ ? नेपालको लोकतान्त्रिक परिपाटीभित्र टीकापुरका जनता पर्दैनन् ? आज किन टीकापुरको जनमत अपमानित हुँदैछ ? टीकपुर नेपालकै सीमांकनभित्रै पर्ने, टीकपुरका जनता नेपालकै संविधान मान्ने, अनि राज्यले टीकापुरलाई संवैधानिक कानुनी विभेद गर्न पाइन्छ ? किन गरिरहेको छ राज्यले टीकापुरलाई विभेद् ? टीकाुरका जनताबाट निर्वाचित रेशम चौधरीले दुई दुई वर्षसम्म सपथ र माननीयको प्रमाणपत्र किन पाउनुभएन ? दुई वर्षपछि राज्यले सिंहदरवारमा सपथ खुवाएर सांसदको लोगो लगाई डिल्ल बजार कारागार किन पठायो ? मा. रेशम चौधरी निर्वाचित भइसक्दा समेत मुद्दाको छिनोफानो भएको थिएन, राज्यले किन टीकापुर थारु विद्रोहलाई राजनीतिक मुद्दा करार गरेन ? झुठा मुद्दा फिर्ता लिन किन हिकिदैछ राज्य ?

अब साँच्चिकै न्यायको लागि लड्नेबेला भइसकेको छ । हामी पनि चाहन्छौं– टीकापुरमा साहदात प्राप्त गर्ने सहिदहरुले न्याय पाउनुपर्छ । राज्य आफैँ भन्छ- सयौं दोषी छुटुन् तर एउटै निर्दोष नपरोस् । आज दर्जनौं निदोष नागरिकमाथि झाुठा मुद्दा लगाएर राज्य आफैँले आफ्नो तथ्यगत कानुनी भनाइको उपहास गर्दैछ । यो देशका नागरिक, राजनीतिक दलका नेता, बुद्धिजीबी, मानव अधिकारकर्मी सबैले सोच्नुपर्छ- लोकतन्त्रको रक्षा गर्नु हाम्रो दायित्व हो । मञ्चमा भाषण गरेर, एकदिन दिवस मनाएर लोकतन्त्र र संविधानको रक्षा हुँदैन । न्याय, अन्याय र विभेदमा परेका जनतालाई जबसम्म उत्पीडित बनाइन्छ, तबसम्म लोकतन्त्र र संविधानको शब्द उच्चारणसमेत कदापी सुहावन हुन सक्दैन ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
राज्यले असोज ३ गते संविधान दिवस मनाउन हामी सबै नागरिकलाई उर्दी जारी गर्छ । संविधान दिवसको उपलक्ष्यमा घरघरमा बत्ति बालेर दिपावली गर भन्छ । प्रत्येक वर्ष हामी घर, सडकलगगायत सार्वजनिक स्थानका बत्ति निभाउँदै संविधानप्रति असहमतिको संकेत दिन्छौं । आखिर संविधान दिवसको दिन राज्यका आधा जनता खुसीयाली मनाउँदै झिलीमिली बत्तिका साथ दिपावली गर्छन् । हामी आधा जनता बत्ति निभाएर मौन बस्छौं । राज्यले हाम्रो मौनता बुझेको छ कि छैन ?

दाजुभाइ तथा दिदीबहिनीहरु,
संविधान दिवसको दिनमा आधा बस्ती उज्यालो, आधा बस्ती अँध्यारोको कारण सरकारलाई थाहा छ, तैपनि राज्यको खबरदारीमा ऊ मौन बस्छ । के राज्यलाई हाम्रो असन्तुष्टि थाहा छैन ? आखिर राज्यले हाम्रो माग कहाँनेर सुनुवाइ ग¥यो र हामी खुसी हुने ? सीमांकनमा किन चित्त बुझाउँदैन राज्यले हाम्रो ? एक अमुक व्यक्तिको स्वार्थमा हाम्रो नवलपरासी नवलपुर बन्यो । अर्को अमुक व्यक्तिको स्वार्थमा झापा, मोरङ, सुनसरी अर्कै प्रदेशमा गाभियो । हामी भूमिपुत्र थारु हौं, हामी सीमांकनको बहानामा देश विभाजनको परिकल्पनासमेत गर्न सक्दैनौं । हिजो सीमानामा सुरक्षाकर्मी थिएनन्, हाम्रा बुबा बाजेले सीमाको सुरक्षा गरे । विदेशी बनपालेलाई लेखेटे । राज्यका ठूला टाउने भनाउँदाहरुलाई थाहा छ कि छैन, छैन भने ज्ञात होस्, सालको ठुटोलाई देश सीमानाको पिल्लर मानेर हाम्रा पुर्खाले राज्य नक्सांकनलाई यथार्थ बनाइदिएका हुन् ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
२०७२ को ऐतिहासिक थारु आन्दोलनमा हामीले निकै महत्वपूर्ण विषयलाई उठान गरेका थियौं । एक अमुक व्यक्तिको स्वार्थमा सीमांकनको रेखांकन नहोस् भन्ने हामी चाहन्थ्यौं । भूमिपुत्रहरुको संस्कृति र इतिहास मूल्यांकनको आधारमा भौगोलिक बर्गीकरण होस् भन्ने जनताको चाहना थियो । आफैँले घटना घटाएर आन्दोलनको मार्गलाई गलत दिशातर्फ मोड्नेहरु भोलि सजायको भागिदार आवश्य बन्लान्, तर के जनचाहना बमोजिम प्रदेशको बर्गीकरण भयो ? पहिचानअनुरुप प्रादेशिक नामाकरण भए ? संविधानमा हाम्रा अधिकार कुन धार उपाधारामा लेखिए ? आज पनि हामी नागरिकताविहीन किन छौं ? नागरिकले नागरिकताका लागि संघर्ष गर्ने दिन आइपुगेकै हो त ? यी यावत प्रश्न छरपस्ट र अनुत्तरित्त छन् ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
आज हामी एकदमै कठिन निर्णायक मोडमा आइपुगेका छौं । हाम्रो मागप्रति देशका मुख्य राजनीतिक दलहरु सकारात्मक छैनन् भन्ने हाम्रा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा फिर्ता नहुनुले पनि पुष्टि हुन्छ । हामीलाई जहिल्यै सत्ताको भ¥याङमात्रै बनाइयो । पहिचान र प्रतिष्ठित नागरिकको सपना देखाएर विभिन्न प्रकृतिको आन्दोलनमा होमाइयो । हुँदा हुँदा हिजो मधेस आन्दोलनको मञ्चमा भाषण गर्ने नेताहरुसमेत हामीलाई भुल्न थालिसके । आज हामीलाई अलपत्र पार्न खोजिँदैछ । खबरदार नेताहरु, हामी अलपत्र जरुर छौं, तर हराएका छैनौं । हिजो आन्दोलनमा साँच्चिकै तपाइँका जिब्रोले हाम्रो मुक्तिको भाषण गरेका थिए भने आउनुस्, सँगै सिंहदरवार घेर्ने हाम्रो योजनामा हातेमालो गरौं । टीकापुर थारु विद्रोहका राजबन्दीहरुलाई विनासर्त रिहाइ गरौं ।
दाजुभाइ तथा दिदीबहिनीहरु,
अधिकारको आन्दोलनमा प्रकृति र प्रत्यय हुँदैन । भीड कसैको बसमा हुँदैन । भीडन्तमा कसले डण्डा चलाउँछ, कसले गोली बर्साउँछ त्यो वारदात स्थलमा भएको व्यक्ति विवेकको कुरा हो । सबै कुरालाई प्रतिशोध लिने भए टीकापुर त के देश पनि कहिल्यै शान्त हुँदैन । घाउका खाटा त हाम्रो मनमा पनि छन्, जनयुद्धमा नेपाली नेपाली लडेर एक आपसमा मारामार गरेको खाटा, राणा ढाल्न मुक्ति कांग्रेसका सेनाले गरेको युद्धको खाटा, पञ्चायत ढाल्न जनताले गरेको आन्दोलनमा विभत्स नरसंहारको खाटा । मधेस आन्दोलनमा गोलीको घर्राले ढुकुरझैँ ढलेका वीर सहिद पीडाको खाटा, टीकापुर थारु विद्रोहमा हाम्रो घर सम्पत्ति जलाउनेहरुप्रति प्रतिशाधको आलै घाउको खाटा । साँच्चै हामीसँग पनि छन् । तर हामी ती सब घाउका पाप्रा उप्काएर विद्रोह निम्त्याउने पक्षमा छैनौं । हामी त केवल राज्यसँग न्याय माग्दैछौं । दयाको भीख, याचना दोषीहरुले गर्ने कुरा हो, हामी इज्जत र प्रतिष्ठाका साथ न्याय माग्दैछौं । विना कारण घाँस काटिरहेका, तरकारी बेचिरहेका, खेतमा काम गरिरहेका, कपाल काटिरहेका, घटनास्थलमै अनुपस्थितलाई बलिको बोको बनाएर राज्यले कुन सुशासनको वाणी ओकल्दैछ, कुन्नी ?
दाजुभाइ तथा दिदीबहिनीहरु,
म माननीय रेशम चौधरी पत्नी हुँ । करिब सात वर्ष पछाडि मञ्चमा मैले मुठ्ठी उचालेर भाषण गर्नु पर्दैछ । यसको जवाफदेही को ? म डिल्लीबजार सदरखोरमा मा आफ्नो श्रीमानलाई भेट्न जान्छु । कहिले रुन्छु, कहिले रुवाउँछु । घरबेटीलाई भाडा, बच्चाको स्कुल फी, चाडपर्वमा कपडाको जोहो गर्दा उहाँको मुहारले मलाई असाध्यै दुखी तुल्याउँछ । घर सम्पत्ति डढेर खरानी भएको भन्दा आफूलाई मत दिने जनताको सेवा गर्न नपाएकोमा बढी चिन्तित देखिनुहुन्छ उहाँ । छोराले सोध्छ– बाबा कहिले घर जाने ? उहाँको जवाफ सधैं उस्तै उस्तै प्रकारको हुन्छ । कहिले दशैंमा, कहिले तिहारमा, कहिले माघमा, कहिले नयाँ वर्षमा, कहिले महिना दिनमा, कहिले तिम्रो जन्मदिन घरमै मनाउने आदि आदि झुठ बोलेर उहाँ टार्नुहुन्छ । म भन्छु– बाबा, कम्तिमा बच्चालाई त सही बोलिदेउ, यति दिनमा या यति वर्षमा छुट्छु भनेर । उहाँ जवाफ दिनुहुन्छ– मलाई पनि नेताहरुले यसै भन्छन् रन्जु ।
दाजुभाइ तथा दिदीबहिनीहरु,
म यसै मञ्चबाट सोध्न चाहन्छु, मेरो श्रीमान मा. रेशम चौधरी घर फर्किने दिन कहिले हो ? ३४,३४१ मत दिने टीकापुरका जनताको सेवा गर्ने दिन कहिले हो ? आफ्ना जनतासँग मञ्चबाट अधिकारको भाषण गर्न पाउने दिन कहिले हो ?
आज उहाँको निर्वासन र जेल जीवनसमेत जोड्ने हो भने करिब सात वर्ष भइसक्यो । टीकापुर राजबन्दीहरुको अवस्था दिन प्रति दिन दयनीयमाथि झन् दयनीय हुँदैछ । हामी सम्बद्ध नेताहरुले पनि हाम्रा पीडालाई सटही बस्तुमात्रै बनाउन खोजे कि भन्ने भाव हुन्छ । नभए समस्या निराकरणतर्फ तिनको ध्यान किन गइरहेको छैन ? पार्टीले नीतिगत निर्णय किन गरेन ? खोइ आन्दोलनका खाकाहरु ? सडक, सदन र सरकार घेराबन्दी कहिले गर्ने ? यी यावत ठोस तथ्य प्रश्नहरुको भूमरीमा अब टीकापुर थारु विद्रोहका राजबन्दीहरुलाई राख्न पाइन्न । हाम्रो माग मुद्दामा ठोस सहमति नजाउने हो भने अब हाम्रो बाटो अलग हुनसक्छ । हामी मधेस, थरुहट आन्दोलनका पीडित परिवारहरु चुप लागेर बस्नेवाला छैनौं । हाम्रो मुद्दाको समाधान राज्यले नगर्ने हो भने अब हामी सडकमा जान्छौं । हजारौं जनता उर्लिएर सिंहदरवार घेर्छौं । राजबन्दीका परिवारहरु अन्सन बस्छौं, धर्ना दिन्छौं । सके न्याय लिन्छौैं, नसके प्राण दिन्छौं । हाम्रो प्राणको आहुतिले राज्यलाई चित्त बुझ्छ भने ठीकै छ, हामी सति भएर इतिहास बन्न पनि तयार छौं ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
अब म केही ठोस तथ्य र छलफलका विषयवस्तु तपाइँहरु समक्ष राख्न चाहन्छु । अहिले भइरहेको भेलाले अब हुने हाम्रो अगामी कार्यक्रम र रणनीतिक योजना तय गर्ने छ । यही भेलाले एउटा कमिटीको निर्माण गर्नेछ र जिल्ला जिल्ला, क्षेत्र क्षेत्र, गाउँ गाउँ आफ्नो आगामी कार्यक्रमको सन्देश पठाउनेछ । यही भेलाले गर्ने निम्न कमिटको गठन गर्ने छ ।
१. केन्द्रीय कमिटी : संयोजकसहित संख्या १०१ जना (अहिलेका लागि ५१ जना)
२. प्रदेश कमिटी : संयोजकसहित सख्या २५ जना (अहिलेका लागि ५ जना)
३. जिल्ला कमिटी : संयोजकसहित संख्या २५ जना (अहिलेका लागि ११ जना)
४. क्षेत्रीय कमिटी : संयोजकसहित संख्या २५ जना (अहिलेका लागि ११ जना)
५. नगरपालिका-गाउँपालिका कमिटी : संयोजकसहित संख्या २५ जना
६. वार्ड कमिटी : संयोजकसहित संख्या २५ जना

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
यही भेलाले गठन गरेको केन्द्रीय समितिले निम्न समिति गठन गर्नेछ ।
१. बुद्धिजीबी समिति
२. आन्दोलन समिति
३. दल गठन समिति
४. आर्थिक समिति
५. प्रचार प्रसार समिति
माथिका यी समिति गठन गर्नुका पछाडि तपसिलका कारणहरु प्रमुख हुन् ।

बुद्धिजीबी समिति
क. सरकार समक्ष आफ्ना माग मुद्दासहितको ज्ञापनपत्र तयार गर्ने
ख. टीकापुर थारु विद्रोहप्रति मा. रेशम चौधरी संल्गन दल र नेतालाई अगगामि कार्यक्रमको रुपरेखामा सहमत छन् वा असहमत छन् भनी ज्ञापन पत्रसहित भेटघाट गर्ने ।
ग. दलका नेतालाई भेट्दा आन्दोलनको कार्यक्रमलाई पार्टीले नीतिगत निर्णय गर्छ कि गर्दैन ? निर्णय गरे हाम्रो आन्दोलनको तय कार्यक्रम बमोजिम कार्यक्षेत्रमा खटिन्छन् कि खटिँदैन्न् ? यी यावत विषयमा छलफल गरेर ठोस नीति बनाउने ।
घ. आन्दोलनको मिति र स्थान तय गर्ने ।
ङ. कहाँ कहाँ कसको संयोजकत्वमा परिचालन गर्ने तय गर्ने ।
च. आन्दोलनको चरणबद्धतालाई स्पष्ट गर्ने, जस्तै नेपाल बन्द कुन मितिमा, सिंहदरवार घेराउ कुन मितिमा, धर्ना जुलुस कहाँ कहाँ कुन मितिमा गर्ने स्पष्ट खाका तयार पार्नुपर्ने छ ।
छ. प्रस्तुत यी बुँदामा सकारात्मक नतिजा नआए बुद्धिजीबी समितिले दल गठन समितिलाई प्रक्रिया अगाडि बढाउने आदेश दिनेछ । सोही प्रक्रियाअनुरुप दल गठन समितिले कसको संयोजकत्वमा दल गठन गर्ने, पार्टीको नाम के राख्ने, झण्डाको प्रकृति कस्तो हुने, चुनाव चिन्ह के राख्दा सहजै मतदाताले पहिचान गर्न सक्छन्, त्यही चिन्ह राख्नु सुझाव दिने आदि प्रक्रिया गर्ने छ ।

आन्दोलन समिति
क. शान्तिपूर्ण रुपमा केन्द्र, जिल्ला र क्षेत्रमा कहाँ कहाँ कसरी, कुन मितिमा आन्दोलन गर्ने तय गर्नेछ ।
ख. शान्तिपूर्ण आन्दोलनको रणनीतिक योजना तय गर्नेछ ।
ग. शान्तिपूर्ण आन्दोलन हुने स्थानमा विभिन्न नेताको उपस्थिति निश्चित गर्ने ।
चरणब४ आन्दोलनको रुपरेखा र आवश्क सामाग्रीको तर्जुमा गर्नेछ । (जस्तैः ब्यानर, प्लेकार्ड, पोस्टर आदि)

दल गठन समिति
क. केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला कमिटीको संयोजक तोक्ने ।
ख. विधान, राजनीतिक प्रतिवेदन, घोषणापत्र तयार गर्ने ।
ग. पार्टीके झण्डा, चुनाव चिन्ह, पार्टीको नाम निर्धारण गर्ने ।
घ. कहिले, कुन मितिमा, कसरी दल दर्ता गर्ने, ठोस तथ्यको जानकारी विभिन्न समितिलाई गराउने ।

आर्थिक समिति
क. आर्थिक समिति गठन भएको मितिदेखिको सम्पूर्ण हिसाब किताब दुरुस्त राख्ने ।
ख. आय व्ययको सम्पूर्ण विवरण पारदर्शी राख्ने ।
ग. श्रोत, माध्यमको उचित व्यवस्थापन गर्ने ।
घ. दर्ता भएको मितिबाट बैंकिङ कारोबार गर्ने ।
ङ. अहिलेका लागि उचित श्रोतको बन्दोबस्त गर्ने ।

प्रचार प्रसार समिति
क. तय गरिएका कार्यक्रमको प्रचार प्रसार कसरी गर्ने, सबै जना जोडिने सामाजिक सञ्जालको निर्माण गर्ने, कार्यक्रमको रुपरेखाका बारेमा एक एक सदस्यलाई जानकारी गराउने ।
ख. विभिन्न सञ्चार संस्थालाई समाचार उपलब्ध गराउने ।
ग. कार्यक्रम कहाँ, कस्तो, कुन मितिमा हुँदैछ भन्ने जानकारी गराउने ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
मधेस तथा टीकापुर थारु विद्रोह राजबन्दी रिहाइ तथा विविध राजनीतिक छलफल शीर्षक कार्यक्रम हामीले आयोजना गर्नुमा अर्थ छ । मंसिर १७–१८ गतेको कार्यक्रमले आगामी कार्यक्रमको भाबी रणनीति तय गर्नेछ । माथि उल्लेखित समितिले २०७८ पुस ९ गतेदेखि अनिश्चित आन्दोलनको घोषणा गर्नेछ । कहाँ कहाँ धर्ना जुलुस गर्ने, राज्यलाई दबाब सिर्जना गरेर विना सर्त राजबन्दीको रिहाइ हुनुपर्ने माग राखेर देशको पत्येक जिल्लाबाट कम्तिमा २० जना काठमाडौं आइ सिंहदरवार घेराउ गर्ने, हाम्रो माग र मुद्दाप्रति हामी संलग्न दलले कुनै चासो नदेखाएको खण्डमा नयाँ दल गठन गरी भाबी राजनीतिक मार्ग तय गर्ने छौं । हाम्रो यो अभियानमा विभिन्न जनजाति संगठन, नागरिककर्मी, मानवअधिकारकर्मी, बुद्धिजीबी, पत्रकार तथा राजनीतिक दललाई पनि सहयोगका लागि अनुरोध गर्नेछौं । न्याय पाउने हाम्रो नैसर्गिक अधिकार हो, राजनीतिक मुद्दाको निरुपण राजनीतिक रुपमै हुनुपर्छ ।

हाम्रा प्रमुख मागहरु
१. थरुहट, मधेस आन्दोलनका घाइतेहरुको निशुल्क उपचार
२. पीडित आन्दोलनकर्मीलाईलाई क्षतिपूर्ति
३. झुठा मुद्दा लगाई कारागारमा थुनिएका मा रेशम चौधरीलगायत सम्पूर्ण राजबन्दीको विना सर्त रिहाइ

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
हामीले केही महिनादेखि मुलुकको राजनीतिक गतिविधिका साथै आफ्नै दलका नेता तथा त्यसभित्रका गतिविधि पनि नजिकबाट नियालेर हेरिरहेका छौं । मलाई राम्ररी थाहा छ, हिजो पार्टी एकीकरणताका मा. रेशम चौधरीको भूमिका कस्तो थियो ? अस्पतालको सैयाबाट होस् या जेलको भेघाटको छलफलबाट, उहाँ सधैं पार्टी एकीकरणको पक्षमा उभिनुभयो । आज आफ्नै दलभित्रका नेताहरुको विचार, भावना नमिलेर हो कि व्यक्तिगत बैमनस्यताले पार्टी पुनः दुई चिरा भयो । सबैलाई थाहा छ, मा. रेशम चौधरी निर्वाचन आयोगमा पुगेर आफू तटस्थ बसेको घोषणा गर्नुभयो । उहाँको तटस्थताले चिरा भएर छुट्टिएका दुवै दलमा खैलाबैला उच्पन्न भयो । तटस्थ सम्बन्धमा मा. रेशम चौधरीको भनाइ छ, कसैको व्यक्तिगत विचारको सिकार म किन हुने ? जेलमा बसेर पार्टी विभाजनको भागिदार कनि बनाउन खोजिँदैछ मलाई ? अहिले मलाई निर्वाचन आयोगले कुन कित्तामा छुट्याएको छ, सो को समेत जानकारी छैन । जेलबाट म कुन दल वा समूहको हुँ भनेर बुझ्न पनि सम्भव छैन । संसद सचिवालय र निर्वाचन आयोगले मलाई कुन कित्तामा नमांकित गरिदिएको छ, त्यतै मेरो समर्थन होला ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
मा. रेशम चौधरी व्यक्ति ठूलो कुरा होइन, मुद्दा ठूलो कुरा हो । मा. रेशम चौधरीको निजी विचारभन्दा उहाँले बोकेको समाजको मुद्दा, देशको मुद्दा ठूलो हो । म यसै मञ्चबाट आफ्ना दलका नेताहरुलाई सोध्न चाहन्छु, मधेस तथा टीकापुर थारु विद्रोहका राजबन्दीहरु कहिले रिहाइ हुन्छन् ? मधेस तथा थरुहटका मुद्दा बोकुवा नेताहरुले यो भारी कहिले बिसाउने ? हिजो मधेसी, थारु सहिदका नाममा राजनीतिक भयो, आज जिउँदा सहिद मा. रेशम चौधरीहरुको नाममा राजनीति हुँदैछ । कहिलेसम्म हुने ? के अर्को चुनावसम्म जेलमै राखिरहने आफ्नै पार्टीका नेताहरुको योजना हो ? म यसै मञ्चबाट मा. पत्नी रन्जिता चौधरी उद्घोष गर्न चाहन्छु, मधेस तथा थरुहट सहिद र राजबन्दीप्रति हाम्रो नेता इमान्दार छन् भने पार्टीले आन्दोलनका लागि नीतिगत निर्णय गरिदिनुप¥यो । तपाइँले कहिले संसद बन्द गर्ने ? हामी कहिले सडक आन्दोलन गर्ने ? लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुने ? स्पष्ट जवाफ चाहियो हामीलाई ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
यदि पार्टीले नीतिगत निर्णय गरेन भने अब हामी चुप लागेर बस्नेवाला छैनौं । हामी राजबन्दी परिवार सडकमा धर्ना बस्न तयार छौं । हाम्रा श्रीमानहरु ज्युँदा सहिद छन्, हामी मुर्दा सहिद भए के फरक पर्ला ! आज यही भेलाले हाम्रो पार्टी र नेतालाई दिने अल्टिमेटम तोकिदिनुप¥यो । यदी तोकिएको सीम समयमा हाम्रो सुनुवाइ भएन भने हाम्रो विचार पनि फरक, हामी पनि फरक । हाम्रो बाटो पनि अलग । आजसम्म हाम्रा श्रीमानहरुलाई यो अवस्थासम्म ल्याइपुर्‍याउने पापको भारी पनि उहाँहरुले बोक्नुपर्छ । हामी कहिलेसम्म चुप बस्ने ? हाम्रा श्रीमानहरुले तीन वर्ष प्रवासको पीडा भोगे । चार वर्षदेखि जेलनेल भोग्दैछन् । हाम्रा श्रीमानहरुलाई साङलाले बाँधिएको हाम्रो नेताहरुलाई मन पर्छ कि क्या हो ?

दाजुभाइ तथा दिदीबहिनीहरु,
धेरै जनाले सोध्नुहुन्छ, के मा. रेशम चौधरीले एक्लै पार्टी खोल्न थाल्नुभएको हो ? मलाई थाहा भएसम्म उहाँ एकलकाटे मान्छे होइन । सम्पूर्ण साथीहरुसँग हातेमालो गर्न रुचाउने उहाँको प्रकृति छ । जेलको भेटघाटमा उहाँले भन्नुभएको छ, अब सबै एकजुट हुनुको विकल्प छैन । थारु, जनजाति, दलित, मुस्लिम, उत्पीडित सबै एकै ठाउँमा भएर नयाँ शीराबाट संघर्षको सुरुवात गर्नुपर्छ ।

उपस्थित, दर्शकवृन्द ! आज मा. रेशम चौधरीको मनमा नाँ शीराको शब्द किन उच्चारण हुँदैछ ? के उहाँको आफू सम्बद्ध दल र नेतृत्वप्रति विश्वास हराउँदै गएको हो ? आज मधेस र थरुहटको मुद्दा बोक्ने पार्टी जसपा सरकारमै छ त ? मधेसी थारुको मुद्दा बोक्ने पार्टी सरकारमा हुने अनि मधेस थरुहट आन्दोलनकै नेताहरु थुनिनुपर्ने ? आफ्नै मन्त्रिपरिषद्ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सक्दैन ? आफ्नै मन्त्रिपरिषद्ले झुठा मुद्दा फिर्ता लिन सक्दैन ? यी सब अनुत्तरित प्रश्नले हामीलाई केवल दुखीमात्रै तुल्याउँछ । आफ्नै हातमा डाडु पन्यु हुँदा पनि आफ्नैलाई दालभात समेत नदिएको देख्दा हामीलाई दिक्दार लागेर आउँछ । सरकार आफ्नो छ, निर्दोष आफ्नाहरु जेलमा छन् । के सरकार तपाइँहरुको व्यक्तिगत स्वार्थ हो ?

अन्त्यमा,
म आन्दोलनका सहकर्मी साथीहरुलाई पनि के भन्न चाहन्छु । आज एउटै मुद्दाको उठान गर्ने साथीहरुको बीचमा पनि बैमनस्यता चुलिएझैँ भएको छ । थरुहट आन्दोलनकै अगुवाहरु, थारु कल्याणकारिणी सभा, थारुसम्बन्धी विभिन्न संघ संस्था, व्यक्ति छरपष्टिएको अवस्था छ । आउनुस्, हाम्रो माग, मुद्दा, गन्तव्य एउटै हो । सबै जना एक ठाउँमा संगठित होउँ । मैला मनहरु माझौं माननीय रेशम चौधरीको तर्फबाट म नेतृत्व गर्न तयार छु । एक ज्यँदो सहिदको घरमा अर्को सहिद थपिएला, के फरक पर्छ र ? केही दिन पहिले थारु आन्दोलनका अगुवा लक्ष्मण थारुले सन्देश पठाउनुभएको छ, मैले बाटो विराएको छैन, म मा. रेशम चौधरीसँगै छु, र उहाँसँग आगामी बाटोमा संघर्ष गर्न तयार छु । उहाँलाई मेरो तर्फबाट मुरीमुरी धन्यवाद ।

साथीहरु,
यहाँ यस कार्यक्रममा विभिन्न जिल्लाबाट पनि सहभागी हुन आउनुभएको छ, उहाँहरुको सल्लाह, सुझाव, मन्तव्य सुन्न बाँकी छ । आफ्ना अमूल्य समयका बावजुद पनि सम्पूर्ण व्यक्तिगत कामलाई थाती राखेर यहाँसम्म कस्ट गर्ने साथीहरुको गुणलाई हामी कहिल्यै विर्सन सक्दैनौं । पुनः मधेस तथा थरुहट आन्दोलनमा सहिद हुने वीरहरुप्रति श्रदाञ्जली अर्पण गर्दछु । कार्यक्रममा भाग लिन आउनुभएका सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु ।
धन्यवाद, नमस्कार ।

तमुबौद्ध सेवा समाजमा मंसिर १८ गते रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ चौधरीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन




Leave a Reply

Your email address will not be published. Required fields are marked *